भार्खुदेखि भूस्वर्ग
प्रकृति कति सुन्दर छ भन्ने गोसाइँकुण्ड पुगेपछि महसूस हुन्छ। भुइँफूल, थरीथरीका गुराँस, सल्ला, धूपी, सुनापातीको बास्ना र आँखै सामुन्ने उभिने हिमालका दृश्यले थकान त्यसै मेटिन्छ।
एउटा चर्चित उखान छ, नजिकको तीर्थ हेला। यो उखान गोसाइँकुण्डको हकमा भने गलत सावित हुन्छ।
गोसाइँकुण्डमुनि नै छ रसुवाको मेरो गाउँ, भार्खु। अहिलेसम्म २० भन्दा बढी पटक गोसाइँकुण्ड पुगेको छु। तैपनि कहिल्यै अघाइनँ। जति पटक गएँ, उत्तिकै रमाइलो र बसिरहूँ लाग्छ।
गोसाइँकुण्डको यात्रा अलि कठिन पनि छ। समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा वर्षैभरि जाडो हुन्छ। हिउँ पर्छ। लेकाली घाँस, जडीबुटी र बुट्यान बाहेक अग्लो वनस्पति पाइँदैन।
अग्लो स्थान भएकाले अक्सिजनको कमी हुन्छ। लेक लाग्न सक्छ। दीर्घरोगी, बूढाबूढी र हिंड्ने अभ्यास नभएका व्यक्तिलाई यात्रा कठिनै हुन्छ। हिंड्न नसक्नेका लागि घोडा र हेलिकोप्टर पनि विकल्प छन्। तर हिंडेर जानुको छुट्टै मजा हुन्छ।
धुन्चे, भार्खु र स्याफ्रु भएर गोसाइँकुण्ड जाँदा तामाङ गाउँबस्ती भेटिन्छन्। तामाङ जातिको संस्कृति, जीवनशैली, दैनिकी अवलोकन गर्न सकिन्छ। वनजंगलको यात्रा भएकाले जंगली जनावर, चराचुरुंगी, थरीथरीका भुइँफूल, लालीगुराँस, सेतो चिमालसँग रमाउन सकिन्छ।
च्योलाङपाटीबाट लौरीविना उकालो लागेपछि लाङटाङ लिरुङ, तिब्बती हिमाल, गणेश हिमाल, बौद्ध हिमाल, मनास्लु हिमाल नजिकै देखिन थाल्छन्। लौरीविना उकालो चढेर बुद्ध मन्दिरबाट तेर्सो लागेपछि सरस्वतीकुण्ड, भैरव झर्ना (क्षुम्क्षर), भैरवकुण्ड र गोसाइँकुण्ड पुगिन्छ। जहाँ आमाकुण्ड (कलेअमा) र त्रिशूलधारा (महागंगा ल्हामो) लगायत अवलोकन गर्न सकिन्छ।
हेलम्बु भएर जाँदा सूर्यकुण्ड (नोर्छो), सेर्छो (सुनौलो कुण्ड) र युङ्छो (हरियो/यू कुण्ड) र त्रिशूलधारा देख्न सकिन्छ। रसुवा जिल्लाभरि रहेका १०८ वटा कुण्डमध्ये सबैभन्दा ठूलो कुण्ड गोसाइँकुण्ड हो।
यस पटक फेरि गोसाइँकुण्ड अर्थात् भूस्वर्ग पुगें। अघिल्लो पटकभन्दा झन् रमाइलो लाग्यो, आनन्द महसूस भयो। जति पटक पुग्छु, त्यति नै मनमोहक लाग्छ।
पहिलो दिन : यस पटकको यात्रामा काठमाडौंबाट हिंडेपछि सानो भार्खु (स्याफ्रुबेसी नजिक)को छोगल फार्म हाउसमा बस्यौं। केरुङ खोलाको किनारमा सुन्तला बगैंचासँगै स्वीमिङ पुल सहितको फार्म हाउसमा ससाना कटेज छन्।
कटेजमा पालिएकाका कालिज, लोकल कुखुरा, रैथाने खसीबोकाको मासु, ट्राउट, जौको रक्सी, सिस्नु, गुन्द्रुक साँधेको, निहुरो, कोइरालो, अर्गानिक सागपात, सिमी, कालो मसुरो, आलु, ढिंडो, रैथाने रातो मार्सी चामलको भात पाइन्छ। फार्म हाउसका सञ्चालक लामा पेमा लामा यात्रीलाई रैथाने स्वाद दिलाउन लागिपरेका हुन्छन्।
दोस्रो दिन : भोलि पल्ट ठूलो भार्खु भएर उकालो चढ्यौं। यात्रीका लागि यो नयाँ रूट हो। यो बाटो उति उकालो छैन। हिंड्न सजिलो छ। गाउँको पुरानो गुम्बा, घले राजाको दरबार, पुरानो बस्तीको अवशेष हेर्दै तीन घण्टामा ढिम्सा पुग्यौं।
ढिम्साको याङ्छ्यु होटलमा खानासँगै चौंरी गाईको दूध र दही मिल्छ। चन्दनबारीको होटल रेड पान्डामा याक, चीज र सेबकथ्रोनको जूस पाइन्छ। सेबकथ्रोन जूस एक प्रकारको डालेचुक हो। यो डालेचुक लाङटाङ हिमालको फेदीमा पाइने अमिलो फल हो। त्यही फललाई टिपेर जूस बनाइन्छ।
च्योलाङपाटीको होटल लाङटाङ लिरुङ भ्यूमा (३,७०० मिटर) वास बस्यौं। खानामा पदमचालको अचार मिल्यो। त्यो नौलो स्वाद थियो। अर्को बिहान चौंरी गाईको नौनी चियासँग करु (उवा) को पीठो खायौं। त्यो पनि पदयात्रीका लागि नौलो हुन्छ।
तेस्रो दिन : च्योलाङपाटीबाट हिंडेको लौरीविना (३,९०० मिटर) पुग्दा बिहानको ८ बजेको थियो। हिमाल आँखै सामुन्ने देखिए, लाङटाङ, लिरुङदेखि तिब्बतको केरुङसम्म। माउन्ट भ्यू होटलमा कालो कफीको चुस्की लिंदै नीलो आकाशमुनि सेता हिमाल, फुरुरु उडिरहेको बादलको दृश्यले मनै फुरुंग पारिदियो।
लौरीविना उकालो हिंड्न कठिन भए पनि लेकाली धूपी सल्ला र सुनापातीको बास्ना, स्वच्छ र शुद्ध हावासँग मिसिएर नाकमा ठोक्किन आइपुग्दा प्राकृतिक अत्तरको दुनियाँमा पुगेको अनुभूति हुन्छ। उकालो सकिएपछि केही समय भीरको बाटो हिंड्नुपर्छ। फलामको बार लगाएकाले हिंड्न सजिलो भयो। तेर्सो बाटो हिंड्दै गर्दा सरस्वतीकुण्ड, भैरव झर्ना, भैरवकुण्ड लस्करै थिए।
गोसाइँकुण्ड पुग्दा बिहानको १०:१५ बजेको थियो। कुण्ड देखेपछि सबै चिच्याए, आहा गोसाइँकुण्ड!
नीलो आकाश। वरिपरि पहाड र माझमा शुद्ध र स्वच्छ पानीको मनमोहक र आकर्षक ठूलो दह। तीन दिनको यात्राकाे थकान क्षणभरमै हरायो। मनै फुरुंग।
प्रकृति कति सुन्दर छ भन्ने गोसाइँकुण्ड पुगेपछि महसूस हुन्छ। उकालो चढ्नु सजिलो छैन। थकाइ लाग्छ। तर भुइँफूल, थरीथरीका गुराँस, सल्ला, धूपी, सुनापातीको बास्ना र आँखै सामुन्ने उभिने हिमालका दृश्यले थकाइ त्यसै मेटिन्छ, मन त्यसै रमाइदिन्छ।
केही बेर बस्यौं। मन बहलायौं। नुहाएर फेरि होटल लेकसाइडमा फर्कियौं। सञ्चालक देकी डोल्माले मीठो खाना पकाइन्। भोक लागेकाले पनि होला, खाना असाध्यै मीठो लाग्यो।
सधैं त्यहीं बसिरहन मन लाग्थ्यो। तर कहाँ बस्न पाउनु! काठमाडौं फर्किने यात्रा शुरू भयो। उकालो चढ्न गाह्रो मानेका खुट्टा ओरालो त छिटोछिटो हिंडे। पौने २ बजे गोसाइँकुण्डबाट हिंडेका हामी साँझ साढे ७ बजे खेन्दीमा आइपुग्यौं। कान्छा दाइको होटल वासका लागि तयार थियो।
भोलि पल्ट बिहान डेढ घण्टा हिंडेर धुन्चे पुगियो। धुन्चेबाट साँझ काठमाडौं। देशको राजधानीको दृश्य त उस्तै थियो, मन र मस्तिष्कमा भने गोसाइँकुण्डको दृश्यले चक्कर लगाइरह्यो। त्यो दृश्य सम्झिँदा अझै पनि आनन्द महसूस हुन्छ।
कसरी पुगिन्छ?
गोसाइँकुण्ड जाने चार वटा पर्यटकीय मार्ग छन्। पहिलो र बढी चल्तीको मार्ग, काठमाडौंबाट नुवाकोट हुँदै रसुवाको धुन्चे भएर जान्छ। धुन्चेबाट ठूलो भार्खु हुँदै वा धुन्चेबाट ठूलो स्याफ्रु गाउँ हुँदै पनि गोसाइँकुण्ड पुगिन्छ।
दोस्रो, हेलम्बुबाट जाने पैदलमार्ग हो। यो मार्ग काठमाडौंबाट सिन्धुपाल्चोकको मेलाम्ची घ्याङ, ठाडेपाटी, सूर्यकुण्ड भएर जान्छ।
तेस्रो पदमार्ग, काठमाडौंबाट सुन्दरीजल, कुटुमसाङ, ठाडेपाटी, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुगिन्छ। चौथो, हवाई मार्ग हो। हेलिकोप्टरमा गोसाइँकुण्डमा ओर्लिन सकिन्छ।
जुनै मार्ग भएर गए पनि गोसाइँकुण्ड जाँदा खाना र बस्ने वासको समस्या छैन। होटल, लज पदमार्गभरि भेटिन्छन्।
कहिले जाने?
गोसाइँकुण्ड यात्रा जहिल्यै गर्दा पनि हुन्छ। तैपनि पुस दोस्रो सातादेखि फागुनको दोस्रो सातासम्म धेरै जाडो हुने भएकाले होटल, लज पनि पालो फेरेर एकाध मात्र खुल्छन्। बाटाभरि हिउँ र चिसो बरफ जम्ने भएकाले कठिन हुन्छ। कुण्डमा पनि बरफ जम्छ।
सबैभन्दा उपयुक्त मौसम कात्तिक र मंसीर तथा चैतदेखि जेठसम्म हो। जाडो धान्न सकिने, यात्राभरि मौसम सफा हुने भएकाले टाढाको दृश्य पनि प्रस्ट देखिंदा यात्रा थप रोमाञ्चक बन्छ।
त्यस्तै, चैतदेखि जेठसम्म लेकाली फूल फुल्ने, चराचुरुंगी, जनावर देखिने, बिहानीपख टाढाका दृश्य रोमाञ्चक देखिन्छन्। अझ जाडो कम हुने भएकाले यात्रामा दिग्दारी लाग्दैन। तैपनि धार्मिक यात्राका लागि गंगा दशहरा र जनैपूर्णिमा मेला नै उपयुक्त मानिन्छ।
थप सामग्री : डुलौं देश