आधुनिक भवनको इतिहासको खोजी
अन्य देशको तुलनामा ढिलो शुरू भए पनि नेपालमा आधुनिक भवनको इतिहास जोगाउनै मुश्किल भइसकेको छ, जसको थालनी गरेको छ ‘काठमाडौं इन्स्टिच्यूट’ ले।
घर भन्नासाथ सिमेन्ट, बालुवा र छडको प्रयोगबाट बनाइएको संरचना बुझ्ने गरिन्छ। जसमा चार कुनामा रड-ढलानका पिल्लर, माथि आरसीसी ढलान गरिएको छानो हुन्छ। तर नेपाली समाजमा लामो समयसम्म यस्ता घर प्रचलित थिएनन्। ढुंगा, माटो, काठ प्रयोग गरेरै घर बनाइन्थे। अलि हुनेखानेले बज्रको लेप लगाएर इँटाका भवन बनाउँथे।
१९९० सालको भूकम्पपछि काठमाडौंमा पुनर्निर्माणका प्रयास थालिए। त्यही क्रममा बिस्तारै नेपालमा भवन बन्ने तरीकामा पनि परिवर्तन आउन थाल्यो। वेदप्रकाश लोहनीको डिजाइन र निरीक्षणमा विसं २००२ मा बनेको त्रिचन्द्र कलेज परिसरको सरस्वती सदनलाई पहिलो आधुनिक भवन मानिन्छ। पहिलो पटक छत ढलान गरिएको उक्त भवनमा सिमेन्ट र रडको प्रयोग भएको थियो। त्यसअघि बन्ने भवनमा माटो र काठको प्रयोग हुने गरेको थियो भने वास्तुशैली पनि परम्परागत नै हुन्थ्यो।
आधुनिक निर्माणको जग हालिए पनि आमरूपमा यो अभ्यास भने २०१७ सालपछि मात्र भएको बताउँछन् आर्किटेक्टका प्राध्यापक विरेस शाह। “२०१७ सालपछि नै नेपालमा पाश्चात्य शैलीको आधुनिक शहर निर्माणको अवधारणा आयो र खास उद्देश्य तथा प्रयोजनका भवन बन्न थाले,” प्राध्यापक शाह भन्छन्, “त्यसपछिका वर्षहरूमा बनेका दशरथ रंगशाला, खुलामञ्च, सभागृह, प्रज्ञा भवनले शहरको प्रतीक निर्माणमा योगदान दिए।”
सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन त्यस्ता भवनहरू बनाइएको उनी बताउँछन्। अर्कातर्फ २००७ सालको परिवर्तनसँगै नेपालमा विकासे परियोजनाहरू पनि भित्रिन थाले। २०१० को दशकको उत्तरार्द्धतिर पुग्दा विदेशी परियोजनाको संख्या बढिरहेको थियो। विदेशी परियोजनासँगै परामर्शदाताका रूपमा विदेशी आर्किटेक्ट पनि आए।
नेपालमा आधुनिक वास्तुकलालाई समृद्ध बनाउन तिनको पनि उल्लेखनीय योगदान रहेको प्राध्यापक शाह बताउँछन्। “नेपालमा विकास परियोजनाका परामर्शदाताका रूपमा आएका विदेशी आर्किटेक्टको कुनै ठूलो राजनीतिक अजेन्डा थिएन,” उनी भन्छन्, “त्यसैले भव्य र विशालभन्दा पनि नेपाली वस्तुस्थिति सुहाउने भवन बनाउने दायित्व र अवसर उनीहरूले पाए। जुन कालान्तरमा नेपाली आधुनिक वास्तुकलाको प्रतीक बन्यो।”
प्राध्यापक शाहका अनुसार उनीहरूले यहाँ परम्परागत रूपमा रहेको निर्माण परम्परा बुझेर आधुनिक प्रविधि संयोजन गरी भवनहरूको डिजाइन गरे।
त्यसरी नेपाल आउने आर्किटेक्टमा एक जना थिए, कार्ल प्रुस्चा। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको परामर्शदाताका रूपमा सन् १९६४ मा नेपाल आएका उनी चार वर्ष यतै बसे। प्रुस्चा भौतिक योजनाकार थिए जसले हर्क गुरुङसँग मिलेर ‘फिजिकल प्लानिङ अफ काठमाडौं भ्याली’ (काठमाडौं उपत्यकाको भौतिक योजना) शीर्षकको प्रतिवेदन तयार पारे। शुरूमा उनीहरूको समूहले नेपालको क्षेत्रीय विकास योजना निर्माण गर्यो भने पछि देशभरको विकास पूर्वाधार निर्माणको रणनीति पनि तयार पार्यो।
प्रुस्चाले गरेको अर्को महत्वपूर्ण काम हो, ‘काठमाडौं भ्याली : द प्रिजर्भेशन अफ् फिजिकल इन्भाइरोमेन्ट एन्ड कल्चरल हेरिटेज अ प्रोटेक्टिभ इन्भेन्टरी’। ५/६ वर्ष लगाएर ठूलो समूहले तयार पारेको सो अध्ययनमा त्यति वेलाको काठमाडौं उपत्यकाको शहरी क्षेत्र, ग्रामीण क्षेत्र र प्राकृतिक क्षेत्रको अभिलेख तयार गरी ८८८ सम्पदाको संरक्षण गर्नुपर्ने प्रस्ताव गरिएको थियो। सन् १९७५ मा भियनाबाट प्रकाशित सो किताबलाई हालै बज्र बुक्सले पुनर्मुद्रण गरेको छ। “यो किताब काठमाडौं उपत्यकाको आर्किटेक्ट डकुमेन्टेशन हो,” प्राध्यापक शाह भन्छन्, “भोलिका दिनमा यस्तै अभिलेख चाहिन्छ भनेर पनि हामीले वास्तु-इतिहास जोगाउन यो अभिलेख संकलनको कामलाई निरन्तरता दिएका हौं।”
त्रिवि अन्तर्गतको ‘आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र’ (सेडा)को भवन पनि उनकै डिजाइनमा बनेको हो।
नेपालमा योगदान दिएका अर्को आर्किटेक्ट हुन्, लुई कान। उनी सिंहदरबार अगाडिको सिंहदरबार प्लाजाको खाका बनाउने काममा संलग्न थिए। उनकै डिजाइनमा हालको स्वास्थ्य मन्त्रालय भवन बनेको हो। “खासमा स्वास्थ्य मन्त्रालयको त्यो भवनको अगाडि र पछाडि उस्तै दुई भवन बन्ने र बीचमा एउटा पुलले जोड्ने योजना थियो, तर पछि योजना अनुसार भवन बनेन,” प्राध्यापक शाह भन्छन्, “अझ उनको डिजाइन विपरीत तला थपिएको छ।”
आधुनिक भवन निर्माण गर्ने अर्का आर्किटेक्ट हुन्, बेन्जामिन पोल्क। अमेरिकाबाट सन् १९६० मा भारत आएका पोल्कलाई राजा महेन्द्रले नेपालमा बोलाएर नारायणहिटी दरबार डिजाइन गर्न लगाएको बताउँछन् आर्किटेक्ट तथा अनुसन्धाता राहुलमुनि बज्राचार्य। “पोल्कको अर्को उल्लेखनीय काम भनेको कीर्तिपुरको ल्याबोरेटरी स्कूल हो,” उनी भन्छन्, “सानो ठिमी टेक्निकल क्याम्पसको भवन पनि पोल्ककै डिजाइनमा बनेको हो। सो भवन किफायती निर्माणको उदाहरण हो।” छानामा स्लेट हालिएको ६० वर्ष पुरानो त्यो भवन अझै उपयोगमा छ। पोल्ककै डिजाइनमा बनेको आदर्श कन्या विद्यालय र जनक शिक्षा सामग्री केन्द्रको भवन पनि प्रयोगमै छन्। पोल्कले त्यति वेलाको सामाजिक–आर्थिक वस्तुस्थिति बुझेर किफायती निर्माण प्रविधि विकास गरेका थिए।
नेपाल आउने अर्का आर्किटेक्ट हुन्, स्वीस नागरिक रोबर्ट वाइज। त्रिभुवन विश्वविद्यालयको मास्टर प्लान उनैले बनाएका हुन्। लामो समय नेपाल बसेका वाइजले पोखराको फिस्टेल लज लगायत धेरै होटलको डिजाइन गरेका छन्। सोलुखुम्बुको खुम्बुमा रहेको एभरेस्ट भ्यूज होटल जापानी आर्किटेक्ट योशिनोबू कुमागाईकै डिजाइनमा बनेको हो। त्यस्तै, अर्का अमेरिकी आर्किटेक्ट डेविड डोबेराइनरले पनि आधुनिक भवनहरूको डिजाइनमा योगदान गरेको शाह बताउँछन्। उनको डिजाइनको एउटा उल्लेखनीय उदाहरण धनकुटाको सामुदायिक स्वास्थ्य भवन रहेको शाह जनाउँछन्।
इतिहासको अभिलेखीकरण
नेपालमा आधुनिक भवन निर्माणको जग बसाउने यी भवनहरू अब अभिलेख बनेका छन्। प्राध्यापक शाहहरूको सक्रियतामा यी भवनका डिजाइन र इतिहासको संग्रहका रूपमा पुस्तक प्रकाशन भएको छ, मोडर्न इनकाउन्टर्स इन आर्किटेक्चर : काठमाडौं भ्याली (सन् १९४५–१९७५)। काठमाडौं उपत्यकाका आधुनिक भवनहरूको तस्वीर, डिजाइन संकलन गरेर यो पुस्तक तयार पार्ने कामको आफ्नै कथा छ। आधुनिक भवनहरूको सौन्दर्य र प्रयोजन हराउन थालेपछि ती भवनको इतिहास जोगाउनुपर्ने आवश्यकता बोध भएको शाह सुनाउँछन्।
शाहका अनुसार २०४० को दशकसम्म निरन्तर रहेको आधुनिक भवन निर्माणको अभ्यासमा परिवर्तन आउन थाल्यो। धेरैजसो व्यावसायिक भवनहरू बन्न थालेपछि तिनको डिजाइनमा सिर्जनशीलता, नवीनता र सौन्दर्य हराउँदै गयो। “सन् १९८० को दशकपछि नेपालले उदारवादको यात्रा शुरू गरेसँगै भवन निर्माणमा पनि व्यावसायिकता हावी हुन थालेपछि नवीनता हराउँदै गयो,” शाह भन्छन्।
हुन पनि ३० वर्षमा काठमाडौं उपत्यकाको जनसंख्या ११ लाखबाट बढेर ३० लाख पुगेको छ। तीव्र गतिको जनसंख्या वृद्धिसँगै काठमाडौंको जग्गा खण्डित हुँदै गयो। सानो क्षेत्रफलमा सानो आकारका सलाईका बट्टा जस्ता घर बन्न थाले। काठमाडौंको यो अभ्यास अरू शहरले पनि सिक्दै गए। “आँबुखैरेनी, दमौली, धादिङ, सिन्धुली सबैतिर एउटै प्रारूपमा घर बनिरहेका छन्,” शाह भन्छन्, “भिन्न उचाइ र हावापानी हुने ठाउँमा घरको शैली पनि फरक हुनुपर्छ। हेटौंडा र काठमाडौंको फरक हुनुपर्छ। बट्टार र रसुवाको फरक हुनुपर्छ। तर त्यस्तो केही भएन।”
वास्तुकलाको यो दुर्गति देखेपछि प्राध्यापक शाह र उनका सहकर्मीहरूलाई भविष्यको पुस्ताले नेपालको आधुनिक वास्तुकलाको इतिहास नै सलाईबट्टे घर ठान्ला कि भन्ने डर लाग्यो। त्यही डरकै कारण आधुनिक वास्तुकलाको इतिहास अभिलेखीकरण गर्न थालेको उनी बताउँछन्। यसका लागि ‘काठमाडौं इन्स्टिच्यूट’ नामक अनौपचारिक समूह पनि बन्यो। जसमा हिमालय इन्जिनीयरिङ कलेजको आर्किटेक्टकी प्राध्यापक झरना जोशी र आर्किटेक्ट राहुलमुनि बज्राचार्य पनि सामेल भए। अनि सन् २०२० देखि शुरू भयो, भवनको इन्जिनीयरिङ डिजाइन संकलनको काम।
आधुनिक वास्तुकलाको जग बसालेका यस्ता भवनहरूको अभिलेखीकरण सजिलो भने थिएन। शुरूआतकालीन आर्किटेक्टहरूको डिजाइन भेट्टाउनै गाह्रो भयो। नेपालका चर्चित र विशिष्ट आधुनिक भवनका इन्जिनीयरिङ डिजाइनको अभिलेख संकलन गर्न ढिलो भइसकेको अनुभूति गरेको शाह सुनाउँछन्।
अभिलेख संकलनमा संलग्न बज्राचार्य सामग्री जुटाउन सोचेभन्दा धेरै समय लागेको बताउँछन्। कति भवनको इन्जिनीयरिङ डिजाइन गराइयो। विदेशीले गरेको कामकोे डकुमेन्टेशन विदेशमा खोजियो। केही अमेरिकाका विश्वविद्यालयबाट मगाइयो। “अहिले जेजति अभिलेख जम्मा भएको छ, त्यसलाई वास्तुकलाको इतिहासको प्रारम्भिक डकुमेन्टेशन मानौं, भोलिका दिनमा थपिंदै जाला,” बज्राचार्य भन्छन्।
अभिलेख संकलनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्स्टिच्यूट अफ इन्जिनीयरिङको आर्किटेक्टका विद्यार्थीहरूले सघाएको शाह बताउँछन्। शाहका अनुसार पुस्तकमा संलग्न विभिन्न भवनको डिजाइन संकलन गर्न र तयार पार्न अनेक उपाय लगाइएको छ। लुई कानले बनाएको स्वास्थ्य मन्त्रालयको भवनको डिजाइन पेन्सिल्भेनिया विश्वविद्यालयबाट मगाइयो। तर बेन्जामिन पोल्कले डिजाइन गरेको र्कीतिपुरको ल्याबोरेटरी स्कूलको डिजाइन कतै फेला नपरेपछि विद्यार्थीहरू लगाएर तयार पारेको आर्किटेक्ट बज्राचार्य सुनाउँछन्। विद्यार्थीको समूहले कार्ल प्रुस्चाले डिजाइन गरेका भवनको इन्जिनीयरिङ ड्रइङ तयार पारे। “सबै भवनको डकुमेन्टेशन विद्यार्थीबाट गर्न सम्भव थिएन। यद्यपि विद्यार्थीबाट जति काम गराउन सकिन्थ्यो, त्यो हामीले गर्यौं,” उनी भन्छन्।
नेपालमा भने इन्जिनीयरिङको डिजाइन केही इन्जिनीयरले मात्रै सुरक्षित राख्ने गरेको पाइएको उनी बताउँछन्। “वेदप्रकाश लोहनीका छोरा वसन्त लोहनीले कति वटा ड्रइङ स्क्यान गरेर राख्नुभएको रहेछ भने कति वटा त पछि इन्जिनीयरहरूलाई उतार्न लगाउनुभएको रहेछ,” बज्राचार्य भन्छन्, “उहाँको परिवारले जोगाएर राखेको भएर उहाँको कामको आर्काइभ भने राम्रो अवस्थामा पाइयो। अरू आर्किटेक्टको काम खोज्न गाह्रै पर्यो।”
नेपालका आधुनिक वास्तुकलाको शुरूआतकालीन इन्जिनीयर वेदप्रसाद लोहनीले तत्कालीन रञ्जना सिनेमा हलको डिजाइन पनि गरेका थिए। हाल रञ्जना सिनेमा हलको ठाउँमा व्यापारिक भवन बनेको छ। लोहनीको डिजाइनमा बनेका अन्य भवनका फोटाहरू पनि संकलन गरिएका छन्।
त्यस्तै, नेपालका अर्का नामुद इन्जिनीयर शंकरनाथ रिमालका काम पनि यो पुस्तकमा समेटिएका छन्। शहीदगेट, तत्कालीन परराष्ट्र मन्त्रालय, थापाथली क्याम्पसको मेकानिकल वर्कशप, पांग्रे घर जस्ता संरचना उनको डिजाइनमा बनेका हुन्।
“उहाँले आफ्नो कामको राम्रो डकुमेन्टेशन गर्नुभएको थियो। बेल्जियममा हुने प्रदर्शनीका लागि पठाइएको डिजाइनका सबै ओरिजिनल मेजर ड्रइङ हराएछन्,” बज्राचार्य भन्छन्, “तर उहाँले आफूले बनाएका भवनहरूको फोटोसंग्रह गर्नुभएको रहेछ। सोही फोटाका आधारमा उहाँको कामको जानकारी बटुलियो।”
वास्तुकला अभिलेखको यो अभियान अझ व्यवस्थित रूपमा अघि बढाउने योजना रहेको प्राध्यापक शाह सुनाउँछन्। उनी भन्छन्, “राजनीतिक इतिहास बाहेक विगतलाई हेर्ने अनेक दृष्टि हुन्छन्। कसैले वनस्पतिलाई आधार बनाउँछन्। कसैले नदीको आधारमा इतिहासलाई बुझ्ने/बुझाउने काम गरेका हुन्छन्। इतिहासको अध्ययनको आधार वास्तुकला पनि हो। हाम्रो प्रयास भवनको इतिहास अभिलेख होस् भन्ने हो।”