ला कासामा रमाएका दाजुभाइ
अध्ययनका लागि काठमाडौं आएका विराटनगरका उमर र फारुक पढाइ नसक्दै व्यवसायी बनेर अरूलाई पनि रोजगारी दिइरहेका छन्।
विराटनगरको रानीका गुलाम सालिक अब्दुल्लाह काठमाडौंमा गाडी बनाउने मिस्त्रीका रूपमा काम गर्दै थिए। बल्खुमा रहेको ग्यारेज राम्रै चलिरहेको थियो। तर २०५८ सालको राजा वीरेन्द्रको वंशनाश गर्ने दरबार हत्याकाण्डपछि चर्किएको माओवादी विद्रोह र त्यसपछि लागेको संकटकालले व्यवसाय चौपट भयो।
असहज परिस्थितिले निम्त्याएको आर्थिक संकटले उनलाई अलमलमा पार्यो। काठमाडौंमा बसिराख्न पनि व्यवसाय चल्न सकेको थिएन, विराटनगर फर्केर पनि केही गर्न सकिने अवस्था थिएन। त्यसपछि उनले विदेशको बाटो रोजे।
विदेशिएपछि एउटै सोच थियो, छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ। त्यसमा पनि उनलाई लाग्थ्यो, डाक्टर, इन्जिनीयर बनाउनुपर्छ। त्यसै अनुसार दुई छोरा उमर र फारुकलाई विराटनगरमा राम्रैसँग शिक्षा पनि दिए। दाइभाइले पनि लगनका साथ पढाइ गरे।
कक्षा १२ सकेपछि उनीहरू डाक्टर, इन्जिनीयर बन्ने सपना बोकी विराटनगर छोडेर काठमाडौं आए। देशको राजधानीले भने दाजुभाइको सपना फेरबदल गरिदियो। दुवैको उस्ताउस्तै जवाफ छ, “डाक्टर, इन्जिनीयरतिर जान मनै लागेन।”
उमरले ‘ट्राभल एन्ड टुरिज्म’ विषय पढ्ने निधो गरे भने भाइ फारुक सामाजिक कार्य (बीएसडब्लू) गर्नतिर लागे। दुवैले पढाइ राम्रैसँगै अघि बढाइरहेका थिए। उमरलाई लाग्यो, पढाइसँग केही काम पनि गरौं। “अलिअलि भए पनि खर्च चल्छ भनेर काम गर्न खोजेको थिएँ,” उनी सुनाउँछन्।
पढाइकै क्रममा उमरले एउटा ट्राभल एजेन्सीमा काम पाए। तर उनको जागीर स्थीर हुन सकेन। कहिले एउटा त कहिले अर्को गर्दागर्दै तीन/चार कम्पनीमा काम गरेको उनी बताउँछन्।
त्यसपछि उनलाई लाग्यो, आफ्नै केही व्यवसाय गर्नुपर्छ। फेरि लामो समय आफ्नै व्यवसाय चलाएका बुवाले पनि केही गर्न प्रेरित गरिरहेका थिए। सोचविचार गर्दागर्दै उनको दिमागमा अनलाइन मार्फत फर्निचर बिक्रीको योजना आयो। उनले केही समय यो काम पनि गरेका थिए, पढ्दापढ्दै। तर कोभिड-१९ महामारीका कारण अवस्था उनले सोचे जस्तो भएन।
बन्दाबन्दीको समयमा कोठाभित्र बन्द रहँदा पनि उनले दिमाग भने खुला नै राखे, फर्निचर बजारको सम्भाव्यता अध्ययन गरिरहे। “फर्निचर व्यवसायको भविष्य राम्रै छ जस्तो लाग्यो,” उमर सुनाउँछन्।
झन्डै ५० लाखको आवादी रहेको काठमाडौं उपत्यकामा निर्माणका काम भइरहेकै छन्। उपत्यकाका कुनकाप्चामा पनि बस्ती विस्तार भइरहेकै छ। यस्तोमा फर्निचर बजार पनि विस्तार हुँदै जाने उमरले अनुमान लगाए। अनि फर्निचर व्यवसाय नै सञ्चालन गर्ने निर्णय लिए।
२०७८ सालमा १५ लाख रुपैयाँ लगाएर सुविधानगरमा ला कासा डेकोर फर्निचर खोले। शुरुआतमा चार जना कामदार राखेका थिए। केही समयमै बढेर २३ जना पुगे। “शुरूआतका ६ महीना त लगानीमाथि लगानी थप्दै जानुपर्यो,” उनी भन्छन्, “नाफा पनि व्यवसाय विस्तारमै लगायौं।”
स्पेनी भाषामा ‘ला कासा’ को अर्थ घर हो। स्पेनी भाषामा नाम राख्नुको पनि छुट्टै कारण छैन। फरक नाम राख्ने सोच्दै थिए। नाम खोज्ने क्रममा स्पेनी भाषाको ‘ला कासा’ आकर्षक लागेको उनी सुनाउँछन्।
यो घरलाई राम्रो सोफा बनाउने फर्निचर कम्पनीका रूपमा चिनाउने उनको चाहना छ। “अब स्टील डेकोरेटिभ फर्निचर (सोफा) बनाउने सोचमा छौं,” उमर भन्छन्, “यो आरामदायी र नयाँ ढाँचाको सोफा छ।”
ला कासा सोफा उत्पादनमै केन्द्रित छ। धेरै उत्पादनमा छरिनुभन्दा एउटा राम्रो उत्पादनले बजारमा चिनिनुपर्छ भन्ने सोच राखेर सोफा बनाउन थालेको उमर बताउँछन्। यसलाई बिस्तारै ग्राहकले पनि मन पराउँदै गएको उनको अनुभव छ।
अहिले त नेपालमा बसोबास गरिरहेका विदेशीले पनि ला कासाका उत्पादन मन पराउन थालेका छन्। “हाम्रा उत्पादन कमजोर छैनन्, त्यसैले त नेपालीसँगै विदेशीले पनि मन पराएका छन्,” उनी भन्छन्।
ला कासामा ग्राहकको रुचि र स्थान हेरेर सोफा, कुर्सी र पलङ बन्छन्। त्यसमा पनि टिकाउ सामग्रीमा जोड दिएको उमर बताउँछन्। “केही नभए पनि १०-१५ वर्ष टिक्ने खालको सोफा चाहिन्छ, त्यो पनि नयाँ ढाँचाको,” उमर थप्छन्, “आयस्ता बलियो नहुँदा किनेको फर्निचर दुई/चार वर्षमै फेर्नुपर्ने नहोस् भन्ने सोच ग्राहकको हुन्छ, त्यसलाई ध्यानमा राख्छौं।”
सामाजिक वैभवका लागि पनि घरमा राम्रो फर्निचर राख्न थालिएको छ। विगतमा नेपाली घरमा फर्निचरको नाममा दराज, पलङ र सोफा मात्र हुन्थे। काठले बनेका फर्निचरमा कीरा नलागोस् र आकर्षक पनि देखियोस् भनेर रङ लगाइन्थ्यो। बिस्तारै फर्निचर आरामदायी पनि हुनुपर्ने मान्यताको विकास हुन थालेको छ। “अचेल आरामदायी र आकर्षक फर्निचरको माग छ,” उमर भन्छन्, “टिकाउ त हुनुपरिहाल्यो नि।”
त्यस्तै, रङमा पनि विविधता खोज्ने गरिएको छ। परम्परागत रूपमा तीन जना बस्न मिल्ने सोफाको ठाउँमा काउच र दुई जना बस्न मिल्ने सोफाको माग बढ्दै गएको छ। “घरमा पनि पाँचतारे होटलतिर हुने जस्ता सोफा तथा कुर्सी राख्ने चलन बढ्दै गएको छ,” उनी सुनाउँछन्, “सामाजिक सञ्जालको बढ्दो प्रयोगले घर पनि चिटिक्क र फर्निचर पनि आकर्षक बनाउनुपर्ने सोच बढ्दै गएको छ।”
उनका अनुसार अहिले डबल सिटर काउच र सिंगल सिटर आर्मचेयरको माग बढ्दै गएको छ। सोफाको स्तर अनुसार दुई जना बस्न मिल्ने सोफाको मूल्य २३ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ। सोफामा उपयोग हुने कपडा, फोम लगायतको गुणस्तरले मूल्यमा फरक पर्ने उनी बताउँछन्।
कतिपय ग्राहक होटेल तथा सिनेमामा भएका फर्निचरको तस्वीर देखाउँदै त्यस्तै बनाउन आग्रह गर्छन्। उनको अनुभवमा विदेशीले सजिलो खालका र सन्तुलित रङका फर्निचर मन पराउँछन् भने नेपाली भव्य देखिने खालको फर्निचरमा आकृष्ट हुन्छन्। ग्राहकको माग अनुसार नै फर्निचर तयार पार्ने गरेको अमर सुनाउँछन्।
ला कासाले फर्निचरमा उपयोग गर्ने काठ तथा फोम नेपालकै उत्पादन हो। बाहिरी कपडा र अन्य सामग्री भने भारतबाट आयात हुन्छ।
त्यस्तै, कामदार पनि नेपाली नै छन्। दुई दाजुभाइ पनि खटिन्छन् नै। पछिल्लो समय बढ्दै गएको आर्थिक संकटले भने कर्मचारी थप्न नसकिएको फारुक सुनाउँछन्। अहिले ला कासामा आठ जना कार्यरत छन्।
कुनै वेला उमर काठमाडौंमा नौला थिए। महीना नबित्दै घरभाडा तिर्नुपर्ने र पाइलैपिच्छे पैसा चाहिने आर्थिक सास्तीको अनुभव उनको मनमा नराम्ररी गढेको छ। त्यही भएर कामदारले पाउनुपर्ने पैसा वेलैमा दिन्छन्। “कामदारले बनाएका राम्रा उत्पादन नै कम्पनीका विश्वासका आधार हुन्,” उनी भन्छन्, “त्यसैले कामदारलाई विश्वासिलो बनाउनुपर्छ, ढुक्कसँग काम गर्ने बनाउनुपर्छ।”
पछिल्लो समय काठमाडौंमा दक्ष कामदार पाउन भने मुश्किल हुँदै गएको दाजुभाइको अनुभव छ। धेरैमा नेपालमा काम गर्नुभन्दा विदेश जाने मोह छ। काम सिकाउँदा पनि दक्ष हुने वेलासम्म विदेश जाने तयारी गरिसकेको हुन्छ। “नयाँ कामदारलाई फेरि त्यस्तै गरी शुरूदेखि नै सिकाउनुपर्ने हुन्छ। यो त कम्पनीका लागि घाटा हो,” उमर भन्छन्, “कामदारलाई पेसामा टिकाइराख्ने प्रावधान नहुँदा कम्पनीमा कामदारको समस्या हुने गरेको छ।”
ला कासामा कामदारलाई खानेबस्ने सुविधा पनि दिएका छन्। राम्रा कामदारले महीनाको ५० देखि ६० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।
उसो त व्यवसाय पनि राम्रै छ। व्यापार राम्रो हुँदा महीनाको २० लाखसम्म कारोबार हुने गरेको थियो। यत्रो कारोबार गर्न सकिएला भनेर उमरले सोचेकै थिएनन्। “स्नातक नसक्दै २२ वर्षकै उमेरमा मैले कम्पनी खोलें,” उमर भन्छन्, “यो नै मेरा लागि ठूलो साहस हो।”
छोराहरू पढ्दापढ्दै व्यवसायी बनेपछि बुवा अब्दुल्लाह पनि विदेशबाट घर फर्केका छन्। उनी विराटनगरमै ग्यारेज चलाइरहेका छन्। हृदयाघातको प्रहारपछि तंग्रिएका बुवालाई ग्यारेज दिन कटाउने मेलो बनेको छ।
उमर र फारुकलाई भने नयाँ क्षितिजमा पुग्नु छ। आर्थिक मन्दीको तुवाँलो फाटेर व्यवसाय राम्रो हुने आशामा छन्, दाजुभाइ। अहिले भने ला कासालाई जसरी पनि टिकाउनमै एकोहोरिएका छन्। “अहिले आर्थिक मन्दीले सबैतिर समस्या नै छ, यस्तो वेला टिकाउन सकियो भने भोलिका दिनमा राम्रो भइहाल्छ,” उमर आशावादी छन्, “सधैं यस्तै त रहँदैन नि!”