कोरोना विरुद्धको खोप फिर्ता लिंदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले कोभिड-१९ विरुद्धको खोप फिर्ता लिने भएको छ।
एक विज्ञप्ति जारी गर्दै एस्ट्राजेनेकाले कोभिड-१९ का विभिन्न भेरियन्ट लक्ष्यित नयाँ नयाँ खोप आइरहेको र यसले आफ्नो खोपको मागमा कमी आएकाले खोप फिर्ताको ‘व्यावसायिक निर्णय’ लिइएको बताएको छ।
एस्ट्राजेनेकाको खोप प्रभावकारी नै ठहरिए पनि यसमा दुर्लभ तर गम्भीर थ्रोम्बोसिस विथ थ्रोम्बोसाइटोपिनिया (टीटीएस) सिन्ड्रोम हुन सक्ने जोखिम थियो। टीटीएस भनेको रगत जम्ने र रगतमा प्लेटलेट्स कम हुने समस्या हो। चिकित्सकहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अंग मुटु र मस्तिष्कमा असर गर्छ। यसका कारण हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ। टीटीएस सिन्ड्रोम प्रति एक लाख मानिसमा दुईदेखि तीन जनामा हुन सक्ने देखिएको छ।
तथापि खोप फिर्ता लिने निर्णय हालैको अदालती प्रक्रिया वा यसले टीटीएस हुन सक्ने स्वीकारोक्तिसँग सम्बन्धित नरहेको पनि एस्ट्राजेनेकाले बताएको छ। एस्ट्राजेनेकाका अनुसार दुई घटना पूर्णतः संयोग हुन्।
‘संसारभरका सरकारहरूले हाम्रा प्रयत्नलाई मान्यता दिएका छन् र महामारी अन्त्य गर्न महत्त्वपूर्ण तत्त्वका रूपमा व्यापक स्वीकार गरिएको छ। यो अध्यायलाई समापन गरी कोभिड-१९ महामारी अन्त्य गर्न हामी अब नियामकहरू र हाम्रा साझेदारहरूसँग मिलेर उल्लेखनीय योगदान पुर्याउन आगामी बाटो प्रस्ट पार्न लाग्नेछौं,’ एस्ट्राजेनेकाले भनेको छ।
गत मार्चमा एस्ट्राजेनेकाले स्वैच्छिक रूपमा यूरोपियन युनियनको बजारीकरण अधिकार त्यागेको थियो। अर्थात्, यूरोपियन युनियनका सदस्य राष्ट्रहरूमा एस्ट्राजेनेकाले खोप बेच्ने अनुमति त्यागेको थियो। गत मंगलबार मात्रै यूरोपियन मेडिसिन्स एजेन्सीले एक सूचना जारी गर्दै एस्ट्राजेनेकाको खोप प्रयोगका लागि अनुमति नरहेको जनाएको छ।
सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरूमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो। त्यसपछि त्यसै वर्ष आयरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, आइसल्यान्ड, कंगो र बुल्गेरियामा पनि यसमा प्रतिबन्ध लगाइएको थियो। रगत जम्ने समस्या देखिएपछि जर्मनी, फ्रान्स, इटाली र स्पेन तथा क्यानडा, स्वीडेन, लातभिया, स्लोभेनिया, अस्ट्रेलिया, इन्डोनेशिया र मलेशियाले पनि यो खोपको प्रयोगमा रोक लगाएका थिए। सन् २०२३ को मार्चदेखि अस्ट्रेलियामा पनि यो खोप प्रयोगका लागि उपलब्ध छैन।
‘खोप प्रयोगको पहिलो वर्षमै ६५ लाख जीवन जोगिएको थियो र तीन अर्बभन्दा बढी डोज खोप विश्वभरि आपूर्ति गरिएको थियो,’ एस्ट्राजेनेकाको विज्ञप्तिमा भनिएको छ।
एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप भारतमा उत्पादन गरी दक्षिणएशियाली क्षेत्रमा वितरण गर्न सेरम इन्स्टिच्यूट अफ इन्डियाले सम्झौता गरेको थियो। सो खोपलाई भारत र नेपालमा कोभिशिल्डको नामले वितरण गरिएको थियो। यसैले एस्ट्राजेनेका या कोभिशिल्ड खोपको असरको प्रत्यक्ष सम्बन्ध नेपालसँग पनि जोडिन्छ।
(बीबीसी, गार्डियन, टेलिग्राफ लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)
यो पनि पढ्नुहोस् : १३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार