सहकारी ठगी प्रकरणलाई लिएर संसद् अवरुद्ध
सहकारी ठगी प्रकरणलाई लिएर बजेट अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध भएको छ।
बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिएका थिए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा छानबिन समिति गठन गर्न माग गरे। “सहकारीको ठगीका सम्बन्धमा यो संसद्ले छानबिन समिति बनाओस्,” थापाले भने।
संसदीय छानबिन समितिमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद नै बस्ने भएकाले यसमा डराउन नहुने थापाको भनाइ थियो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री लामिछानेलाई जोगाउन नै झूट बोलेको थापाको भनाइ थियो। “प्रधानमन्त्रीले सदनमा गृहमन्त्रीलाई सफाइ दिनुभयो। प्रधानमन्त्रीले झूट बोल्ने, महान्यायाधिवक्ता कार्यालको दुरुपयोग गर्ने?” थापाले भने, “गृहमन्त्रीजीले हस्ताक्षर गरेर पैसा निकालेको प्रमाण छ, एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेश गरौं?”
सरकारले नै निहुँ खोजेकाले छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने थापाले बताए। “संसदीय छानबिन समिति बनाउनुस्, छानबिन तपाईं नै गर्नुहोस्, हामी हेर्छौं,” सरकारले नै वातावरण बिगारेको उल्लेख गर्दै उनले भने, “संसदीय छानबिन समिति नबनीकन कुनै पनि सदनको कामकारबाही अघि बढ्दैन।”
थापाले बोलिसकेपछि सभामुख घिमिरले संसद्को कामकारबाही अघि बढाउन खोजेका थिए। त्यसपछि कांग्रेस सांसदले ‘बेल’ घेराउ गरेका थिए। उनीहरूले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गरेका छन्।