पहाडमा पनि भेटियो डेंगु संक्रमण
पूर्वी तराईका जिल्लाहरुमा महामारीका रुपमा फैलिएको डेंगु रोग पहाडमै समेत संक्रमण हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा समेत डेंगुको संक्रमण भेटिएको छ ।
डेंगु संक्रमण गराउने लामखुट्टेले टोकेको अधिकतम तीन महिनाभित्र रोगका लक्षणहरु देखा पर्दछन् । सामान्यत लामखुट्टेले टोकेको केही हप्तामै रोगका लक्षण देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
पाँचथर र तेह्रथुमबाट विगत तीन महिनादेखि तराईका जिल्लामा नगएका स्थानीयमा डेंगुको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत उमेश मेहताको भनाइ छ ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार हालसम्म पाँचथर र तेह्रथुमका गरी १७ जनामा डेंगुको संक्रमण भेटिएको छ । त्यस मध्ये १३ जना तीन महिनादेखि कहाँ रहेको भन्नेबारे स्वास्थ्य कार्यालय र अस्पतालले खोजी गरेका छन् ।
तेह्रमध्ये सात जनाले तीन महिनादेखि तराईका जिल्लामा नगएको बताएको जनस्वास्थ्य अधिकृत मेहताको भनाइ छ ।