किन प्रतिबन्ध गरिंदै छ विद्युतीय चुरोट?
चिकित्सकहरूका अनुसार विद्युतीय चुरोटमा पाइने निकोटिन नशालु पदार्थ मात्र होइन, अम्मल बढाउने/तलतल लगाउने तत्त्व पनि हो।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विद्युतीय चुरोट (भेप)लाई नेपालमा प्रतिबन्ध लगाउने प्रक्रिया थालेको छ। विद्युतीय चुरोट प्रतिबन्ध प्रक्रियामा सघाउन भन्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विभिन्न सरोकारवाला निकायलाई पत्राचार समेत गरेको छ।
विद्युतीय चुरोट चार्ज गर्न मिल्छ भने यसमा विभिन्न रासायनिक फ्लेवर हालेर चुरोट जसरी नै सेवन गर्न सकिन्छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोटका डिभाइस नेपालमा आयात भएको छ। जसको व्यापार करीब ३२ अर्ब रुपैयाँ बराबरको छ। सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख तथा प्रवक्ता भक्तबहादुर केसी विगत पाँच वर्षमा यसको आयात दुई सय गुणाले बढेको बताउँछन्।
केसीको भनाइमा विशेषगरी युवा र बालबालिकामा विद्युतीय चुरोटको प्रयोगले पार्ने डरलाग्दो असर रोक्न केन्द्रले प्रतिबन्धको निर्णय गरेको हो। “अहिले स्कूल जाने किशोरकिशोरीले समेत भेपले असर नगर्ने भन्दै यसको प्रयोग गर्न थालेका छन्, जुन चिन्ताजनक अवस्था हो,” केसी भन्छन्।
केसीले भने जस्तै पछिल्लो समय सामाजिक सञ्जालमा कुनै पनि साइड इफेक्ट नभएको, वैज्ञानिक विधिबाट परीक्षण गरिएको र चुरोटको लत छुटाउने अचुक औषधि भनेर विद्युतीय चुरोटको विज्ञापन भइरहेको छ। त्यस्तै, उत्पादकले पनि विद्युतीय चुरोटलाई सुर्तीजन्य पदार्थका रूपमा परिभाषित गरेका छैनन्। जस कारण, बालबालिका र विद्यार्थीहरू समेत यसको लतमा फसिरहेको केसी बताउँछन्। “भ्रामक विज्ञापनका कारण सुर्तीजन्य पदार्थ प्रयोग नै नगरेका किशोरकिशोरीले विद्युतीय चुरोट प्रयोग गर्छन्, जसले उनीहरूलाई यसको गम्भीर लतमा फसाइरहेको छ,” केसी भन्छन्।
विद्युतीय चुरोटका असर
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विद्युतीय चुरोटमा निकोटिन र अन्य विषाक्त पदार्थ हुने भएकाले यसको सेवनले प्रयोगकर्तासँगै उनीहरूको छेउमा बस्ने मानिसलाई समेत घातक असर पर्ने जनाएको छ।
डब्लुएचओको अनुसार गर्भवती महिलाहरूमा निकोटिनले भ्रूणको विकासमा प्रतिकूल असर पार्न सक्छ। यस बाहेक बालबालिका र किशोरकिशोरीहरूको मस्तिष्क विकासमा नकारात्मक प्रभाव पार्नुको साथै दीर्घकालीन रूपमा एन्जाइटी समेत गराउन सक्छ। ‘विद्युतीय चुरोटको प्रयोगले धूमपान नगर्ने युवाहरूमा लगभग तीन गुणा बढीले परम्परागत चुरोटको खपत बढाउँछ, विद्युतीय चुरोट सुरक्षित छैन,’ डब्लुएचओले भनेको छ।
यसको सेवनबाट उत्पादन हुने विषाक्त पदार्थहरूले क्यान्सर, मुटरोग र फोक्सोका रोगहरू निम्त्याउने डब्लुएचओको चेतावनी छ। पछिल्ला समय भएका दर्जनभन्दा बढी अध्ययनले विद्युतीय चुरोटले फोक्सो, मुटु र रक्तनलीमा गम्भीर किसिमका असर गर्ने निष्कर्ष दिएका छन्। यसको सेवनले श्वासप्रश्वासमा समस्या आउने, हृदयाघात र मस्तिष्कघात गराउन सक्छ।
चिकित्सकहरूका अनुसार विद्युतीय चुरोटमा पाइने निकोटिन नशालु पदार्थ मात्र होइन, अम्मल बढाउने/तलतल लगाउने तत्त्व पनि हो। बीएमसी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार यसमा प्रोपिलिन ग्लाइकोल र ग्लिसिन जस्ता पदार्थ समेत मिसाइएको हुन्छ। त्यस्तै, एसेटालडिहाइड र फर्मालडिहाइड जस्ता रसायन पनि मिसाइएको हुन्छ, जसले क्यान्सर समेत गराउँछ। फोक्सोमा लाग्ने गम्भीर खालको रोगको कारक मानिने घातक रसायन पनि विद्युतीय चुरोटमा राखिने अध्ययनमा उल्लेख छ।
फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डे विद्युतीय चुरोटको प्रयोग सामान्यतः युवाहरूले गर्ने र उनीहरूको प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा अन्य उमेर समूहका मानिसको भन्दा धेरै हुने हुँदा यसको प्रयोगका कारण उत्पन्न समस्याबारे तत्काल थाहा पाउन गाह्रो पर्ने बताउँछिन्। “विद्युतीय चुरोट प्रयोग गर्ने किशोरकिशोरीमा त्यसको असर थाहा पाउन कम्तीमा पनि पाँच वर्ष लाग्छ, सरकारले प्रतिबन्ध गर्न खोज्नु जायज छ,” उनी भन्छिन्।
सुन तस्करीसँग कति सम्बन्धित?
स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै भारतले विद्युतीय चुरोट प्रतिबन्ध गरिसकेको छ। नेपालमा पनि किशोरकिशोरी विद्युतीय चुरोटको लतमा फसेको भन्दै यसलाई प्रतिबन्ध गर्न आवाज उठिरहे पनि यसअघि सरकारले कुनै निर्णय गरेको थिएन।
पछिल्लो समय त सुन तस्करीमा समेत विद्युतीय चुरोट प्रयोग भएको भेटिएको थियो। विद्युतीय चुरोटभित्र सुन राखेर तस्करी गरेको सार्वजनिक भएपछि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा सहित केही विदेशी समेत अहिले पुर्पक्षका लागि थुनामा छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेल विद्युतीय चुरोट सुन तस्करीसँग जोडिएपछि आयात गर्न दिने कि नदिने भनेर निर्णय गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको बताउँछन्।
पोखरेलका अनुसार तस्करीमा जोडिएपछि विभागले विद्युतीय चुरोट आयात गर्ने फर्म दर्ता समेत रोकेको थियो। तर आयातकर्ता व्यावसायीले ‘विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ अन्तर्गत नपर्ने भएकाले आयात गर्न दिनुपर्ने’ तर्क अघि सारेपछि फर्म दर्ता पुनः खुलाइएको थियो। “विद्युतीय चुरोट सुर्तीजन्य पदार्थभित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट कानूनी परिभाषा नभएकाले हामीले फर्म दर्ता खोलेका थियौं। अहिले मन्त्रालयले यो विषयमा केही गृहकार्य गरेर नै यस्तो निर्णय (विद्युतीय चुरोट प्रतिबन्ध) गरेको होला,” पोखरेल भन्छन्।
मन्त्रालयले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ हो भनेर पत्र पठाएमा आफूहरूले यो आयात गर्ने फर्मको दर्ता नगर्ने, दर्ता भएकाहरूलाई हटाउने र आयात नगर्न भन्सारमा परिपत्र गर्ने बताउँछन्। “हामी यो निर्णय कार्यान्वयन गर्छौं, तर स्पष्ट पत्र आउनुपर्यो,” पोखरेल भन्छन्।
तर सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमख केसी विद्युतीय चुरोटको प्रतिबन्ध प्रक्रिया तस्करीसँग सम्बन्धित नभएको बताउँछन्। सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका, २०७१ को दफा २८ लाई कार्यान्वयन गर्नका लागि प्रतिबन्ध गर्न खोजिएको उनी बताउँछन्।
दफा २८ मा ‘चुरोट, बिंडी, सिगारको खिल्ली फुटकर वा खुद्रा बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने’ उल्लेख छ। यसकै उपदफा १ मा भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि चुरोट, बिंडी, सिगार र इलेक्ट्रोनिक सिगरेट जस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रूपमा बिक्री, वितरण गर्न पाउनेछैन।’
उपदफा ३ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउनेछैन’ भनिएको छ।
निर्देशिकाका यिनै दफा कार्यान्वयनका लागि विद्युतीय चुरोटको आयात, निर्यात, उत्पादन, बिक्रीवितरण र प्रचारप्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको केसी बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ अनुसारै प्रतिबन्धको निर्णयमा पुगेको बताउँछन्। यस बाहेक तस्करीसँग सम्बन्धित तर्क गलत भएको उनको भनाइ छ।