पार्टी विभाजनको हल्ला गलत हो : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल विभाजनको हल्ला गलत भएको जनाएको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले पार्टीका विषयमा चलेको चर्चा गलत भएको जनाएको हो। बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ।’
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजित भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विभाजन गरेर अशोक राई नेतृत्वमा जसपा बनेको हो।
जसपा नेपाल विभाजित भएसँगै एकीकृत समाजवादीबारे पनि चर्चा हुन थालेको छ। यसैलाई लिएर अध्यक्ष नेपालले संसदीय दलको बैठक बोलाएका थिए।