जलेश्वरका मेयर र उपमेयर विरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको जलेश्वर नगरपालिका मेयर र उपमेयर सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। जलेश्वर-१ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा मेयर सुरेशसाह सोनार र उपमेयर रौशन खातुन तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल सहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगले जलेश्वर-१ का वडाध्यक्ष अनिलकुमार झा, नगरपालिकाका अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनीयर पवनकुमार झा, इन्जिनीयर राकेशकुमार चौधरी, सबइन्जिनीयर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई विपक्षी बनाएको छ।
ढलानमा भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। यस योजनामा कामभन्दा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी भएको पाइएको हो।
आर्थिक वर्ष २०७९/८० मा सञ्चालित जलेश्वर-१ को बरुण सर पोखरी नजिक रहेको बजार क्षेत्रमा पीपीसी ढलान गर्दा बढी रकम भुक्तानी गरिएको अख्तियारले जनाएको छ।