कोशीमा नयाँ सरकार गठनको आह्वान
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
बुधबार राति उनले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ।
गत चैत २६ गते कोशी प्रदेश सभाका ५२ जना सदस्यहरूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको साथै यसको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता नभएकाले सरकार गठनका लागि आह्वान गरिएको बताइएको छ।
‘... माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्रदेश प्रमुख खापुङलाई भेटेर सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए।उनीहरूले समर्थन फिर्ता लिएको ३० दिन बितिसक्दा पनि मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिएको र यसले सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गरेका थिए।