सुनकोशी-मरिण डाइभर्सन सुरुङ ‘ब्रेक थ्रू’
सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार वारपार (ब्रेक थ्रू) गरिएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-७ स्थित कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटर खनेसँगै सुरुङ वारपार भएको हो। २०७९ असोज २८ गतेदेखि सुरुङ निर्माण शुरू गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर सुरुङ वारपार भएको घोषणा गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री दाहालले मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने बताए। आयोजनाको निर्माणकार्यका लागि सरकारका तर्फबाट सहजीकरण गर्ने उनको भनाइ थियो।
तराई-मधेशका विभिन्न जिल्लामा बाह्रै महीना सिंचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरुङ निर्माण गरिएको हो। यो सुरुङ १३.३ किलोमिटर लामो छ।
लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ‘ब्रेक थ्रू’ गर्न सफल भएको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले बताए। खन्न शुरू भएको १९ महीनामा सुरुङ वारवार भएको छ।
एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजना प्रमुख बरालले बताए। यो बीचमा ६ पटक अवरोध भएको उनले बताए। सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो।
चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ। यो कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माण गरेको थियो। सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का पाएको प्रमुख बरालले बताए।
सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरिएको छ। भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी-मरिणमा पनि टीबीएम मशिन प्रयोग गरिएको हो।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। सुरुङ वारपार भए पनि बाँध निर्माणको काम भने सुस्त छ।
विद्युत्गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ। २०८४ असोजमा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुरुङ, सिचाइ र जलविद्युत् गरी आयोजनाको लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।