सहकारी ठगी प्रकरण संसद्बाट सडकमा ल्याउने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरेमा यस विषयलाई संसद्बाट सडकमा ल्याउने चेतावनी दिएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहित सहकारी ठगी प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यसै विषयमा छलफल गर्न शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको हो।
बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै कांग्रेस महामन्त्री गगन थापाले सरकार संसद् चल्न पनि नदिने र छानबिन समिति पनि नबनाउनेतिर लागेको निष्कर्ष निकालेको बताए। “बैठकले संसद् पनि चल्न नदिने र छानबिन समिति नबनाउनेतिर सरकार उद्यत रहेको निष्कर्ष निकालेको छ,” थापाले भने।
अहिलेसम्म देखिएका तथ्य र प्रमाणका आधारमा गृहमन्त्री लामिछानेले सहकारी ठगी गरेको देखिने थापाको भनाइ थियो। “रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने तथ्य र प्रमाणका आधारमा कांग्रेसको दाबी छ,” थापाले भने, “यसलाई गलत सावित गर्न सत्तारूढ दल र सरकारलाई चुनौती दिन्छौं।”
अहिलेसम्म प्रहरी, सीआईबीको अनुसन्धान, जिल्ला अदालतमा दर्ता भएको अभियोजनपत्र, पोखरा महानगरपालिकाले गरेको छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न रहेको देखाउने उनको जिकिर थियो। “गृहमन्त्री भएर बसिरहँदाखेरि जे जे कुरा लुकाउनुपर्ने, तथ्यप्रमाण तोडमरोड गर्नुपर्ने हो, गरिसक्नुभयो। त्यसैले अब गृहमन्त्रीको राजीनामा पनि चाहिंदैन,” थापाले भने, “अनुसन्धान प्रतिवेदन लुकाइएको छ, त्यसैले अहिले संसदीय छानबिन समितिसँग डराइरहनुभएको छ।”
गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएका प्रमाण खोज्न सरकारी निकायकै प्रतिवेदन केलाउँदा पुग्ने थापाको भनाइ थियो। अब संसदीय छानबिन विना सरकारले पेलेर जान खोजेमा यो विषय सडकमा ल्याइने उनले बताए।
“संसदीय छानबिन समिति नबनाईकन, पेलपाल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं, बजेट ल्याउँछौं भनेर सोच्नुभएको छ भने अहिलेसम्म यो संसद्भित्र छ, अब यो विषय संसद्भित्र मात्रै सीमित रहँदैन। संसद्बाट सडकमा आउँछ,” थापाले भने।
संसदीय छानबिन समितिको माग नछोड्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ। यसमा थप सशक्त रूपमा विरोधका कार्यक्रम तय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको थापाले बताए।