छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन नहुने जिकिर गरेका छन्।
शुक्रबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्तिकेन्द्रित बन्न नहुने बताए। अहिले संसदीय छानबिन समिति गठन गरेमा त्यसपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने ओलीको भनाइ थियो।
ओलीले भने, “रविजीको राजीनामा माग्या छैन भन्नुहुन्छ। आफ्नैबारे छानबिन गर्न समिति बनाइसकेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा बस्न मिल्छ भनेर छानबिन समिति बनेपछि राजीनाको कुरा गर्नुहुन्छ।”
गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले स्पष्ट पारिसकेको जिकिर गरे। “नेपाली कांग्रेसका प्रमुख सचेतक मुद्दाको फाइल लिएर बहस गर्न जस्तो गरेर आउनुभएको छ। महान्यायाधिवक्ताको कार्यालय भन्दै छ- केही पनि छैन।”
व्यक्तिमा नभएर समग्र सहकारीको छानबिन गर्नुपर्ने उनको भनाइ थियो। यसमा कांग्रेसले नमानेको ओलीले बताए।
कांग्रेसले भने यो अधिवेशनमा पनि संसदीय छानबिन समितिको माग दोहोर्याउने भएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले छानबिन समिति गठन नभएमा संसद् चल्न नदिने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस् : संसदीय छानबिन समिति कांग्रेसको ‘बटम लाइन’