नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले लिए शपथ
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको विशेष कार्यक्रममा सभामुख देवराज घिमिरेले नेम्वाङलाई शपथ खुवाएका हुन्। यससँगै सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गरेका छन्।
कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका कर्मचारी उपस्थित थिए।
वैशाख १५ मा सम्पन्न इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।