बिरुवा हुर्काउनेलाई चामल पुरस्कार
बाजुराको हिमाली गाउँपालिकाले विगत पाँच वर्षदेखि बिरुवा हुर्काउने स्थानीयलाई चामल पुरस्कार दिंदै आएको छ।
बाजुराको सदरमुकाम मार्तडीबाट ७६ किलोमिटर उत्तरपूर्वमा पर्ने हिमाली गाउँपालिकामा उब्जनी कम हुने भएकाले कुपोषण र भोकमरीको समस्या छ। फलफूल खेती प्रवर्द्धन गर्दा कुपोषण र भोकमरीको समस्या सम्बोधन हुने भएकाले पाँच वर्षयता गाउँपालिकाले ‘खाद्य सुरक्षाका लागि वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
“फलफूल खेती मार्फत स्थानीयलाई आर्थिक उपार्जनमा जोड्ने हाम्रो प्रयास हो,” गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल हिमालखबरसँग बताउँछन्।
पालिकाका कृषि अधिकृत टोपबहादुर शाहीका अनुसार पालिकाका ७ वटा वडाका २२ वटै गाउँमा स्थलगत अध्ययन गरेर बिरुवा सिफारिश गरिएको छ। “वडा नम्बर १, २, ३ र ५ मा स्याउ र ओखरलाई प्राथमिकता दिइयो भने गर्मी हुने तल्लो क्षेत्रमा कागती र आँप लगाइयो,” शाही भन्छन्, “फलफूल बाहेक डाले घाँसमा उपयोग हुने बाँस, किमो, इपिल इपिलका बिरुवा पनि लगाइयो।”
पालिकाले नर्सरीबाट किनेर किसानहरूलाई प्रतिबिरुवा १० रुपैयाँमा बिक्री गरेको थियो। “सित्तैमा पाउँदा स्याहार नगर्लान् कि भनेर १० रुपैयाँ कर लिइएको हो,” अध्यक्ष मल्ल भन्छन्।
कार्यक्रम अन्तर्गत पालिकाले पहिलो वर्ष बिरुवा दियो भने दोस्रो वर्षदेखि दुई पटक अनुगमन गरेर बिरुवाको उचाइ, अवस्था हेरी बिरुवा जोगाउनेहरूलाई चामल पुरस्कार दियो।
चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेडबाट खरीद गरिएको थियो। “ठेक्काबाट चामल खरीद गरेर दिंदा गुणस्तरको समस्या आउने भएकाले खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामल किन्ने गरेका हौं,” मल्ल भन्छन्।
पाँच वर्ष बिरुवा रोपिएपछि हाल पालिकामा झन्डै ३३ हजार स्याउका बोट फल दिने अवस्थामा पुगेका छन्। पालिकाले प्रतिव्यक्ति चार बोटका दरले पाँच जनासम्म सदस्य भएका घरपरिवारलाई २० बोट बिरुवा दिएको थियो। जसमा १५ बोटमा फलफूलका बिरुवा थिए भने नांगो डाँडा भएको ठाउँमा वृक्षरोपण गर्न घाँस प्रजातिका दुई वटा किमो, दुई वटा बाँस र एक इपिल इपिलको बिरुवा थिए।
“जंगली क्षेत्र भएका १, २, ३ र ५ वडामा फलफूलका बिरुवा दिइएका थिए भने नांगो डाँडा भएको तल्लो क्षेत्रका वडामा १९ बोट फलफूल र पाँच बोट जंगली बिरुवा दिइएका थिए,” कृषि अधिकृत शाही भन्छन्।
यस्तै, गाउँपालिका प्रमुख मल्ल अब ती बिरुवाका उत्पादनको बजारीकरण गरिने बताउँछन्। यसका लागि गाउँपालिकाले विभिन्न निकायको समन्वयमा स्याउ भण्डारण गर्न शीतभण्डार पनि बनाएको छ। दुई करोड ५० लाख रुपैयाँमा बनेको शीतभण्डार यस वर्षदेखि सञ्चालनमा आउनेछ।
“कोल्ड स्टोर (शीतभण्डार) चलाउनै पनि ठूलो पहल गरेर बल्लतल्ल बिजुलीको लाइन ल्यायौं,” उनी भन्छन्, “कोल्ड स्टोरमा तीन महीना मात्र स्याउ राख्न सक्दा राम्रो भाउमा बेच्न सकिन्थ्यो।”
पालिकाले आव २०७७/०७८ मा बिरुवा रोपेर जोगाए बापत कृषकलाई दुई हजार १०० क्विन्टल, २०७८/०७९ मा एक हजार ८०० क्विन्टल र २०७९/०८० मा एक हजार ७०० क्विन्टल चामल वितरण गरिसकेको छ।
८३० वर्ग किलोमिटरमा फैलिएको यस पालिकामा उब्जनी कम हुँदा जीविकोपार्जनमा समस्या छ। यहाँ खाद्यान्नमा जौ, कोदो, उवा र आलु उत्पादन हुन्छ भने फलफूलमा स्याउ र ओखर खेती हुन्छ।
पालिकाको हुम्लासँग जोडिएको माथिल्लो क्षेत्रका वडा नम्बर १, २ र ३ मा बाटो पुगेको छैन भने तल्लो क्षेत्रका ४, ५, ६ र ७ वडामा जीप जाने बाटो छ। गाउँपालिका भेडापालन, चौंरीपालन बाहेक आलु, सिमीको पकेट क्षेत्र बन्न सक्ने भए पनि स्रोतको अभावमा काम गर्न गाह्रो रहेको अध्यक्ष मल्ल दुखेसो पोख्छन्। “जम्मा ६/७ करोड रुपैयाँ बजेट छ। त्यसले के के मात्र गर्ने हो,” उनी भन्छन् ।