गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी सर्यो
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति र विश्वासको मत विरुद्ध परेको मुद्दाको पेशी सरेको छ।
गण्डकी प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा मुख्यमन्त्री अधिकारीको नियुक्ति तथा उनले पाएको विश्वासको मत संविधान विपरीत भएको भन्दै खारेजीको माग गरिएको थियो।
यस रिटमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेशी तोकिएको थियो। तर बेन्च नबसेपछि पेशी सारिएको सर्वोच्च अदालतले जनाएको छ। यो मुद्दामा अर्को पेशी शुक्रबार तोकिएको छ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ मा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनको पक्षमा ३० मत तथा विपक्षमा २७ मत परेको थियो भने दुई सांसदले मत दिएका थिएनन्।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ मत चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० मतलाई नै बहुमत भनेर विश्वासको मत पाएको घोषणा गरेका थिए। त्यसका लागि उनले सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई आधार मानेका थिए।
त्यसका विरुद्ध पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल र मुख्यमन्त्री खगराज अधिकारीलाई विपक्षी बनाएका छन्।