जसपा काठमाडौंमा विभाजन, मधेशमा एकढिक्का
केन्द्रमा जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भए पनि मधेश प्रदेशमा भने एकढिक्का देखिएको छ।
जसपा मधेश प्रदेश संसदीय दलको सोमबारको बैठकमा दुई जना प्रदेश सभा सदस्य बाहेक सबै उपस्थित भएका छन्। उनीहरूले पार्टीको संस्थापन पक्षप्रति ऐक्यबद्धता जनाएका छन्।
प्रदेश संसदीय बैठकले केही व्यक्तिले गरेको पार्टी विभाजनको कार्यको निन्दा गरेको प्रदेश सभा सदस्य रामअशिष यादवले बताए। “मधेश प्रदेशमा पार्टी विभाजनको असर परेको छैन, सबै जनाको विश्वास उपेन्द्र यादवप्रति छ,” उनले भने।
संसदीय दलको बैठकमा सिरहाबाट समानुपातिक प्रदेश सभा सदस्य शाहिदा खातुन र बारा २ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य शारदा शंकर कलवार अनुपस्थित थिए। उनीहरू पनि व्यक्तिगत काममा व्यस्त रहेकाले बैठकमा उपस्थित नभएको यादवले बताए। अहिले सबै जना पार्टीको सम्पर्कमा रहेको उनको भनाइ थियो।
संसदीय दलको बैठकमा सहभागी जसपाका प्रवक्ता मनीष सुमनले पार्टी विभाजनको असर मधेशमा नदेखिएको बताए। पार्टीमा देखिएको विवादका विषयमा अध्यक्ष यादव सोमबार स्वदेश फर्किएपछि छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने सुमनको भनाइ थियो।
उपेन्द्र यादव नेतृत्वको जसपा फुटेर आइतबार अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राई सहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले नयाँ पार्टी घोषणा गरेका हुन्।
त्यस्तै, बैठकमा प्रदेश सभामा देखिएको गतिरोध हटाउन संवादलाई अगाडि बढाउने समेत निर्णय भएको छ। जनमत पार्टीले कृषि विश्वविद्यालयको भवन शिलान्यासमा प्रहरीले गरेको हस्तक्षेपको संसदीय छानबिन समिति गठन गर्नुपर्ने र मुख्यमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै आएको छ। जसले गर्दा प्रदेश सभाको बैठक अवरुद्ध हुँदै आएको छ।