प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई नौ वर्ष कैद
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ।
यसका साथै २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो भराउने र बिगो बराबर थप जरिवाना हुने फैसला सुनाएको छ।
न्याशनल पेमेन्ट गेटवे खरीदमा पौडेल सहित नौ जनाले भ्रष्टाचार गरेको अभियोग लागेको थियो। त्यसमा सुनुवाइ गर्दै विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको हो। त्यति वेला २३ करोड २७ लाख ५८ हजार रुपैयाँमा गेटवेको परामर्श सेवा तथा सफ्टवेयर खरीद गरिएको थियो। संस्थाको नेतृत्वको हैसियतमा रहेका पौडेलले लापरवाहीपूर्वक सञ्चालनमा नल्याएर राज्यलाई हानि पुर्याएको विशेष अदालतको ठहर छ। अन्य आठ जनालाई भने सफाइ दिइएको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई वैशाख ७ गते दोषी ठहर्याएको थियो। सजाय निर्धारण भने आज भएको हो। पौडेललाई पूर्वाधार नै नबनाई अस्वाभाविक लागत तयारी गरी पेमेन्ट गेटवे खरीद गरेर अपचलन गरेको अभियोग लागेको थियो।