सहकारी प्रकरणले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध
सहकारी ठगी प्रकरणले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ।
बजेट अधिवेशनको पहिलो दिन नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहित सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेस लगायत विपक्षी दलले संसद् अवरुद्ध गरेका हुन्।
प्रतिनिधि सभाको शुक्रबार अपराह्न बसेको दोस्रो बैठकमा पनि कांग्रेस सांसदले विरोध जनाए। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक शुरू गर्ने बित्तिकै कांग्रेस सांसदले ‘वेल’ घेराउ गरेका थिए। उनीहरूले सहकारीपीडितलाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए।
नाराबाजीबीच सभामुख घिमिरले गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएका थिए। तर कांग्रेस सांसदले लामिछानेलाई रोस्टममा जानै दिएनन्। त्यसपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक स्थगन गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक जेठ १ गते बेलुका ६ बजे बस्ने भएको छ।
यसअघि दिउँसो २ बजे बसेको प्रतिनिधि सभाको बैठकमा पनि कांग्रेस सांसदले विरोध जनाएका थिए। बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नहुँदासम्म संसद्का कामकारबाही अगाडि बढाउन नदिइने बताएका थिए।
त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। तर कांग्रेस सांसदले विरोध जनाएपछि दोस्रो बैठक पनि चल्न सकेन।
त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि चल्न सकेन। राष्ट्रिय सभाको दिउँसो २ बजे बसेको बैठकमा दलीय आधारमा सांसदले बोलेका थिए। त्यसपछि कांग्रेस सांसदले विरोध जनाएका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। दोस्रो पटक शुरू भएको बैठकमा पनि कांग्रेस सांसदले विरोध जारी राखे। त्यसपछि अध्यक्ष दाहालले जेठ १ गते बेलुका ५:३० बजेसम्मका लागि बैठक स्थगन गरेका हुन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सरकारले छानबिन समिति गठन गर्न चासो नदेखाएपछि संसद् बैठक अवरुद्ध बनेका हुन्।