कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग?
नागढुंगा-सिस्नेखोला र सुनकोशी-मरिण डाइभर्सनको सुरुङ छिचोलिएसँगै अबको पालो सिद्धबाबा सुरुङमार्गको हो। यो कहिले वारपार होला?
सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ। पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ। त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ।
दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर भएकाले बर्खामा लेदो र हिउँदमा सुक्खा पहिरो खस्छ। गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको प्रहरीको तथ्यांक छ। दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यान्वयनमा आएको हो।
यस राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग ७८ मिटर खनिसकिएको छ भने मुख्य सुरुङतर्फ एक हजार १२६ मिटर खन्नुपर्नेछ। मुख्य सुरुङको उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर सुरुङ खनिसकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख रामपुकार जैसवाल बताउँछन्। उनका अनुसार मुख्य सुरुङको दुई मुखको बीचमा पहिलो बाइपास २३ मिटर, दोस्रो बाइपास १४ मिटर र तेस्रो बाइपास १२ मिटर खनिएको छ। पहिलो बाइपास १५१, दोस्रो बाइपास १६१ र तेस्रो बाइपास १३० मिटर खन्ने योजना छ।
आयोजना प्रमुख जैसवाल सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको बताउँछन्। “सुरुङमार्ग निर्माणमा खासै अवरोध छैन। दुई शिफ्टमा चौबीसै घण्टा काम भइरहेको छ,” उनी भन्छन्।
आयोजनाका अनुसार सुरुङमार्गको समग्र भौतिक प्रगति ११.३७ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ। मुख्य सुरुङको दक्षिणी मुखमा दुई हजार ३०० वर्गमिटरमा भीर सुरक्षाको काम हुनुपर्नेमा ९८९ वर्गमिटरको मात्र प्रगति भएको छ।
सुरुङमार्ग खन्ने काम भने २०८० माघ ४ मा शुरू भएको हो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (सीएससीईसी)ले सुरुङमार्ग बनाइरहेको छ। सीएससीईसीले ‘इन्जिनीयरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी)’ मोडलमा सुरुङमार्गको ठेक्का पाएको हो।
यो आयोजना सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो। अहिले नारायणगढ-बुटवल सडकखण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्ग बनाउन थालेको हो। कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ।
सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार सुरुङमार्गमा दुई शिफ्टमा चौबीसै घण्टा काम गरी ६ महीनाभित्र ‘ब्रेक थ्रू’ हुनेछ। अहिले सुरुङ खन्न विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी भइरहेको छ।
निर्देशक शाक्यको भनाइमा मशिनको प्रयोग गरी अहिले सुरुङ खन्ने काम भइरहँदा राम्रो र खन्न मिल्ने चट्टान भेटिएका छन्। विस्फोट गर्न थालेपछि एक पटकमा दुई मिटरको दरले खन्न मिल्ने उनी बताउँछन्। “विस्फोटक पदार्थको प्रयोग गर्दै एक दिनमा सात-आठ मिटर खन्न सकिन्छ,” निर्देशक शाक्य भन्छन्।
सुरुङमार्गमा अहिले राति पाँच घण्टा सडक बन्द गरेर काम भइरहेको छ। “अहिलेकै गतिमा काम गर्ने हो भने ६ महीनामा सुरुङले ‘ब्रेक थ्रु’ पाउँछ,” उनी भन्छन्।
सिद्धबाबा सुरुङ निर्माणका लागि २०७७ मंसीर १ गते मन्त्रिपरिषद् बैठकले आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको थियो। २०७८ जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डर मार्फत ठेक्का आह्वान गरेको थियो। त्यही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो। सुरुङमार्ग बनेपछि पनि कम्पनीले पाँच वर्षसम्म मर्मतको काम समेत गर्नुपर्ने शर्त छ।
यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्छन्। हरेक वर्ष पहिरोले जनधनको क्षति पुर्याउन थालेपछि सुरुङमार्ग निर्माण गर्न थालिएको हो।
आयोजनाका अनुसार बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त स्थानमा दुई लेनको सडक बनाइनेछ। सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछन्। यसले सडकमाथिबाट खस्ने ढुंगालाई सीधै तल झार्नेछ।
यसरी कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ। सुरुङमार्गका तीन स्थानमा खुला स्थान राखिनेछ। आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम सञ्चालन गर्न सहज हुनेछ।