कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी हुन्।
सर्वोच्च अदालतमा बिहीबार नै रिट दायर भएको कार्कीले बताइन्। “रिट दायर भयो, शुक्रबार पेशी तोकिएको छ,” जोशीले भनिन्।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको केदार कार्कीले जिकिर गरेका छन्। उनी पनि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिनका लागि परमादेश माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र)ले उनलाई दिएको समर्थन गत चैत २६ मा फिर्ता लिएको थियो। सरकारमा सम्मिलित दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसका आधारमा माओवादीको समर्थनमा एमाले संसदीय दलका नेता समेत रहेका हिक्मतकुमार कार्कीले बिहीबार बिहान मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई समर्थन गर्ने सांसदको सनाखतपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्।