कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा कारण देखाउ आदेश
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने कारण देखाउ आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आदेशमा भनिएको छ, ‘यस निवेदनमा उल्लिखित संविधानको व्याख्याको विषय अन्तरनिहित भएको देखिंदा उक्त विषयहरूको निरूपण पूर्ण सुनुवाइबाट हुनुपर्ने देखिएकाले हाललाई निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गरी रहनु परेन।’
केदार कार्कीले विश्वासको मत नलिएको भन्दै कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। नेकपा (माओवादी केन्द्र)का सांसदको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए।
आफू मुख्यमन्त्री छँदाछँदै प्रदेश प्रमुखले संविधान विपरीत हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा मुख्यमन्त्रीको नियुक्ति खारेज गरी आफूलाई मुख्यमन्त्री यथावत् राख्न अन्तरिम आदेश माग गरिएको थियो।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने कारण देखाउ आदेश दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? जारी हुनुनपर्ने भए आधार कारण’ सहित लिखित जवाफ पेश गर्न भनेको छ।
सर्वोच्चले लिखित जवाफ पेश गर्न १० दिनको समय दिएको छ। यो मुद्दामा जेठ ९ गते पेशी तोकिएको छ।