नेपालीको औसत आयु बढ्नुको अर्थ
तागतिलो खाना, बिरामी हुँदा ओखतीमूलोको प्रबन्ध तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा आएको सुधारले धेरै नेपाली धेरै वर्ष बाँच्न थालेका छन्।
नेपालीको औसत आयु ७१ वर्ष नाघेको तथ्यांक वैशाख २३ मा सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को जनसांख्यिक सूचक प्रतिवेदनमा सरदरमा नेपालीको आयु ७१.३ वर्ष पुगेको उल्लेख छ।
यसमध्ये पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष छ। प्रतिवेदनले पुरुषको तुलनामा महिलाको सरदर आयु झन्डै पाँच वर्ष बढी देखाएको छ।
छोटो अवधिमै नेपालले औसत आयु बढाउन उल्लेख्य सुधार गरेको तथ्यांकले देखाउँछ। तीन दशकअघि २०४८ सालमा नेपालीको औसत आयु ५४.३ वर्ष मात्रै थियो। यसले तीन दशकमा नेपालीको सरदर आयु १७ वर्षले बढेको देखाउँछ।
अझै त्यसभन्दा अघि जाने हो भने त नेपालले औसत आयुको सुधारमा असामान्य नै फड्को मारेको देखिन्छ। ६ दशकअघि २०१८ सालमा नेपालीको औसत आयु २८ वर्ष मात्रै थियो।
कसरी बढ्यो आयु?
कुनै व्यक्तिको सरदरमा बाँच्ने अवधिलाई औसत आयु मानिन्छ। के त्यसो भए नेपालीहरू बढी बाँच्न थालेका हुन्? त्रिभुवन विश्वविद्यालयका जनसंख्या अध्ययन विभागका प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ भन्छन्, “यसले हाम्रो पुस्ताभन्दा पनि नयाँ जन्मिने बच्चा सरदरमा कति वर्ष बाँच्छन् भन्ने बुझाउँछ।”
प्राध्यापक गुरुङका अनुसार जन्मदरभन्दा मृत्युदरको अनुपात घटेको अवस्थामा औसत आयु बढ्छ। अर्थात् जीवित जन्मिएका बालबालिकादेखि वृद्धवृद्धा उमेर समूहको मृत्युदर घट्यो भने औसत आयुमा वृद्धि हुन्छ। पछिल्ला दशकमा नेपालले मृत्युदर घटाउनमा ठूलो सुधार गरेको छ। जस्तै- तीन दशकअघि २०४८ सालमा जीवित जन्मिएका एक हजार शिशुमध्ये एक वर्ष पनि नपुग्दै सरदरमा ९७ जनाको ज्यान जान्थ्यो। एक वर्ष पनि नपुग्दै मर्ने शिशुको संख्या अहिले १७ मा ओर्लिएको छ।
त्यस्तै, २०५८ सालमा एकदेखि पाँच वर्षमुनिका एक हजार बालबालिकामध्ये एक वर्षमा सरदर २८.६ जनाको ज्यान जाने गरेकोमा अहिले त्यो संख्या ६.१ मा झरेको छ। यसले मरणको दर कम भएको बुझाउँछ। मरणको दर कम हुने बित्तिकै सरदरमा आयु बढेको तथ्यांक निस्किन्छ। खासगरी बालबालिकामा खोप र बिरामी पर्दा उपचारको प्रबन्धले मृत्युदर घटाएको छ।
पछिल्लो जनगणनाको प्रतिवेदन अनुसार नेपालीको कोरा मृत्युदर ६.८१ प्रतिशतमा ओर्लिएको छ। २०४८ सालमा कोरा मृत्युदर १३.३ थियो। कुनै निश्चित ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिको संख्यालाई कोरा मृत्युदर मानिन्छ।
यसले बितेका तीन दशकमा मृत्युदर आधा घटेको देखाउँछ। “शिशु, बाल र मातृ मृत्युदर घटेकाले नेपालीको औसत आयु बढ्न सघाएको छ,” जनसंख्याविद् गुरुङ भन्छन्, “त्यति मात्रै होइन, यो सामाजिक आर्थिक, शैक्षिक स्थितिमा आएको सुधारको नतीजा पनि हो।”
पछिल्ला दशकमा जनस्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो सुधार भएको छ। त्यसलाई तथ्यांकले पुष्टि गर्छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रकाशन गरेको नेपालः रीडिङ्स इन ह्युमन डेभलपमेन्ट पुस्तकले २०२८ सालमा नेपालमा १०० जनामध्ये १४ जना मात्र साक्षर रहेको उल्लेख थियो। २०४८ सालमा आइपुग्दा साक्षरता दर ४० प्रतिशत पुग्यो। अहिले साक्षरता दर ७६ प्रतिशत नाघेको छ।
२०४८ सालमा देशका प्राथमिक विद्यालय जानुपर्ने उमेरका १०० जना बालबालिकामध्ये ७६ जना मात्रै विद्यालय पुग्थे, अहिले झन्डै शतप्रतिशत बालबालिका प्राथमिक विद्यालय पुग्छन्। यसले शिक्षित हुनेको संख्या बढेको बुझाउँछ।
शिक्षित हुनु भनेको पढ्नलेख्न जान्नु मात्रै होइन, आम्दानी गर्ने अवसर बढ्नु, सोचाइ फराकिलो हुनु र जीवनशैलीमा सुधार हुनु पनि हो। शिक्षितको संख्या बढेसँगै स्वास्थ्य लगायत पक्षमा चेतनाको स्तर बढ्ने र आम्दानीको अवसर बढ्ने भएकाले जीवनशैलीमा सुधार पनि आउँछ। जसले गर्दा मरणको दर घटाउँछ।
त्यसभन्दा पनि महत्त्वपूर्ण पोषण र स्वास्थ्य क्षेत्रमा भएको सुधार हो। पछिल्ला दशकमा पोषिलो र तागतिलो खान पाउने नेपालीको संख्या बढेको छ। तागतिलो खानेकुराले रोगसँग जुध्न सघाउँछ। सँगसँगै रोग लाग्दा अस्पतालमा धेरै नेपाली पुग्न पाएका छन्। यथोचित औषधोपचारको सुविधाले मरण घटाएको छ।
संक्रामक रोग न्यूनीकरणमा पाएको सफलता पनि यसैसँग जोडिन्छ। तीन दशकअघिसम्म पनि झाडापखाला, क्षयरोग, निमोनिया जस्ता संक्रामक रोगले धेरै नेपालीको ज्यान लिन्थ्यो। अहिले यस्ता रोगबाट मर्नेको संख्या ह्वात्तै घटेको छ। बरु पछिल्ला वर्षमा नेपालमा मृत्युका प्रमुख कारकमा मुटु, पक्षाघात, श्वासप्रश्वास जस्ता नसर्ने रोगहरू देखा परेका छन्।
जन्मदर घट्नु पनि औसत आयु बढ्नुको कारण मानिन्छ। तीन दशकअघि २०४८ सालमा एउटा महिलाले आफ्नो जीवनकालमा ५.३ जना बच्चा जन्माउँथे। यो घटेर अहिले १.९४ मा ओर्लिएको छ। स्वास्थ्यमा आएकोे सुधारले मर्ने सम्भावना कम बनाएपछि थोरै सन्तान जन्माउने प्रवृत्ति बढेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या विभागका प्राध्यापक गुरुङ बाँच्ने सम्भावना बढ्दा जन्मदर स्वतः घटेर जाने बताउँछन्। “उदाहरणका लागि पहिले १० जना जन्मिँदा पाँच जना मात्रै बाँचेका हुन्थे, अहिले दुई जना जन्मिँदा दुवै जना नै बाँच्छन्। यसले गर्दा एकातिर जन्मदर कम भयो, अर्कातिर औसत आयु बढायो,” गुरुङ भन्छन्।
मरण कम हुनुको आर्थिक पाटो पनि छ। पछिल्ला दशकमा गरीबी पनि घटिरहेको छ। तीन दशकअघि दुईमध्ये एक नेपाली गरीबीको रेखामुनि थिए। अर्थात् उनीहरूले शरीरलाई चाहिने खुराक पर्याप्त खान पाउँदैनथे। अहिले पाँचमध्ये एक नेपाली मात्रै गरीबीको रेखामुनि छन्।
पछिल्ला दशकमा देशभित्रको सरदर आम्दानीमा सामान्य मात्रै सुधार भए पनि विदेशको धनले धेरै नेपालीको घरमा सुबिस्ता, भान्छामा पुगिसरी र अनुहारमा उज्यालो ल्याएको छ। वैदेशिक रोजगारीका लागि मात्रै कम्तीमा २२ लाख नेपाली विदेशमा रहेको पछिल्लो जनगणनाको तथ्यांक छ। विदेशमा रहेका नेपालीको संख्या झन्डै ४० लाख हाराहारी रहेको अनुमान गरिंदै आएको छ।
विदेशमा काम गरेर नेपालीले हरेक महीना एक खर्ब रुपैयाँभन्दा धेरै रकम पठाउँछन्। उनीहरूको परिवारको हातमा धन परेपछि खानपान, रहनसहनमा सुधार आएको छ। रोग लाग्दा अस्पतालको अनुहार देख्न पाएका छन्।
त्यसभन्दा पनि महत्त्वपूर्ण शिक्षाका लागि गर्ने खर्च र प्रतिबद्धता बढेको छ। “विदेश पुगेर फर्किंदा सुझबुझ बढेको हुन्छ, पढाइको महत्त्व थाहा पाउँछन्,” जनसंख्याविद् गुरुङ भन्छन्, “छोराछोरीको पढाइलेखाइमा खर्च गर्छन्, राम्रोसँग पढाउन खोज्छन्। यसले परिवारको धेरै कुरामा सुधार गर्छ।”
औसत आयु बढेसँगै पछिल्ला दशकमा दीर्घजीवी नेपालीको संख्यामा समेत वृद्धि भएको छ। २०५८ सालमा ७५ वर्ष नाघेका नागरिकको संख्या दुई लाख ९५ हजार ४५९ अर्थात् कुल जनसंख्याको ०.९६ प्रतिशत मात्रै थियो। २०७८ सालमा यो संख्या बढेर ६ लाख ४० हजार अर्थात् कुल जनसंख्याको २.१९ प्रतिशत पुगेको छ। “पहिले पहिले कोही थोरै मान्छे धेरै वर्ष बाँच्थे, अहिले धेरै मान्छे धेरै वर्ष बाँच्न थालेका छन्,” राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी भन्छन्।
अस्वाभाविक कि स्वाभाविक?
जनगणनाको पछिल्लो प्रतिवेदनले धेरैलाई आश्चर्यमा पारेको तथ्यांक चाहिं कर्णालीका बासिन्दाको सरदर आयु राष्ट्रिय औसतभन्दा पनि बढी हुनु हो। प्रतिवेदनका अनुसार कर्णालीवासीको सरदर आयु ७२.५ वर्ष छ, जुन देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो।
सर्वसाधारण र सरोकारवालाले यो तथ्यांकको विश्वसनीयतामा शंका जनाइरहेका छन्। खासगरी आर्थिक-सामाजिक रूपमा पछि परेको, स्वास्थ्यका पूर्वाधारको सुविधा कमजोर भएको कर्णालीको औसत आयु बढी भएको तथ्यांक कसरी निस्कियो?
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. रेग्मीका अनुसार औसत आयु निकाल्दा शिशु मृत्युदर सहित उमेर अनुसारको मृत्युको संख्या र उक्त उमेरमा जनगणनाको समयमा जीवित रहेका व्यक्तिको जनसंख्या हेरिन्छ। यस पटकको जनगणना कोभिड–१९ को असर रहेकै समयमा भएको र त्यो वेला भारतमा काम गर्ने कर्णालीवासी अन्य प्रदेशको तुलनामा बढी अनुपातमा घरमै रहेको हुन सक्ने भएकाले सरदर आयु बढी निस्किएको हुन सक्ने उनी बताउँछन्। “यसले गर्दा कर्णाली प्रदेशमा उमेर अनुसारको मृत्युदर कम हुन गई जन्मँदाको उमेरको सरदर आयु बढी निस्कनु स्वभावतः ठीकै हो,” रेग्मी भन्छन्।
यसका साथै मृत्यु सम्बन्धी विवरण कर्णाली प्रदेशका उत्तरदाताले अन्य प्रदेशको भन्दा थोरै बताउँदा पनि मृत्युको गणना कम भई सरदर आयु बढी निस्केको हुन सक्ने उनी बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका प्राध्यापक गुरुङ पनि कर्णालीको सरदर आयु अन्यत्रभन्दा बढी हुनु अस्वाभाविक जस्तो देखिएको बताउँछन्। उनी भन्छन्, “पछिल्लो समयमा कर्णालीले धेरै क्षेत्रमा उल्लेख्य सुधार गरिरहेको छ। यस्तो तथ्यांक किन आयो भन्ने चाहिं अलि खोतलेर नै हेर्नुपर्छ।”
आश्चर्यजनक रूपमा बाल र शिशु मृत्युदर पनि अन्य प्रदेशको तुलनामा कर्णालीमा न्यून छ। सरदरमा नेपालमा प्रतिहजार जीवित जन्मिएका शिशु (एक वर्षमुनिका) मध्ये १७ जनाको मरण हुने गरेको भए पनि कर्णालीमा १४ जना मात्रै मर्ने गरेको तथ्यांकले देखाउँछ। यसरी मर्नेको संख्या मधेशमा सबैभन्दा धेरै २१ जना छ। बाल मृत्युदर पनि कर्णालीमा प्रतिहजारमा ६ मात्रै छ। जबकि देशको औसत नै ६.१ छ।
पछिल्लो प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको औसत आयु पनि सरदरमा पाँच वर्ष बढी भएको देखिएकोमा कतिपयले आश्चर्य जनाइरहेका छन्। नेपालमा २०५८ सालको राष्ट्रिय जनगणनापछि पुरुषको भन्दा महिलाको औसत आयु बढ्दै जान थालेको हो।
त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका प्राध्यापक गुरुङ संसारभरि नै पुरुषको तुलनामा महिलाको औसत आयु बढी हुने गरेको बताउँछन्। “जन्मिँदा पुरुष बढी जन्मिने तर बालखैमा मर्ने क्रम पुरुषको बढी हुन्छ,” उनी भन्छन्, “त्यसैगरी खानपान, कामकाज लगायतका कारणले पुरुषको मृत्युदर धेरै हुने भएकाले पनि महिलाको सरदर आयु बढी हुन पुग्छ।”
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. रेग्मी पनि जैविक कारणले नै संसारभरि पुरुषभन्दा महिलाको औसत आयु बढी हुने बताउँछन्। जैविक कारण, पेशा, कामकाज, खानपिन, दुर्घटनाको जोखिम आदि कारणले गर्दा महिलाको तुलनामा पुरुष कम बाँच्ने गरेको अध्ययनहरूले देखाएको उनी बताउँछन्।
हानि के छ?
सीधा तरीकाले हेर्दा नेपालीको औसत आयु बढ्नु निकै सुखद कुरा हो। तर यसको भार पनि सँगसँगै जोडिएर आउँछ। औसत आयु र दीर्घजीवीको संख्या बढ्नु भनेको कामकाज गर्न सक्ने उमेरको जनसंख्या कम भएर अरूसँग निर्भर हुनुपर्नेको अनुपात बढ्नु पनि हो। अहिले काम गर्न सक्ने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको संख्या कुल जनसंख्याको ६५ प्रतिशत छ। ६५ वर्षमाथिका बुढ्यौली लागेका मानिसको संख्या कुल जनसंख्याको सात प्रतिशत छ।
यसले नेपाली समाज बुढ्यौलीतिर प्रवेश गरेको देखाउने त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका प्राध्यापक गुरुङ बताउँछन्। “काम गर्न नसक्ने उमेरका जनसंख्या बढ्दा राज्य र परिवारको भार र दायित्व पनि बढ्छ। त्यसैले सोही अनुकूल सरकारले नीति र योजना बनाउनुपर्छ,” उनी भन्छन्।
औसत आयु बढेर ज्येष्ठ नागरिकको संख्या बढ्दा बीमा व्यवसाय, वृद्धाश्रम र स्वास्थ्य क्षेत्रका लागि थप अवसर सिर्जना हुन्छन्। तर उत्पादनका हिसाबले आश्रित जनसंख्या वृद्धि हुँदा सरकार र परिवारको निवृत्तिभरण, बुढ्यौलीमा लाग्ने रोगको उपचारमा हुने खर्च बढ्छ। श्रम गर्ने सामर्थ्य कमजोर भएको समूहको संख्या धेरै भएर काम गर्ने क्षमताको उमेर समूहको जनसंख्या घट्दा देशको उत्पादन र उत्पादकत्वमा पनि असर पुग्छ।