धार्मिक अन्धता विरुद्ध रुश्दीको शाब्दिक चक्कु
लेखकका रूपमा ख्याति कमाएका र एउटा जमातबाट आक्रोश खेपेका लेखक अभिव्यक्ति स्वतन्त्रताको प्रतीक बनेर रहनेछन् भने उनको नाइफ लेखकीय स्वतन्त्रताको दस्तावेज हुनेछ।
‘म मरें भने त कुनै कार्यक्रम हुँदैन होला है?’
पटक पटक मृत्युलाई छल्दै बाँचेका लेखक सलमान रुश्दीको आफैं सम्बन्धी ठट्टा हो यो। लेखेकै आधारमा तारोमा परेपछि समर्थनमा असंख्य कार्यक्रम भएकोप्रति लक्ष्यित यो ठट्टाभित्र खासमा एउटा लेखकले भोग्नुपरेको जोखिम र कष्टकर यात्रा गुजुल्टिएको छ।
इरान सरकारले ३५ वर्षअघि टाउकाको मूल्य तोकेपछि होस् या दुई वर्षअघि अमेरिकाको न्यूयोर्कमा साहित्यिक कार्यक्रममा बोल्न जाँदा एक युवाले अन्धाधुन्ध चक्कु प्रहार गरेपछि होस्, लेखन वृत्तमा विगतदेखि नै चर्चाको केन्द्रमा रहँदै आएका उनको समर्थन र लेखकीय स्वतन्त्रताको पक्षमा विभिन्न देशमा अनेकन् कार्यक्रम भएका छन्। जीवनकालमै यति धेरै कार्यक्रम भएपछि मृत्युपछि के नै बाँकी रहला र भनेर उनले छोरासँगको ठट्टा हालै प्रकाशित संस्मरणात्मक कृति नाइफमा उल्लेख गरेका छन्।
चक्कु आक्रमण घटनाको सेरोफेरोमा लेखिएको नाइफको सन्दर्भ ३५ वर्षअघिको घटनासँग जोडिन्छ।
सन् १९८८ सेप्टेम्बरमा द सटानिक भर्सेस उपन्यास प्रकाशन भएपछि रुश्दीको सामान्य जीवनमा असामान्य मोड आइदियो। उक्त कृतिले इस्लाम धर्मको अनादर गरेको भन्दै १४ फेब्रुअरी १९८९ मा इरान सरकारले ‘फतवा’ जारी गरी लेखक र प्रकाशकलाई मृत्युदण्डको घोषणा गरेको थियो। उनीहरूको हत्या गर्नेलाई पुरस्कार दिइने भन्दै टाउकाको मूल्य तोकिएको थियो।
त्यस वेला रुश्दी बेलायतका नागरिक थिए र लन्डनमा बस्थे। ‘फतवा’ जारी भएको दिन उनी आफ्ना मित्र लेखक ब्रुस च्याटविनको श्रद्धाञ्जली सभामा सहभागी हुन लन्डन बाहिर वेस्टमिनिस्टर शहरको एक चर्चमा गएका थिए। चर्चमा उनको पछाडिको बेन्चमा लेखक मार्टिन एमिस थिए। एमिसले रुश्दीको कानमा साउती गरे, “कतै अर्को साता तिम्रो स्मृति सभामा भेला हुनुपर्ने त होइन?”
मार्टिनले शंका गरे जस्तो दिन त आएन, तर ‘फतवा’ पछि रुश्दीको जीवन निकै कष्टकर बन्यो। उनी ज्यान जोगाउन झन्डै एक दशक लुकेर बसे। भूमिगत जीवनबाट विरक्तिएपछि खुला रूपमा निस्किने आँट गरे, र बिस्तारै सामाजिक गतिविधि र साहित्यिक कार्यक्रममा देखिन थाले। फतवाको निन्दा गर्दै विभिन्न देश, संस्था र लेखकहरूले उनको पक्षमा उठाएका आवाजले पनि उनमा साहस भरेको हुँदो हो।
तर मानवीय स्वतन्त्रताको पक्षमा स्वर भर्दै आएका यी लेखक निर्धक्क सार्वजनिक रूपमा हिंडेकै वेला आक्रमणमा परे। १२ अगस्ट २०२२ मा न्यूयोर्क शहरमा साहित्यिक अन्तरसंवादका वक्ता भएर गएका उनी स्टेजमा के उक्लिएका थिए, २४ वर्षीय युवकले घाँटी र पेटमा करीब एक दर्जन पटक चक्कु हाने। संयोग कस्तो भने, लेखकहरूलाई असुरक्षाबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा उनी बोल्न लागेका थिए।
गम्भीर घाइते भएका उनले लामो शल्यक्रिया र उपचारपछि पुनर्जीवन पाए। उनको एउटा आँखाको ज्योति भने गुम्यो।
*** *** ***
१९ जून १९४७ मा ब्रिटिशराजको भारतमा कश्मीरी मुसलमान परिवारमा जन्मिएका रुश्दी १३ वर्षको उमेरमा बेलायत गएका थिए। सन् १९६४ मा बेलायती नागरिक बने।
लेखनमा रुचि भएका उनले विज्ञापन एजेन्सीमा कपीराइटरको काम गरे। बिस्तारै उदीयमान लेखकका रूपमा देखा परे। जादूयी यथार्थवाद (म्याजिकल रियालिज्म) उनको लेखनको विशेषता बन्यो। यही धारमा रचिएको उनको दोस्रो उपन्यास मिडनाइट्स चिल्ड्रेन (सन् १९८१) ले उनलाई सफलताको चुलीमा पुर्यायो। चौथो उपन्यास द सटानिक भर्सेसले त विवादास्पद लेखक बनाउँदै उनको ज्यान नै जोखिममा पार्यो। त्यस क्रममा बेलायत सरकारबाट भरपर्दो आश्रय र सुरक्षा पाए। आफूलाई सुरक्षा दिने बेलायत सरकारका गलत कदम विरुद्ध उनी मौन बसेनन्, मुखर बनिरहे।
रुश्दी बेलायतका उदीयमान लेखकहरू मार्टिन एमिस, इयन म्याक्विन, काजुओ इसिगुरो, ब्रुस च्याटविन, क्रिस्टोफर हिचेन्स जस्ता निडर बौद्धिकहरूको समूहमा रहे। उनीहरूको समूहलाई संसारभर नै नयाँ पुस्ताका प्रतिरोधी लेखकहरूको समूहका रूपमा हेरिन्थ्यो। यो समूहका तीन लेखक एमिस, च्याटविन, हिचेन्स यो संसारबाट अस्ताइसके।
बेलायतको नागरिक छँदै साहित्यिक कार्यक्रमको सिलसिलामा रुश्दी अमेरिका गइरहन्थे। त्यहाँको न्यूयोर्क शहरको खुलापनले आकर्षित गरेपछि उनी सन् २००० देखि अमेरिकामा बसोबास गर्न थाले। २०१६ मा अमेरिकी नागरिक नै बने। केही वर्षअघिसम्म बेलायतभन्दा अमेरिका उदार भएको धारणा राख्ने उनले ‘ब्रेक्जिट’ ले बेलायत साँघुरिंदै गएको र शासनको हठी शैली ‘ट्रम्पिज्म’ (राष्ट्रपतिमा डोनल्ड ट्रम्पको उदयपछिको प्रवृत्ति) का कारण अमेरिका भासमा फस्दै गएको टिप्पणी गरेका थिए।
सन् १९८७ देखि २००७ सम्ममा चार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि लामो समय एकल जीवन बाँचेका उनले सन् २०२१ मा अमेरिकी कवि तथा आख्यानकार रेचेल एलाइजा ग्रिफिथ्ससँग विवाह गरे।
*** *** ***
संस्मरणको नवीनतम किताबमा रुश्दीले सन् २०२२ मा भएको चक्कु आक्रमण र घटनापछि के के भयो भन्ने वृत्तान्त लेखेका छन्। घटनापछि तंग्रिने क्रममा यसबारे किताब लेख्ने कुनै सोच नभएको उनले बताएका थिए। तर यसबारे नलेख्दासम्म आफू शान्त हुन नसकेको र घटनाबारे मौन बस्दा यसलाई अनुमोदन गरे सरह हुने देखेपछि आफूले लेखेको उनको भनाइ छ।
घटना हुँदा ‘२४ वर्षे आक्रमणकारी विरुद्ध म ७५ वर्षेले के नै पो प्रतिरोध गर्न सक्थें हुँला र’ भन्दै चक्कु आक्रमणका विरुद्ध आफ्नो हतियार ‘शब्द’ नै भएकाले, शब्द मार्फत नै आफ्ना कुरा प्रस्तुत गरेको उनले प्रस्ट्याएका छन् । त्यसैले ‘नाइफ’ रुश्दीको शाब्दिक चक्कु सरह छ ।
आक्रमणमा पर्दा मानवका सकारात्मक र नकारात्मक दुवै पाटो एकै पटक साक्षात्कार गर्न पाएको उनले लेखेका छन्। एकातिर, एक व्यक्ति उनलाई मार्न तम्सिएको छ, अर्कातिर मानिसहरू उनलाई उद्धार गर्न तम्तयार छन्। यसलाई उनले दुई विपरीत शक्तिका रूपमा व्याख्या गर्दै अन्ततः प्रेमको शक्तिले घृणाको शक्तिलाई पराजित गरेको निष्कर्ष निकालेका छन्।
आकर्षक भाषा रहेको २०९ पृष्ठको पुस्तकमा आख्यानको स्वाद भरपूर छ। ११९ पृष्ठसम्म पाठकले ‘क्राइम फिक्सन’ को मिठास पाउँछन्। त्यसपछि चाहिं उनको स्वास्थ्य राम्रो हुँदै गएको वर्णन छ। अब बाँचिन्छ भन्ने उनलाई लागेपछिको लेखनमा हाँसोठट्टाका प्रसंग पनि आउँछन्।
पुस्तकको सबैभन्दा संवेदनशील भाग उनले आफ्नो आक्रमणकारीसँग गरेको काल्पनिक संवाद हो। यसमा उनले व्यक्तिगत स्वतन्त्रता र वाक् स्वतन्त्रताको वकालत गरेका छन्। उनले आफूमाथि आक्रमण गर्नुको कारण सोध्दै असहमत हुने जति सबैलाई मार्दै जाने हो भन्ने प्रश्न आक्रमणकारीलाई गरेका छन्। सहमति र असहमति निर्क्योल गर्ने आधार के हो र यसको निर्णयकर्ता को हो भन्ने पनि उनको प्रश्न छ।
मुसलमान परिवारका रुश्दी नास्तिक हुन्। तर व्यक्तिको धार्मिक आस्थामा उनको विमति छैन। धर्मप्रति पनि प्रश्न गर्नुपर्ने उनको तर्क छ। “धर्ममा राजनीतिकरण हुँदा वा यसलाई हतियार बनाइँदा क्षति गर्छ, त्यसैले यो सबैको चासोको विषय हो,” उनी पुस्तकमा भन्छन्।
भविष्य बनाउनुपर्ने एउटा युवा धर्मान्ध भएर मान्छेलाई मार्ने तहको आक्रमणमा उत्रन पुगेको यस घटनालाई उनले सामाजिक सञ्जालको उपजका रूपमा अर्थ्याएका छन्। इन्टरनेटमा आउने सूचना र सामग्रीले मानिसहरूलाई उग्र बनाउने गरेको भन्दै उनले यस्ता सामग्रीको नियमन गर्नुपर्ने विषय पनि पुस्तकमा उठाएका छन्।
३५ वर्षअघि ब्रुस च्याटविनको श्रद्धाञ्जली सभामा भाग लिन लन्डन बाहिरको एउटा चर्चमा ‘कतै तिमीलाई केही हुने त होइन’ भन्दै रुश्दीको चिन्ता गर्ने लेखक मार्टिन एमिस क्यान्सर लागेर नाइफ प्रकाशन नहुँदै २०८० जेठमा बिते। मार्टिनले उनलाई पठाएको अन्तिम पत्र पुस्तकमा समेटिएको छ। त्यस्तै, नाइफमा रुश्दीले उल्लेख गरेका अर्का लेखक पल एस्टर पनि वैशाख १९ मा क्यान्सरले बिते। यता रुश्दी भने मृत्युको मुखबाट फर्केर आएका छन् र लेखनमा फेरि सक्रिय हुँदै छन्।
भूमिगत जीवनको एक दशकबारेको संस्मरण कृति जोसेफ एन्टोनमा रुश्दीको व्यक्तित्व कसरी निर्माण भयो भन्ने वर्णन छ। नाइफलाई उक्त कृतिको दोस्रो खण्ड मान्न सकिन्छ। लेखकका रूपमा ख्याति कमाएका र एउटा जमातबाट आक्रोश खेपेका लेखक अभिव्यक्ति स्वतन्त्रताको प्रतीक बनेर रहनेछन् भने उनको नाइफ लेखकीय स्वतन्त्रताको दस्तावेज हुनेछ।