दुई वर्षमा पनि बनेन दुई किलोमिटर सडक
गण्डकी प्रदेश राजधानी आवतजावत गर्ने दुई किलोमिटर सडक दुई वर्षसम्म स्तरोन्नति नहुँदा स्थानीय बासिन्दासँगै पर्यटकले पनि सास्ती खेपिरहेका छन्।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक-याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ। बीचको करीब २.२ किलोमिटर सडक भने अहिले पनि कच्ची छ।
निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी २०७९ साउनमा काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो। अहिलेसम्म काम पूरा भएको छैन। बरु ठेक्काको म्याद आउँदो चैतसम्म थपिएको छ।
विद्युत्का खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ। “ठेक्का तोड्ने तयारीमा थियौं, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो,” उनले भनिन्, “समयमा भुक्तानी दिन नसक्ने जस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो।”
आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दै आएको थियो। शुरूआतको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताइन्।
पोखरा महानगरपालिका-१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताए। “हामीले पटक पटक दबाबमूलक कार्यक्रम पनि गर्यौं, तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ,” वडाध्यक्ष प्रधानले भने, “पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन्।”
पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्रे गरिएको थियो। पश्चिमतर्फ पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौं गाडी पोखरा आउजाउ गर्छन्। सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ। -रासस