काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गर्ने भएको छ।
‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकमा केयूको स्कूल अफ आर्टस् परिसरमा आगामी जेठ १३ गते आयोजना हुने संगोष्ठीमा भारतको नयाँ दिल्लीस्थित साउथएशियन युनिभर्सिटीका कुलपति प्राध्यापक केके अग्रवाल प्रमुख अतिथि रहनेछन्।
यस्तै, अमेरिकाको हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक बीके कुठियाला, वर्तमान उपकुलपति प्राध्यापक केजी सुरेश, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत स्कूल अफ पोलिटिक्स एन्ड पब्लिक एड्मिनिस्ट्रेशनका उपाध्यक्ष हान हङ, इन्डोनेशियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय)का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले वक्ताका रूपमा सहभागिता जनाउनेछन्।
केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गर्न लागिएको हो। उक्त सञ्चार ढाँचा हाल विश्वका अन्य विश्वविद्यालयमा समेत औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ।
साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन्।
कार्यक्रममा स्वदेश तथा विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी करीब १०० विज्ञहरूले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नेछन्।