संसदीय छानबिन समिति कांग्रेसको ‘बटम लाइन’
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिनाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको मागलाई ‘बटम लाइन’ बनाएको छ।
संघीय संसद्को बजेट अधिवेशन हुनुअघि शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनलाई ‘बटम लाइन’ बनाउने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै लेखकले भने, “गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिनाको छानबिनका लागि संसदीय छानबिन समिति हाम्रो ‘बटम लाइन’ हो, यसमा तलमाथि हुँदैन।”
सरकारले अघिल्लो अधिवेशन हठात् अन्त्य गरेकाले आज शुरू हुने अधिवेशनमा पनि माग यथावत् रहेको उनले बताए। “संसदीय छानबिन समिति गठनका लागि पुनः माग गर्ने निर्णय गरेका छौं,” लेखकले भने।
पछिल्लो समय आएका समाचार र प्रहरी अनुसन्धानमा पनि गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको देखिएको उनको भनाइ थियो। “देशभरका बचतकर्ताले जम्मा गरेको सहकारीको रकम हिनामिना, अपचलन र ठगी भएको छ। यो कांग्रेसको मात्रै नभएर सबै नेपालीको चासो, चिन्ता र सरोकारको विषय भइसकेको छ,” लेखकले थपे, “नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता भएको पर्याप्त तथ्य र प्रमाण देखिसकिएको छ।”
यसको निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक रहेको कांग्रेसको ठहर छ। “गृहमन्त्री लामिछाने सहित सबै सहकारीको छानबिन र अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भनेर संसदीय छानबिन समिति माग गरेका थियौं,” लेखकले भने, “संसदीय छानबिन समिति गठन आवश्यक छ भन्ने पुन:पुष्टि भइसकेको छ।”
यसमा सरकार सकारात्मक नभए संसद्को बैठक अवरुद्ध हुने लेखकको भनाइ थियो। “संसदीय छानबिन समिति हाम्रो ‘बटम लाइन’ हो, यसमा सरकार सकारात्मक भएन भने सदनका बैठक प्रभावित हुन्छन्, यसको जिम्मा सरकारले लिनुपर्छ,” लेखकले भने।
कांग्रेस संसदीय दलको बैठकका निर्णय: