‘मृत बजार’ मा जीवन्त धार्मिक सद्भाव
तराईका सीमावर्ती जिल्लाहरूमा हिन्दू-मुस्लिम समुदायबीच विवादका खबर सुनिरहेको मेरा निम्ति दाङको कोइलाबासमा देखेको धार्मिक सद्भाव र सामुदायिक सहभाव सुखद आश्चर्य थियो।
गत चैतमा ‘आरएसएसको शैलीमा महिलालाई प्रशिक्षण दिंदै राष्ट्रसेविका नेपाल’ शीर्षकमा एउटा रिपोर्ट लेखेकी थिएँ। धर्मको राजनीति गर्दै आएका भारतका हिन्दूत्ववादी संगठनहरूको सिको गर्दै नेपालमा क्रियाशील राजनीतिक हिन्दूत्ववादी संगठनले महिलाहरूलाई प्रशिक्षण दिन लागेकोबारे समाचार थियो त्यो।
रिपोर्टिङका क्रममा केही व्यक्तिसँग कुराकानी भएको थियो। एक धार्मिक संगठनका व्यक्तिले अन्य धर्मप्रति आस्था राख्नेहरू त मान्छे नै होइनन् भन्ने आशयको अभिव्यक्ति दिएका थिए।
अर्का एक युवा कट्टरवादी रहेछन्। कुराकानीको शुरूआतमै उनले मेरो धर्म सोधे। संवादका क्रममा उनले आफ्नाे धर्म बाहेक अन्य धर्मप्रति आस्था राख्नेहरूसँग बोल्न समेत नरुचाउने बताए। उनी यसरी प्रस्तुत भएका थिए कि लाग्थ्यो, यो संसार बाँकी धर्मावलम्बीका लागि हुँदै होइन। आफूले आस्था राख्ने धर्मका हरेक कुरा राम्रो, अरूको सबै खत्तम!
कतै मेरा कुरा चित्त नबुझेर उनी आक्रोशित होलान् कि भनेर निकै होशियार भएर बोलेकी थिएँ।
चैत २ गते समाचार छापिएपछि तिनै धार्मिक संगठनका व्यक्तिले पटक पटक फोन गरे। समाचार किन लेखेको भनेर रिसाए।
मेरो आशय कसैलाई ठेस पुर्याउने थिएन। पत्रकारिताको धर्म अनुसार मैले त तथ्य लेखेकी थिएँ।
त्यही समयतिर तराईमा हिन्दू र मुस्लिमबीच विवाद र झडप भएका खबरहरू आइरहेका थिए। सामाजिक सञ्जाल मार्फत एक समुदायले अर्कोप्रति तिक्तता पोखेको पनि देखिएको थियो।
त्यसको एक महीनापछि, वैशाख १ गते काठमाडौंबाट रिपोर्टिङका लागि पश्चिम तराईको यात्रामा निस्किएँ। २ गते बिहान कपिलवस्तु पुगें। कपिलवस्तुको रिपोर्टिङ सकेर ४ गते दाङको कोइलाबासतिर हिंडें।
जंगलबीचको सडक निकै अप्ठेरो रहेछ। साँघुरो, घुमाउरो र उकालो। रिंगटा चलेर बान्ता होला जस्तो। करीब साढे ३ घण्टाको सकसपूर्ण यात्रापछि कोइलाबास पुगियो।
पश्चिम तराईमा मेरो पहिलो यात्रा भएकाले त्यहाँको परिवेश नयाँ थियो। अर्कै संसारमा पुगे झैं भयो। सुनसान र उराठलाग्दो। शायद काठमाडौंको कोलाहलमा बस्ने बानी भएर यस्तो लागेको हुन सक्छ।
कोइलाबास पुगेपछि सबैभन्दा पहिले मानव बेचबिखनमा परेकाहरूको उद्धार गर्ने गैरसरकारी संस्था शान्ति पुन:स्थापना गृहकी प्रमुख सीमा जिसीसँग भेटें। उनकै कार्यालयमा झोला राखेर गढवा गाउँपालिका वडा नम्बर ८ को कार्यालय पुगें। आवश्यक जानकारी लिएर त्यहींका कार्यालय सहयोगीको समन्वयबाट समाचार स्रोतहरूसँग सम्पर्क गरें।
त्यहाँको रिपोर्टिङ सकेर तिनै कार्यालय सहयोगी र म फर्कंदै गर्दा बाटोमा भेटिए, अब्दुल वाहिद। पुराना घरहरू हेर्दै बात मार्दै सुस्तरी हिंड्न थाल्यौं। कोइलाबासको पुरानो बजार क्षेत्र रहेछ त्यो। कुनै वेला देशकै ठूलो नाकाका रूपमा परिचित कोइलाबास नुनदेखि सुन पाइने गुलजार बजार थियो। अहिले उजाड, सुनसान र मृतप्राय: छ। कति घरहरूमा मान्छे बस्न छाडेका रहेछन्। इँटा झरेर असरल्ल थिए।
पुरानो बजार लाग्ने घरहरू हेर्दै आउँदा विसं १८८५ मा निर्मित रामजानकी मन्दिर देखियो। अब्दुलले मन्दिरमा रोकिन लगाएर त्यसबारे निकै चासोका साथ सुनाए। उनले त्यस ऐतिहासिक मन्दिरबारे लेख्न अनुरोध गरे।
मैले मन्दिरको फोटो खिचें। त्यतिन्जेल मन्दिरका पुजारी नान्हकप्रसाद शुक्ला पनि आइसकेका थिए। उनले मन्दिर स्थापनाबारे सुनाउन थाले। तर मन्दिरको महिमा गाउन पुजारीभन्दा बढ्ता उत्साहित थिए अब्दुल। प्राचीन मन्दिर भएकाले टाढा टाढाबाट धार्मिक पर्यटक आउँदा रहेछन्।
“नवरात्रिमा निकै रमाइलो सांस्कृतिक कार्यक्रम हुन्छ, हामी पनि हेर्न आउँछौं,” अब्दुलले दंग पर्दै सुनाए।
सांस्कृतिक कार्यक्रममा मुस्लिम समुदायका मानिसहरू आउने र निकै रमाइलो गर्ने गरेको पुजारीका कान्छा छोराले सुनाए। उनी पनि मन्दिरमै पुजारी भएर बसेका रहेछन्।
दशैंमा दुर्गाको मूर्ति बनाउन चन्दा उठाउने चलन रहेछ। त्यस क्रममा मुस्लिमहरूले पनि चन्दा दिने गरेको पुजारीले बताए।
पुजारी र अब्दुलले होमा हो मिलाउँदै मन्दिरबारे सुनाए। मैले त्यस ठाउँबारे थप चासो राख्दै यहाँ अन्य पुराना संरचना के छन् भनेर सोधें।
“यहाँ नजिकै मस्जिद छ, त्यो पनि निकै पुरानो हो,” मेरो प्रश्न नसकिंदै मन्दिरका पुजारीले भने। मलाई मस्जिद जान पुजारी र उनका छोरा निकै आग्रह गरिरहेका थिए। तर म त्यही दिन फर्किनुपर्ने भएकाले जान नभ्याउने जानकारी दिंदै निस्किएँ।
केही घण्टाअघिसम्म उराठलाग्दो र चकमन्न लागेको त्यो ठाउँ उल्लासपूर्ण लाग्न थाल्यो। धार्मिक सद्भाव र सामाजिक एकताले सिंगारिएको रहेछ कोइलाबास।
त्यहाँबाट निस्किएपछि पछिल्लो समय हिन्दू र मुस्लिमबीच चलेको साम्प्रदायिक द्वन्द्व सम्झिएँ। एक दिनअघि कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायका केही व्यक्तिसँग मेरो भेट भएको थियो। कुराकानीका क्रममा एकअर्को समुदायप्रति आलोचना र आक्रोश देखेर आएकी थिएँ। मानिसको बोली र व्यवहारले ऊ कुन समुदायको हो भनेर परिचय दिन्थ्यो।
कोइलाबासमा भने त्यसको ठीक विपरीत देखियो। आउँदा निर्जन ठाउँ देखेर बस्न मन थिएन, तर कोइलाबासीहरूको सद्भाव देखेर मलाई अझै केही दिन बसेर फरक समुदायबीचको सद्भाव र उनीहरूको रहनसहन हेर्न मन लागिरहेको थियो। उनीहरूको आत्मीयतामा मिसिन मन लागेको थियो।
मन्दिरबाट लगभग चार/पाँच मिटर अगाडि चार जना मानिस बसिरहेका थिए। मलाई एकैछिन उनीहरूसँग कुरा मर्न मन लाग्यो। सामान्य परिचयपछि त्यहाँका बारेमा जिज्ञासा राखें। मलाई कौतूहल थियो- अब्दुल र पुजारीबीचको मात्र सद्भावपूर्ण व्यवहार हो कि अरूको पनि?
उनीहरूको प्रतिक्रिया बुझ्न मन्दिरतिर औंल्याउँदै भनें, “यो मन्दिर त निकै पुरानो रहेछ है!”
मेरो कुरा भुइँमा खस्न नपाउँदै चार जनामध्येका अब्दुल कुद्दुस सिद्दीकीले अब्दुल वाहिदकै कुरा दोहोर्याए। मन्दिर निकै पुरानो भएको र त्यो कोइलाबासको एक सम्पत्ति रहेको उनले बताए। अर्को समुदायको धार्मिक आस्थाको केन्द्रप्रति उनको अपनत्व देख्दा चकित परें। त्यो सद्भाव, त्यो भ्रातृत्व पत्याउनै गाह्रो भयो।
गढवा गाउँपालिका-८, कोइलाबासका वडाध्यक्ष अब्दुल खालिक सिद्दीकीका अनुसार कोइलाबासको जनसंख्या एक हजार १०० हाराहारी छ। त्यसमध्ये हिन्दू ६६० र मुस्लिम ४४० जना छन्। यी दुई समुदाय एक परिवार भएर बसेका छन्। त्यहाँ दुई समुदायबीच अन्तरधार्मिक विवाह पनि भएको रहेछ। वडाध्यक्ष अब्दुल खालिक सिद्दीकीकी श्रीमती हिन्दू हुन्। उनी सबैको धर्म, संस्कृति र परम्पराको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छन्।
यहाँ एकअर्काको धार्मिक अस्तित्व र आचारको सम्मान गर्ने अभ्यास चलिआएको छ। रमजान पर्वको वेला रामजानकी मन्दिरमा भजन बन्द हुन्छ र मुस्लिमहरूले शान्त वातावरणमा नमाज पढ्न पाउँछन्। तर भजन बन्द गरिदिन कहिल्यै भन्नु पर्दैन, मन्दिर व्यवस्थापन आफैंले बन्द गरिदिन्छ।
मैले एक महीनाअघि आफूले गरेको रिपोर्टिङ सम्झिएँ। हिन्दूहरूले आफ्नो धर्ममा मुस्लिमहरूले प्रहार गर्न खोजेको बताएका थिए। मुस्लिमहरूसँग कुरा गर्दा हिन्दूहरूबाट हेपिएको र असुरक्षित महसूस गरेको बताएका थिए।
ती व्यक्ति र कोइलाबासका बासिन्दाहरूमा मैले आकाश-पातालको फरक पाएँ। त्यसैले होला, यो सद्भाव देख्दा अनौठो लाग्यो।
अब्दुल कुद्दुस सिद्दीकी त भन्दै थिए, “मूर्ति विसर्जन गर्न हिन्दूहरूको गाडी छैन, त्यसैले हामी नै लिएर जान्छौं।”
उनले यो सुनाइरहँदा तराईका जिल्लामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भएको सम्झिरहेकी थिएँ।
मलाई सद्भावका मीठा उदाहरण सुनिरहन मन थियो, तर समयले नेटो काट्दै थियो। कोइलाबासबाट लमही जाने पाँच बजेको अन्तिम बसमा जानु थियो। कोइलाबासमा बास बस्ने कुनै होटल थिएन। मलाई त्यहाँका मानिसले आफ्नो घरमा बस्न अनुरोध गरे। त्यो हार्दिकताप्रति कृतज्ञता व्यक्त गर्दै उही अप्ठेरो जंगलको बाटो भएर लमही फर्किएँ।
कहिलेकाहीं आफैंले गरेको निर्णय चित्त नबुझ्दो रहेछ। भोलिपल्ट फर्किएको भए हुने रहेछ भन्ने लाग्यो। कोइलाबासका आत्मीय मानिसको आग्रह लत्याएकामा मनमनै चुकचुकाएँ।
रातभरि कोइलाबासको दृश्य आँखाभरि झलझली आइरह्यो। सानो ठाउँ, शान्त वातावरण, मानिसहरूबीचको गहिरो प्रेम र सद्भाव। कति उदाहरणीय एकता!
एक महीनाअघि अन्य समुदायप्रति उग्र वचन पोख्ने ती हिन्दू युवकको मनमा कहिले पलाउला अन्य समुदायप्रति सद्भाव? ती मुस्लिमहरूले सुरक्षित महसूस कहिले गर्लान्? समाजमा देखा परेको धार्मिक असहिष्णुताको ज्वरो कहिले उत्रिएला?