१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।
भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले निर्माण गरेको कोभिड-१९ विरुद्धको खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने कागजी रूपमा पहिलो पटक स्वीकार गरेको छ।
एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले दर्जनौं घटनामा मृत्यु र गम्भीर असर गरेको भन्दै कम्पनी विरुद्ध बेलायतको उच्च अदालतमा सन् २०२३ मा मुद्दा परेको थियो। एस्ट्राजेनेका विरुद्ध ५१ वटा मुद्दा परेका छन् भने १० करोड पाउन्डसम्मको क्षतिपूर्ति माग गरिएको छ।
सोही मुद्दाको सुनुवाइमा एस्ट्राजेनेकाले उक्त खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने भनी कागजातमा पहिलो पटक स्विकारेको हो। कम्पनीले अदालतमा पेश गरेको कागजातमा खोपले रगत जम्ने दुर्लभ किसिमको जोखिम बढाउन सक्ने उल्लेख गरेको बेलायती सञ्चारमाध्यम द टेलिग्राफले जनाएको छ।
यो खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका थिए। यही खोपले रगत जमाउने र त्यसले हृदयाघात र मस्तिष्कघात गराउने दाबी गर्दै सन् २०२३ मा मुद्दा दायर गरिए पनि एस्ट्राजेनेकाले त्रुटि स्वीकार गरेको थिएन। गत फ्रेबुअरीमा अदालतमा पेश गरिएको कागजमा खोपका कारण थ्रोम्बोसिस विथ थ्रोम्बोसाइटोपिनिया (टीटीएस) सिन्ड्रोम हुन सक्ने उसले स्विकारेको हो।
टीटीएस भनेको रगत जम्ने र रगतमा प्लेटलेट्स कम हुने समस्या हो। चिकित्सकहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अंग मुटु र मस्तिष्कमा असर गर्छ। यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ।
रगत जम्ने समस्याले हृदयाघात र मस्तिष्कघात कसरी गराउँछ त? इन्टर्नल मेडिसिनका चिकित्सक डा. अमित गौली एउटा बहावमा बगिरहेको रक्तसञ्चार प्रक्रिया रगत जम्दा अवरुद्ध हुने बताउँछन्। यस्तो हुँदा रगत बाक्लो हुने तथा रक्तनली साँघुरिने भएकाले मुटु, मस्तिष्क र फोक्सोको नलीमा रक्तसञ्चार प्रक्रिया अवरोध भई हृदयाघात, मस्तिष्कघात र अन्य असर पर्ने उनको भनाइ छ।
बेलायतको मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)को तथ्यांकमा प्लेटलेट्सको कमीका कारण रगत जमेर बेलायतमा कम्तीमा ८१ जनाको मृत्यु भएको आशंका गरिएको छ। यस्तो समस्या देखिएकामध्ये पाँचमा एक जनाको मृत्यु भएको उक्त तथ्यांकमा उल्लेख छ।
खोपका कारण क्षति भएमा बेलायत सरकारले क्षतिपूर्ति दिने गरेको छ। गत फेब्रुअरीमा एस्ट्राजेनेका खोप लगाएका १५८ जनालाई क्षतिपूर्ति दिइएको थियो।
सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरूमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो। त्यसपछि त्यसै वर्ष आयरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, आइसल्यान्ड, कंगो र बुल्गेरियामा पनि यसमा प्रतिबन्ध लगाइएको थियो। रगत जम्ने समस्या देखिएपछि जर्मनी, फ्रान्स, इटाली र स्पेन तथा क्यानडा, स्वीडेन, लातभिया, स्लोभेनिया, अस्ट्रेलिया, इन्डोनेशिया र मलेशियाले पनि यो खोपको प्रयोगमा रोक लगाएका थिए।
एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप भारतमा उत्पादन गरी दक्षिणएशियाली क्षेत्रमा वितरण गर्न सेरम इन्स्टिच्यूट अफ इन्डियाले सम्झौता गरेको थियो। सो खोपलाई भारत र नेपालमा कोभिशिल्डको नामले वितरण गरिएको थियो। यसैले एस्ट्राजेनेका या कोभिशिल्ड खोपको असरको प्रत्यक्ष सम्बन्ध नेपालसँग पनि जोडिन्छ।
के गर्दै छ सरकार?
भारत सरकारले कोभिशिल्ड खोप १० लाख डोज अनुदान दिएपछि २०७७ माघ १४ गते नेपालमा कोरोना विरुद्धको खोप दिन शुरू गरिएको थियो। उक्त पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा कोभिड-१९ को नियन्त्रण र जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी र अन्य विधाका फ्रन्टलाइनरलाई खोप दिइएको थियो। यस्तै, चैत १५ मा भारतीय सेना मार्फत नेपाली सेनालाई एक लाख डोज कोभिशिल्ड खोप अनुदान दिइएको थियो।
सोही खोप २०७७ फागुनमा नेपाल सरकारले ९३ करोड रुपैयाँ खर्चिएर २० लाख डोज किनेको थियो। त्यसपछि भने नेपालमा कोभिशिल्ड खोप आएन। ३१ लाख डोज खोप पहिलो र दोस्रो मात्रा गरी करीब १३ लाख मानिसलाई दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्। उक्त खोपको गलत असरबारे नेपालमा अहिलेसम्म कुनै रिपोर्ट नआएको उनको भनाइ छ।
“यो खोप ल्याउँदा हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)लाई प्रभावकारिता अध्ययन गर्न भनेका थियौं। एनएचआरसीले प्रभावकारिता राम्रो छ भनेपछि ल्याएका हौं,” डा. बुढाथोकी भन्छन्।
नेपालमा कोभिशिल्ड खोपको गलत प्रभावबारे रिपोर्ट भएको छैन। हृदयाघात र मस्तिष्कघात जस्ता घटना हुँदा कारण खोज्नतिर नलागेर पनि रिपोर्ट नभएको हुन सक्ने एक चिकित्सक बताउँछन्। एस्ट्राजेनेकाको खोपमा कैफियत रहेको समाचार आएपछि यस विषयमा कसरी अगाडि बढ्ने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको प्रवक्ता डा. बुढाथोकी बताउँछन्।
उनी भन्छन्, “पहिलो चरणमा खोप लगाएका मानिसहरूको स्वास्थ्य परीक्षण गरेर रगत जमेको छ/छैन भनेर एउटा अध्ययन गर्ने हो कि भनेर सोचिरहेका छौं, तर कुनै निर्णयमा पुगिसकेका छैनौं।”
विज्ञहरू पनि सरकारले कोभिशिल्ड खोप लगाएका मानिसको तथ्यांक संकलन गरेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्। त्यसो गर्दा यो खोप लगाएका मानिसमा परेको मनोवैज्ञानिक असर कम हुने उनीहरूको भनाइ छ।
क्लिनिकल रिसर्चर श्रीराम दास यो आकस्मिक अवस्था भएकाले सरकारले कोभिशिल्ड खोप लगाएकाहरूको तत्काल तथ्यांक संकलन गरेर अध्ययन गर्नुपर्ने बताउँछन्। उनका अनुसार हृदयाघात र मस्तिष्कघात भएर अस्पताल भर्ना र मृत्यु भएका बिरामीले कोभिशिल्ड खोप लगाएका थिए कि थिएनन् भन्ने समेत अध्ययन गर्नुपर्छ। त्यस्तै, अस्पतालमा हृदयाघात र मस्तिष्कघात सम्बन्धित चिकित्सक र औषधि तैनाथ राख्नुपर्ने उनको भनाइ छ। “कोभिशिल्ड खोप लगाएकै कारण कसैको मृत्यु भएको प्रमाणित भयो भने सरकारले कम्पनीसँग क्षतिपूर्ति दाबी गर्नुपर्छ,” दास भन्छन्।
एनएचआरसीले भने कोभिशिल्ड खोपले पार्ने असरबारे अध्ययन गर्न चासो देखाएको छैन। एनएचआरसीका प्रमुख कार्यकारी अधिकृत डा. प्रमोद जोशी कोभिशिल्डको विषयमा आएका खबर हेरिरहे पनि त्यसबारे अध्ययन गर्न परिषद्को बैठकमा छलफल नभएको बताउँछन्। “यो विषयमा थप के गर्न सकिन्छ, बैठकमा छलफल गरेपछि निर्णय गर्छौं,” जोशी भन्छन्।
उनका अनुसार कोभिशिल्ड खोपका कारण रगत जम्ने समस्याबारे हालसम्म परिषद्ले पनि अध्ययन गरेको छैन र छुट्टै अध्ययन गर्न अरूले पनि स्वीकृति लिएका छैनन्।