डढेलोबाट रामेछापका चार हजार पाँच सय हेक्टर वन सखाप
रामेछापका आठ स्थानीय तहका १५५ स्थानमा पछिल्लो एक महीनामा लागेको डढेलोले चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।
सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ।
यस्तै, धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्। यस वर्ष डढेलोमै परी जिल्लाका दुई जनाले ज्यान गुमाइसकेका छन्।
यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलगाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आगो लगाएमा फौजदारी अभियोग अन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ।