कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।
एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले ५२ सांसदको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनी एमाले र नेकपा (माओवादी केन्द्र)का नेता सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
कार्कीले बुझाएको निवेदनमा एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ। उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी गरेका हुन्।
यसअघि कांग्रेसका सांसद केदार कार्की पनि यही उपधारा बमोजिम मुख्यमन्त्री बनेका थिए। उनलाई एमालेका सांसदले समर्थन जनाएका थिए।
सरकारमा सहभागी माओवादीले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले बुधबार नयाँ सरकार गठनको प्रक्रिया थालेका थिए। मुख्यमन्त्रीका लागि दाबी गर्न उनले बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन्।