जसपाले भन्यो- दल विभाजनको निवेदन अवैधानिक
जनता समाजवादी पार्टी (जसपा), नेपालले केही सांसदले दल विभाजनका लागि दिएको निवेदन अवैधानिक भएको जनाएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका नेताको सोमबार बैठक बसेको थियो। दल विभाजनका लागि निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको बैठकको निष्कर्ष छ।
जसपा संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा वैशाख २३ मा दल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको थियो। त्यसमा जसपाका सात सांसदको समर्थन थियो। उनीहरूले दल विभाजन सम्बन्धी विधेयकका आधारमा बनेको ऐनमा टेकेर निवेदन दिएका थिए।
त्यसलाई जसपाले अवैधानिक भनेको हो। बैठकपछि प्रवक्ता मनीषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा ‘हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजन मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको’ जनाइएको छ।
जसपाले आफ्ना नेता तथा कार्यकर्तालाई हल्लाका पछि नलाग्न पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ।’