मन दुखाउने मनसरा
चलचित्रमा समाजका पात्र जस्ताको तस्तै टिपेको तर्क गर्ने हो भने पनि सांस्कृतिक-सामुदायिक सन्तुलनको पाटो बेवास्ता गरिनु युगसुहाउँदो चेत हुन सक्दैन।
(यस लेखमा चलचित्रका विभिन्न घटनाक्रम उल्लेख भएका छन् जसले चलचित्र नहेरेका र हेर्ने सोच राखेका पाठकलाई रहस्योद्घाटन गर्न सक्छ।)
एउटा पात्र छ- दधिराम पोखरेल (प्रवीण खतिवडा)। ऊ निःसन्तान छ, तर त्यसको कारण आफैं हुँ भन्ने जान्दैन। त्यसैले पहिली पत्नीलाई घरनिकाला गर्छ। दोस्रीले पनि छोडेर गएपछि तेस्री भित्र्याउने उपक्रममा लाग्छ।
अर्की पात्र छिन्- मनरानी लिम्बू (मिरुना मगर)। विवाहअघि नै आमा बनेकी, प्रेमी नफर्किएपछि थातथलोे छोडेर हिंडेकी अनि भट्टी चलाएर सन्तान हुर्काइरहेकी आमा।
नियतिले छिमेकी बनेका यिनै दुई पात्रको सम्बन्ध र संघर्षलाई मियो बनाएर निर्देशक उपेन्द्र सुब्बाले तयार पारेको चलचित्र हो- मनसरा। दुवैको सेरोफेरोमा निर्देशक सुब्बा समुदायगत सांस्कृतिक भिन्नता, सन्तानप्राप्तिको चाहना र एकल महिलाको संघर्ष उधिन्दै कथा अघि बढाउँछन्। तर कथा भन्ने शैलीमा ठाउँ ठाउँमा जातीय असन्तुलनको गन्ध आउँछ। यद्यपि यो उनको नियत नभएर असावधानी हुन सक्छ।
जस्तो- पात्रको चरित्रचित्रण हेर्दा जनजाति, विशेषतः लिम्बूलाई परेका वेला लडिहाल्न सक्ने, एक्लै संघर्ष गर्न सक्ने अनि संस्कारमा अडिग देखाइएको छ। तर ब्राह्मणलाई लड्न-भिड्न नसक्ने, एक्लै हुँदा खाना बनाउन पनि नसक्ने, स्त्रीद्वेषी र यौनकुण्ठित देखाइएको छ। पात्रहरूको संवादमा पनि पटक पटक एकअर्कालाई सम्बोधन गरिएको छ- बाहुन र लिम्बुनी।
पात्रको आडमा समुदायविशेषलाई नै जनाउने यस्तो सम्बोधनले शंका गर्ने ठाउँ दिएको छ- कतै निर्देशकमा जातिवादी वैचारिकी रहेको र त्यो सुषुप्त रूपमा उजागर भएको त होइन? यहींनिर अर्को प्रश्न- कहिल्यै मदिरा नपिएको दधिरामलाई मदिराले लट्ठ्याएर मनरानीको शरीर भोग गर्न लगाउने अनि मनरानीलाई दधिरामको छातीमा लात्तीले हान्न लगाइएको, ‘क्लोज शट’ मा दधिरामले मनरानीको खुट्टा छोएको दृश्यको विम्बात्मक अर्थ के होला? एउटा सांस्कृतिक धारको पात्रलाई चारित्रिक रूपमा कमसल र अर्को सांस्कृतिक धारका पात्रहरूलाई असल मात्र देखाइएको किन होला?
एक ठाउँमा त संवादबाटै यस्तो छनक पाइन्छ। दधिरामले दोस्री पत्नी नानीमाया श्रेष्ठ (मेनुका प्रधान)सँग दिउँसै सहवास गर्न खोजेको दृश्यमा नानीमाया भन्छे, ‘म तेरो बाहुनी बूढी होइन।’ यो संवादले ब्राह्मण महिला चाहिं जतिसुकै वेला पतिको यौनकुण्ठा मेट्न तयार हुने साधन जस्ता रहेको आशय झल्काउँछ।
अब लिम्बू पात्रको चरित्रचित्रण हेरौं- दधिरामले घरनिकाला गरेकी ब्राह्मण पत्नीलाई लिम्बू पुरुषले आश्रय दिन्छ। गाउँ छाडेर हिंडेकी लिम्बू महिला मनरानीलाई चाहिं कसैको आश्रय चाहिंदैन। ऊ एक्लै संघर्ष गर्छे।
अर्कातिर, लिम्बू पुरुष पतिले छाडेकी नारीलाई सहारा दिने, ब्राह्मण पुरुष चाहिं संघर्ष गरेर सन्तान हुर्काइरहेकी कुमारी आमालाई कुदृष्टि लगाउने। यस्ता अरू प्रसंग पनि छन्- दधिराम पत्नीलाई सौता हाल्छ, तर मानाङ चेम्जोङ (दयाहाङ राई) वर्षौंपछि पनि प्रेमिका खोज्दै भड्किरहन्छ।
चलचित्रमा मनरानीले ‘तिम्रो गोठ जस्तै हो मेरो खोर’ भनेर भैंसीपालक र सुँगुरपालकको अन्तर मेटी सहअस्तित्व गुन्जाएको संवाद छ। भट्टीमा पालम गाउँदै आफ्नो संस्कृति प्रदर्शन गर्ने र मुन्धुमका वाणी कहने गजबको शैली छ। तर यस्तो संवेदनशीलता अर्काे संस्कृतिका हकमा देखाइएको छैन।
यहाँ बुझ्नुपर्ने कुरा के भने, दुई फरक संस्कृतिलाई एउटै मानकमा राखेर हेर्न मिल्दैन। कुनै संस्कृतिमा केही वस्तु पवित्र मानिएला त अर्कोमा त्यो अपवित्र। यसर्थ प्रत्येक सांस्कृतिक मान्यतालाई सम्बन्धित संस्कृतिकै सन्दर्भमा परख गरिनुपर्छ। यस्तो अवधारणालाई समाजशास्त्रीय/मानवशास्त्रीय दृष्टिकोणमा ‘सांस्कृतिक सापेक्षवाद’ को सिद्धान्त भनिन्छ। मनसरामा निर्देशकले यो सिद्धान्तलाई उपेक्षा गरेको अनुभूति हुन्छ।
कथा-कल्पनामै सही, समाजका पात्र जस्ताको तस्तै टिपेको तर्क गरेर सांस्कृतिक-सामुदायिक सन्तुलनको पाटो बेवास्ता गरिनु आधुनिक युगसुहाउँदो चेत हुन सक्दैन। आफ्नो संस्कृति अब्बल छ भन्न पाउनु भनेको अरूको संस्कृति कमजोर छ भन्न छूट मिलेको होइन।
त्यो अर्थ र मनसराको अर्थ
महेश भट्टको निर्देशनमा सन् १९८२ मा निर्मित भारतीय चलचित्र अर्थले महिलावादको एक शब्द उच्चारण नगरी महिला स्वतन्त्रता र सशक्तीकरणबारे बलियो विचार प्रवाह गर्छ।
पतिको अर्कै महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि पूजा मल्होत्रा (शबाना आज्मी) कसरी आफ्नो बाटो आफैं बनाउन लागिपर्छिन् र कसरी अन्तिममा पति इन्दर मल्होत्रा (कुलभूषण खरबन्डा)ले जोडबल गर्दा पनि पछाडि फर्केर हेर्दिनन्? यो प्रश्नको जवाफसँगै चलचित्रले महिला सशक्तीकरणको बलियो दृष्टान्त पस्कन्छ।
तर मनसरामा पतिको घर त्यागेर हिंडेकी पत्नीलाई पुनः पतिसँगै मिलन गराइएको छ। मनरानीसँग लागेको भेउ पाएपछि दधिरामलाई छाडिहिंड्ने नानीमायालाई ‘पोस्ट क्रेडिट’ सिनमा दधिरामसँगै देखाइन्छ। निर्देशकको छनोट महिला सशक्तीकरण हुन्थ्यो त नानीमायालाई दधिरामको साथ पक्कै चाहिंदैनथ्यो।
६/७ वर्षीय छोरासँग संघर्षशील जीवन बाँचिरहेकी मनरानी पनि प्रेमी भेट्नासाथ निरीह भई स्विकार्छिन्। कथा अवतरण गर्न हतार गर्दा पनि यसो भएको होला। तर महिलालाई पुरुषको साथ चाहिन्छ नै भन्ने झल्को दिने यस्ता दृश्यले महिला सशक्तीकरणका पक्षलाई बेवास्ता गरेको देखिन्छ।
प्राविधिक पक्ष
चलचित्रको विषयवस्तु जस्तै समस्याग्रस्त छ, यसको प्राविधिक पक्ष। आँखा बिझाउने दृश्य पटक पटक ठोक्किइरहन्छन्।
सबैभन्दा कमजोर प्राविधिक पाटो छायांकन हो। मध्यान्तरअघिका अधिकांश दृश्य ‘ओभरएक्सपोज्ड’ भई आँखै खाने गरी खिचिएका छन्। अधिकांशतः ‘ब्याकलाइट’ ले दृश्यलाई प्रदूषित बनाएका छन्। मध्यान्तरपछि भने यस्तो लापरबाही केही सम्हालिन्छ।
सम्पादन पनि छरितो छैन। केही दृश्य अनावश्यक छन् जसको प्रयोजन चलचित्र लम्ब्याउने बाहेक केही छैन। त्यस्तै, ‘पल्सर’ बाइकमा ‘फोकस’ गरिएको लामो दृश्यबाट निर्देशकले चलचित्रमा आफ्नो ब्रान्डमोह घुसाएको छनक मिल्छ। अनि दधिराम भावनात्मक रूपमा कमजोर भएको दृश्यमा खेतबाट सीधै दराजमा काटिएको सटले ‘जर्क’ महसूस गराउँछ।
चलचित्रको अवतरणमा पनि निर्देशकले परम्परागत ‘संयोग’ को सहारा लिएका छन्। जस्तो- मानाङ अनायासै दुर्घटनामा पर्नु अनि उसलाई जुन अस्पताल लगिएको हो त्यहीं मनरानी पनि छोरा लिएर पुग्नु।
मनरानी पात्रलाई गरिएको सौन्दर्यीकरण पनि असुहाउँदो लाग्छ। भातभान्सा गर्ने नानीमायालाई साधारण देखाइँदा सुँगुरको खोर सोहोर्ने र भट्टी चलाउने मनरानीलाई सधैं सुकिलोमुकिलो देखाइएको छ। यद्यपि दधिरामले भित्रको थर्मकोट समेत देखिने गरी लुगा लगाएको दृश्य जीवन्त लाग्छ।
अभिनयका सवालमा मेनुका प्रधान र प्रवीण खतिवडा उम्दा छन्। मिरुना मगरले पनि भूमिकालाई न्याय नै गरेकी छन्। दयाहाङ राईको अभिनय औसत छ। छोटो भूमिकामा उनले अभिनय देखाउने ठाउँ खासै पाएका छैनन् पनि। तारीफयोग्य काम बाल कलाकार नेनाङ राईको पनि हो। किरात युवा पालममा नाच्दै गर्दा यी बालकले सिको गरेको दृश्य सशक्त लाग्छ।
निरुत्तर प्रश्न
‘तपाईंलाई पिण्ड दिने म छु। मेरो पिण्डको चिन्ता किन परेको?’
कथाको मुख्य द्वन्द्वको जड नै दधिरामले आफ्नो बुबालाई भनेको यो वाक्य हो। तर यसको जवाफ पूरै चलचित्रमा न यसैको पात्र दधिरामले पाउँछ न दर्शकले पाउँछन्।
यही दृश्यमा दधिरामले बुबाको रहर पूरा गर्दागर्दै आफ्नो यस्तो हविगत भइसकेको बताउँछ। तर उसले बुबाका के-कस्ता रहर पूरा गरेको थियो, खुल्दैन।
चलचित्रको अर्को गाँठो हो- दधिराममा देखिने अचानकको चारित्रिक परिवर्तन जहाँ ऊ ग्लानिभाव व्यक्त गर्छ। तर त्यो ग्लानिभाव मनरानीको विगत सुनेर आएको हो वा उसको शरीर भोग गर्न चाहेको अघिल्लो रातको पश्चात्तापले, जवाफ पाइँदैन।
सन्तान हुनै पर्छ, वंश धान्नै पर्छ भन्ने शास्त्रीय सोचबाट दधिराम पछि रूपान्तरित हुन्छ। त्यो परिवर्तन उसलाई आफूमा कमजोरी रहेको बोध भएर हो वा वंश धान्न सन्तान चाहिने सोच नै गलत भन्ने लागेर हो, दर्शकले थाहा पाउँदैनन्।
यस्ता विषयलाई प्रस्ट्याउन नसक्दा मनसराको अवतरण ‘लिक’ बाहिर गएको छ। चलचित्रले समातेको बाँझोपनको विषय नेपाली समाजको जिउँदोजाग्दो यथार्थ भए पनि त्यसलाई स्थापित गर्ने एकोहोर्याइँमा दृश्यपिच्छे ‘छोरो चाहिने’ आशयका वाक्यले झिंझो लगाउँछन्। यसले कथावाचनको गति पनि सुस्त बनाइदिएको छ।