सभामुखले छलफलका लागि बोलाए शीर्ष नेता
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।
संसद्को आगामी अधिवेशन शुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेतालाई बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए। सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।
सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन शुरू हुनुअघि छलफलका लागि बैठक बोलाएका हुन्।
गएको अधिवेशनमा पनि सभामुख घिमिरले सदनको अवरोध खुलाउन दुई पटक शीर्ष नेताको बैठक बोलाएका थिए। तर सहमति प्रयास सार्थक हुन सकेको थिएन। संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि शुरू हुँदै छ। संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग अलग भेट गरेका छन्।