‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘कस्ता कविता लेखिनुपर्थ्यो र कस्ता लेखिंदै छन् भनेर समीक्षकहरूले घचघच्याउनुपर्ने हो। तर नेपालमा कविताको समीक्षा गर्ने समीक्षक नै छैनन्।’
कवि तथा गीतकार विप्लव प्रतीक सिर्जनामा प्रेम, सम्बन्ध, मानवता र हार्दिकताका कुरा गर्छन्। नहारेको मान्छे कवितासंग्रह (२०६१ साल), अविजित उपन्यास (२०७४) प्रकाशन गरेका उनको हालै हाइकुसंग्रह शाडेनफ्रोएडा आएको छ। अंग्रेजी भाषामा राम्रो दखल राख्ने उनी अनुवादमा पनि सक्रिय छन्।
उनको अनुवादमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी सत्यको जगमा उभिएर प्रकाशित छ। अमेरिकी लेखक आर्थर मिलर रचित नाटक डेथ अफ अ सेल्सम्यानको अनुवाद यौटा सपनाको अवसान (२०८०) पनि उनकै अनुवादमा प्रकाशन भएको छ। यस्तै, भारतीय साहित्यकार मन्नू भंडारीको उपन्यास महाभोजको नाट्य रूपान्तर गरेका उनले यही नाटकमा अभिनय पनि गरेका छन्।
साहित्य र कलाका विविध फाँटमा फैलिएका उनै प्रतीकसँग हाइकु कृति र समग्र साहित्य यात्राबारे हिमालखबरको स्तम्भ किताबका कुराका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंशः
कविका रूपमा स्थापित हुनुभयो, उपन्यास पनि लेख्नुभयो। बृहत् स्वरूपको सिर्जनामा लागिरहेको सर्जक काव्य विधाको लघुतम स्वरूपको हाइकुतिर कसरी डोरिनुभयो?
म राजनीतिमा लागेको भए आश्चर्य हुन्थ्यो होला, तर म त साहित्यभित्रकै अर्को विधामा छु। साहित्यका अनेक विधा छन्। कविता विधाका गजल, मुक्तक जस्तै हाइकु पनि एक उपविधा हो। खासमा ख्यालख्यालमा हाइकु लेख्दा विदूषी भूषिता वशिष्ठले यससँग थप परिचय गराउनुभयो। त्यसमाथि, जनकवि दुर्गालाल श्रेष्ठले साहित्यिक गफगाफका क्रममा ‘जुन मान्छेले तीन पंक्तिमा पाँच-सात-पाँच अक्षर संरचनामा जीवन, दर्शन, प्रेम र प्रकृतिको वर्णन गर्न सक्छ, त्यसले शब्दको किफायत गर्न सिकाउँछ’ भन्नुभयो। मलाई साहित्यकारले पैसाभन्दा शब्दको किफायत गर्न जान्नुपर्छ भन्ने लाग्यो र हाइकु लेखनमा आएँ।
किताबको नाम जर्मन भाषाको शाडेनफ्रोएडा राख्नुभएको छ। यो नाम कसरी जुर्यो?
मेरा एक साथी छन्, टेरेन्स डिकोस्टा नाम गरेका। यो शब्द पहिलो पटक उनीबाटै सुनेको थिएँ। यसको अर्थ अर्काको पीडामा महसूस हुने आनन्द हो। यसलाई उदाहरणबाट बुझौं। अरूहरूका लागि म ‘अर्का’ हुँ। मैले आफ्नो गहिरो दर्दबाट निचोरेर एउटा हाइकु लेखें, कोही पाठकले त्यो त्यो हाइकु पढेर आनन्द मान्यो भने त्यो शाडेनफ्रोएडा भयो। खुशीमा त कुनै पनि साहित्य लेखिंदैन जस्तो लाग्छ। खुशीकै साहित्य लेख्दा पनि त्यसको पृष्ठभूमिमा पीडा लुकेको हुन्छ।
कम शब्दमा धेरै थोक भन्न सक्ने देखेर हाइकु लेख्न थाल्नुभएको होे?
त्यस्तो हैन। धेरै संघर्ष गरेर लेख्न सिकेको हुँ हाइकु। सन् २००७ मा लेखेका हाइकुहरू अहिले पनि परिमार्जन गरिरहेको हुन्छु। पछिल्लो समय अडियो किताब निकाल्दा पनि धेरै हाइकु सम्पादन गरें। यसको प्रक्रिया लामो छ। कुनै पनि साहित्यकार वा कलाकार अब जान्ने भएँ, सबै बुझिसकें, अब केही सिक्नु छैन भन्ने तहमा पुग्यो भने ऊ साहित्यकार नै रहँदैन।
कविता र हाइकुको रचना प्रक्रियामा के अन्तर छ?
अर्थपूर्ण र मन छुने शब्दको अमृत हो, हाइकु। जुन स्पर्शी हुनुपर्छ। कविता पनि स्पर्शी नै लेख्ने हो। तर हाइकु लेख्दा तीन पंक्तिमा पाँच-सात-पाँच अक्षरको नियममा बाँधिनुपर्छ भने कविता जसरी लेखे पनि हुन्छ।
मैले लेख्ने कवितामा शुरूआत, मध्य र अन्त्य हुन्छ। शुरूआतमा भूमिका बाँधेर एक ठाउँमा पुग्छु, बीचमा कविताको विषयको समस्या केलाउँछु र समस्या समाधानमा पुग्छु। अन्त्यमा एउटा ‘कथार्सिस’ छोडेको हुन्छु। मान्छेको हृदयलाई कसरी छुने भनेर त्यसमा खेल्छु। कवितामा धेरै स्वतन्त्र महसूस हुन्छ।
गद्य कवितामा निर्बन्ध बगेको महसूस गर्ने तपाईंलाई हाइकुको नियमले बाँधेको अनुभूति भएन?
खासमा मैले छन्द कविता लेख्न नजानेर गद्य रोजेको हुँ। छन्द जति राम्रो र सुन्दर त अरू के होला र! छन्द कविता लेख्नेहरू पनि धेरै छन्, तर सबैको कवितामा रस पाइँदैन। दुर्गालाल श्रेष्ठका कवितामा जति रस भेट्छु, त्यस्तो रस कमै कविको लेखनमा पाउँछु। अरूका छन्द कवितामा मात्रा र वर्णको नियम सबै मिलेको हुन्छ, तर मन नै छुँदैन। हाइकुको सन्दर्भमा नियममा रहे पनि खुलेर अनुभूति व्यक्त गर्न सकिन्छ। त्यसैले हाइकुले बाँधेकै त छैन।
जसरी कवितामा विम्ब र प्रतीकसँग खेलिन्छ, हाइकुमा त्यो ठाउँ हुन्छ कि हुँदैन?
कवितामा जस्तो धेरै विम्ब हाइकुमा प्रयोग हुँदैन। तर हाइकु आफैंमा विम्ब हो जस्तो लाग्छ। हाइकुले एउटा मात्र कुरा भन्न खोजेको हुँदैन। हाइकु लेख्न जति कठिन छ, वाचन गर्न पनि उत्तिकै मिहिनेत चाहिन्छ। हाइकु पढ्ने पाठकले पनि खरर पढ्ने होइन। त्यसमा केही समय विचरण गर्ने हो। अन्यथा, १५० वटा हाइकु एकै छिनमा पढेर सकिन्छ।
हाइकु पनि संगीत जस्तै ग्रहण गर्ने भन्नुभएको हो?
हो, खास कुरा नै यही हो।
हाइकु छोटो हुने भएकाले एक बसाइमै धेरै लेख्न सकिन्छ भनेर यसलाई सामान्य रूपमा हेर्नेहरू पनि छन् नि!
यो कसैको अनुमान होला। तीन हरफ लेख्ने त हो नि भन्ने लाग्छ, तर हाइकु एकै पटक आउँदैन। यसको चिन्तन र लेखन प्रक्रिया लामो हुन्छ। जस्तो-
तिम्रो आँखामा
मैले रोपेको पीर
गुलमोहर
यो हाइकुमा मैले भन्न खोजेको कुरा, कुनै समयमा मैले कसैलाई दुःख दिएँ होला। तर उसलाई जब भेट्छु र उसका आँखासँग जहिले साक्षात्कार हुन्छ, मैले रोपिदिएको पीर गुलमोहर जस्तो भएको देख्छु। यो मेरो पछुतो हो। यति तीन हरफ सिंगो जीवनको देन पनि हुन सक्छ। यसलाई कसैले तीन हरफ त हो, लेख्न के नै गाह्रो हुन्छ र भन्छ भने त्यो गलत हो।
अब कविताबारे कुरा गरौं। कविताको सामर्थ्यलाई कसरी व्याख्या गर्नुहुन्छ?
माया एन्जुलो, फैज अहमद फैज, गोपालप्रसाद रिमालहरूका कविताले मेरो हृदय छुन्छन्, उनीहरूले मेरै लागि कविता लेखेको जस्तो लाग्छ। कविताको सामर्थ्य भनेको यही होला। पाठकको हृदय स्पर्श गरेर सोच परिर्वतन गराउन सक्नु कविताको सामर्थ्य हो।
प्रविधिले तीव्र फड्को मार्दै छ। एआईले कविता लेख्न थालेको छ। यसको असर के पर्ला?
कविता भनेको जीवनसँग नजिक रहन सिकाउने कुरा हो। एआईले पनि कविता लेख्नुलाई राम्रै मान्छु। यसले फरक पार्दैन। एक पटक देव न्यौपाने भाइले विप्लव प्रतीकको जस्तो कविता लेख भनेर एआईलाई कमान्ड दिंदा लगभग मेरै शैलीको कविता लेखेको थियो। तर त्यसमा हुनुुपर्ने रस थिएन। त्यसैले कृत्रिम वस्तुले लेखेको कविता सशक्त हुन्छ जस्तो लाग्दैन।
पहिले जस्तो बलियो कविता लेखिन छाडे भनिन्छ। तपाईंलाई के लाग्छ?
कविता मन छुने गरी लेखिनुपर्छ। कस्ता कविता लेखिनुपर्थ्यो र कस्ता लेखिंदै छन् भनेर समीक्षकहरूले घचघच्याउनुपर्ने हो। तर नेपालमा कविताको समीक्षा गर्ने समीक्षक नै छैनन्। कवि र समीक्षकहरूबीच राम्रो सम्बन्ध हुन्छ र कवि रिसाउला, झगडा पर्ला भनेर पनि समीक्षात्मक विश्लेषण नै आउँदैन।
मैले भूपी शेरचन, हरिभक्त कटुवाल, ईश्वरवल्लभ, भवानी भिक्षु लगायत सबैसँग साक्षात्कार गर्न पाएँ। त्यो समयमा सिर्जनाबारे आलोचना हुन्थे। कसैले कसैलाई होच्याएको मानिंदैनथ्यो। एउटा कविको कविता अर्कोले सच्याइदिन्थ्यो। त्यसको श्रेय कसैलाई चाहिंदैनथ्यो। त्यसैले त्यस वेला उत्कृष्ट कृतिहरू निस्किए। त्यसपछिको पुस्तामा त्यो संस्कार देखिंदैन। हामी एक्लाएक्लै लडेर कहीं पुग्दैनौं, सबै मिलेर लडे जितिन्छ।
यहाँ राम्रो लेख्ने कवि पनि धेरै छन्। तर उनीहरू उपेक्षित छन्। विदेशमा कवि र कवितालाई धेरै महत्व दिइन्छ। उच्च सम्मान गरिन्छ। किनभने त्यहाँ साहित्य वा संगीत जस्ता विषय ऐच्छिक रूपमा छनोट गरेर होइन, अनिवार्य रूपमा पढ्नुपर्छ। नेपालमा चाहिं यी विषय ऐच्छिक रूपमा राखिएको छ, त्यो छान्नेले मात्र पढ्छ र त्यसबारे कुरा गर्छ। साहित्य जीवनलाई बोध गराउने चीज हो भनेर हामीमा शिक्षाको कमी छ र यसबारे छलफल, बहस पनि कम छ। त्यसैले पनि राम्रो परिणाम नआएको हुन सक्छ।
कुनै मुद्दा उठाएपछि कविता सशक्त हुने एकथरी बुझाइ पनि हामीकहाँ पाइन्छ। के कवितामा मुद्दा आउनै पर्छ?
कवितामा मुद्दा आउनै पर्छ भन्ने मलाई लाग्दैन। तर मुद्दा आउनै हुँदैन भन्ने पनि होइन। मुद्दामा लेख्दा फैज अहमद फैज, पाब्लो नेरुदाले लेखे जसरी आओस्। हजार वर्षपछि पनि त्यो कविता पढ्दा त्यो कवि बाँचेको कालखण्ड आउने गरी लेख्न सक्नुपर्छ। तर फैज, नेरुदाले सबै कवितामा मुद्दा उठाएर बसेनन्। कविता भनेको दर्शनभन्दा माथिको दर्शन हो। हरेक धार्मिक पन्थको दर्शनभन्दा पनि माथि हुन्छ कविताको दर्शन। त्यसैले कविता लेख्न सजिलो छैन।
मैले मुद्दामा कविता नलेखेको हैन। तर अचेल लेख्दिनँ। अहिले कुनै मुद्दा आए लेख लेख्छु, अभियान लिएर हिंड्छु।
जीविका चलाउने भागदौडमा लाग्दा धेरैले आफ्नो रुचिको कर्म बीचैमा छाडिदिन्छन्। तपाईंलाई आफूभित्रको कवि जोगाउन कत्तिको मुश्किल आइपर्यो?
‘कविता लेखेर जीवन चलाउन सकिन्छ र’ भनेर अहिले पनि मलाई कति जनाले सोध्नुहुन्छ। त्यस वेला म कविता जोगाउन फिल्म लेखन, पत्रकारिता, विज्ञापन आदिमा काम गरें भन्छु। मेरो खर्च चलाउने अरू माध्यम खोजेर कविता जोगाएको हुँ। आज त्यही कविताले मलाई पनि जोगाएको छ।
साहित्यको यात्रा लामो हुने भएकाले यसमा धैर्य चाहिन्छ। आफ्नो लेखनलाई प्रेम गरेर निरन्तर साधन गरे, केही समय अर्को माध्यमबाट आम्दानी गरेर कवितालाई प्रेम गरे कवि र कविता मर्दैनन्।
तपाईं कविता, कथा, निबन्ध, नाटक लगायत बहुविधामा लेख्नुहुन्छ। केही लेख्ने विचार आयो भने कुन विधामा लेख्ने भन्ने दुविधा हुन्छ कि हुँदैन?
दुविधा हुँदैन। किनभने मैले यो कुराको अभ्यास पहिल्यै गरिसकें। किशोरावस्थादेखिका मेरा साथी छन्, शिशिर सुब्बा। मैले कविता लेखेर सुनाउँदा त्यो भाव गीतमा राम्रो हुन्छ उनी सुझाव दिन्थे। कुनै गीत लेख्यो भने गीतले सबै कुरा भन्न सक्दैन, कविता लेख्नुपर्छ भनेर सिकाउँथे। त्यसपछि साथीले नभने पनि मैले बिस्तारै थाहा पाउन थालें, के लेख्दा राम्रो कविता र के लेख्दा राम्रो गीत बन्छ भनेर।
अहिले कुनै कुरा कविताले भन्न सक्दैन भने त्यो निबन्ध वा लेख बनाउँछु। कवितामा भन्दा अझ प्रभावशाली माध्यम चाहिए गीत लेख्छु। कुनै विषयवस्तु छ भने कविता लेख्छु। त्यसैले अहिले दुई लाइन केही आउनासाथ त्यसलाई कुन विधामा लेख्ने भन्ने थाहा हुन्छ।
तपाईंको ‘एक दिन म सुटुक्क सुत्नेछु’ भन्ने कविता र ‘हर रात सपनामा ऐंठन हुन्छ’ गीतको रचनागर्भ सुनौं न। कुन अवस्थामा र कस्तो सोच आएर लेख्नुभयो?
२०५१/५२ सालतिरको कुरा हो, त्यस वेला मलाई हरेक दिन मृत्युको भय हुन्थ्यो। त्यही भयले लामो समय लखेटेपछि ‘एक दिन म सुटुक्क सुत्नेछु’ भन्ने कविता लेखें। यो कविता लेख्दा म हिमाल खबरपत्रिकामा काम गर्थें। लामो समयदेखि चिन्तनमा रहेको कविता दिउँसो कार्यालयमा एक बसाइमै लेखेको थिएँ। पछि हिमालमै छापियो।
त्यसै वेला यो कविता गायक आभाष र मञ्जुल दाइलाई सुनाएको थिएँ। मञ्जुल दाइले आफूले मृत्यु सम्बन्धी १०५ वटा कविता लेखे पनि यस्तो विचारको कविता नलेखेको बताउनुभयो। त्यसपछि काल सम्बन्धी नै २०६६ सालतिर लेखें। जुन कविता यस्तो थियो-
म जन्मिँदा मसँगसँगै जन्मिएको
मेरो साथ जीवनभर हिंडिरहेको
मेरो काल छ मसँग बाँचिरहेको
म गएपछि त्यो कहाँ जान्छ होला,
म गएपछि कठै, एक्लिन्छ होला।
म सुत्दा ऊ जागा भइरहेको
मेरो नसा र तन्तुमा घुमिरहेको
न आफ्नो ठानूँ न हो ऊ पराइ
यो कस्तो हो नाता दुई बाँधिएको
म गएपछि त्यो कहाँ जान्छ होला,
म गएपछि कठै, एक्लिन्छ होला।
यसपछि मैले मृत्यु-भयका कविता लेखिनँ। भय मबाट निस्कियो। भय निस्किन दशक जति लाग्यो, तर खै कसरी हराएर गयो।
गीतको प्रसंगमा, म १४ वर्षको उमेरदेखि घर छाडेर शहमा बसें। मासिक ५० रुपैयाँ तिरेर डेरा लिएको थिएँ। गाउँमा हुनुभएका बाको याद धेरै आउँथ्यो। पानी पर्दा गाउँको घरमा बुइँगलमा भएभरका भाँडाकुँडा थाप्नुपर्थ्यो। त्यो हरेक झरीमा चिन्ताको विषय हुन्थ्यो। त्यसैले पानी पर्यो कि बालाई फोन गरेर हालचाल सोध्थें। एक चोटि नारायणी नदीको किनारमा साथीको घरमा बसेको थिएँ। त्यही वेला नारायणीमा ठूलो बाढी आयो। त्यही रात गाउँमा भएका बाको सम्झना आयो र लेखें-
हर रात सपनीमा ऐंठन हुन्छ,
गाउँमा शायद पहिरो गयो कि!
त्यस वेला दुई/तीन पंक्ति लेखेको थिएँ। पछि पुल्चोकको डेरामा बसेको वेला गीत पूरा गरें। २०४५ सालतिर लेखेको योे गीत दीप श्रेष्ठको हातमा २०५४ सालमा पर्यो र २०५६ सालमा रेकर्ड भयो।
तपाईंका कवितामा अध्यात्म र दर्शनको महक आउँछ। कविकै आचार-व्यवहारको प्रतिविम्ब कवितामा आएको हो?
साहित्य भनेको साहित्यकारकै दर्पण हो। ठगेर, लुटेर खाने मान्छेको लेखनमा त्यही किसिमको जीवन झल्कन्छ। १० जना कविको कविता हेरियो भने त्यसैबाट तिनको चरित्र थाहा पाउन सकिन्छ। हामी जे सोच्छौं र जस्तो व्यवहार गर्छौं, त्यही नै लेखनमा आउने हो।
यसको मतलब म सधैं राम्रो भएर राम्रो कविता लेखेको हैन। ममा पनि खराबी हुन सक्छन्। मैले पनि अरूको चित्त दुखाएको हुन सक्छु। तर चित्त दुखाउने म साधन मात्र हो, मुख्य आरोपी समय हो। मेरा कवितामा दर्शन वा अन्य विशेषता झल्कन्छन् भने त्यसको अंश म पनि हो। मैले विश्वास गर्ने केही दर्शन छन्।
जस्तै- एउटा भनाइ छ, ‘मैले निर्वाण पाउनुअघि घाँस-दाउरा गर्थें, पानी ओसार्थें, निर्वाण पाएपछि पनि त्यही काम गरिरहेको छु।’ अर्थात्, मान्छे जे कुरा पाउन हिंडिरहेको हुन्छ, त्यो पाइसकेपछि अधिकांश मानिस अहंकारी हुन्छन्। जुन गलत हो। म त्यही अहंकाररहित हुन साधना गरेर हिंडेको मानिस हुँ। मेरो कविता पढेर कसैलाई ध्यान गरे जस्तो लागे म धन्य छु।
अन्त्यमा, शाडेनफ्रोएडा कृतिबाट तपाईंले भन्न खोजेको कुरा के हो?
पहिलो कुरा त पाठकलाई मेरो अनुरोध छ, यो पुस्तक एकै बसाइमा खरर्र पढ्ने होइन। दिनको एउटा पढे पनि हुन्छ। त्यसो गरे यसको रस पाइन्छ। विप्लव प्रतीकको जीवन र प्रेमको दर्शन बुझ्न मन छ भने पढ्न सक्नुहुन्छ। यसमा मैले बनावटी कुरा केही पनि लेखेको छैन, हृदय रेटेरै लेखिएका हुन् सबै हाइकु। हेर्दा तीन हरफमा १७ अक्षर छन्, तर ठूलो दर्दको पृष्ठभूमि बोकेका छन्।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’