बाटो पहिल्याउने टोली सगरमाथाको चुचुरोमा, वसन्त यामको आरोहण शुरू
बाटो पहिल्याउने टोली चुचुरोमा पुगेसँगै वसन्त यामको सगरमाथा आरोहण शुरू भएको छ।
‘आइसफल डाक्टर’ को नामले चिनिने बाटो पहिल्याउने शेर्पा टोलीले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) आरोहण शुरू भएको हो। टोलीले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म डोरी टाँगेको छ।
सगरमाथाको आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फील्ड कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार बेलुका ८ः१५ बजे सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको हो। ‘सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ। यससँगै टोलीमा संलग्न १० जना आरोहीबाट सर्वोच्च चुलीको यस यामको पहिलो आरोहण सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेको विभागले उल्लेख गरेको छ। यस टोलीमा सोलुखुम्बुका पामदोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ तथा संखुवासभाका डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुकबहादुर तामाङ र लाक्पा रिन्जी शेर्पा छन्।
यस आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए। “सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्,” उनले भने।
यस वसन्त ऋतुमा सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक संघलाई जिम्मेवारी दिइएको थियो। सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो।
विभागका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुष सहित ४१४ जनाले अनुमति लिएका छन्। अझै केही टोली बढ्न सक्ने विभागको अनुमान छ।