यादव र राईको पक्षमा नलागेका जसपा नेताहरूले बनाए छुट्टै मोर्चा
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र अशोक राईको पक्षमा नलागेको समूहले छुट्टै मोर्चा घोषणा गरेको छ।
यादव र राई दुवै पक्षसँग असन्तुष्ट समूहले प्राध्यापक महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेको हो। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा लावतीले आफूले नेतृत्व गरेको मोर्चामा विभिन्न दलमा रहेका पहिचानवादीलाई समेट्ने बताए।
उनले भने, “हामी दुवै पक्षमा नलागी विभिन्न दलमा रहेका पहिचानवादीलाई पहिचानको सवालमा एकीकृत गर्दै अगाडि लान्छौं।”
कोशी नामकरण विरुद्धको आन्दोलन, मुक्कुम्लुङ सम्बन्धी आन्दोलन लगायतलाई आफूहरूले साथ दिने लावतीले बताए। उनलाई जसपाको राजनीतिक समिति सदस्य खगेन्द्र माखिम, केन्द्रीय सदस्य सरु सिंघक लगायतले साथ दिएका छन्। मोर्चा घोषणा कार्यक्रममा प्रेम यक्तेन, दलमर्दन कामी, भवानी बराल लगायत उपस्थित थिए।
यसअघि जसपा नेपाललाई विभाजन गरेर राईले जसपा गठन गरेका थिए। प्राध्यापक लावती लगायत नेताहरूले दुवैतिर नलागेर नयाँ मोर्चा बनाएका हुन्।