स्थानीयसँगै पश्चिमी वायु सक्रिय, चार प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले आज चार प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेकाले वर्षा हुन सक्ने विभागको आकलन छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हावाहुरी चल्ने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने विभागको आकलन छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसँगै हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हावाहुरी चल्ने र हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ।