एकीकृत समाजवादीका नेता भन्छन्- संसदीय दल एकताबद्ध छ
जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि नेकपा (एकीकृत समाजवादी)का विषयमा पनि चर्चा हुन थालेसँगै प्रमुख सचेतक मेटमणि चौधरीले प्रस्टीकरण दिएका छन्।
संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा वैशाख २३ मा जसपा विभाजित भएको छ। प्रतिनिधि सभाका १२ मध्ये सात सांसद राईतिर लागेका छन् भने अध्यक्ष उपेन्द्र यादवसँग पाँच सांसद मात्रै रहेको दाबी गरिएको छ।
राईको नेतृत्वमा नयाँ पार्टी गठन गर्न आइतबार नै निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। जसमा रेणु यादवलाई उपाध्यक्ष र राजेन्द्र श्रेष्ठलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ।
यसैबीच एकीकृत समाजवादीका विषयमा पनि सामाजिक सञ्जालमा चर्चा-परिचर्चा हुन थालेपछि प्रमुख सचेतक चौधरीले प्रस्टीकरण दिएका हुन्। उनले आफ्नो पार्टीका विषयमा अपवाह फैलाउन खोजिएको जनाएका छन्।
‘बिहानैदेखि पार्टी र संसदीय दलको विषयमा भ्रमित अफवाहहरू फैलिएका छन्। यस विषयलाई लिएर पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू दुःख व्यक्त गरिरहनुभएको छ,’ चौधरीले भनेका छन्, ‘यो भ्रमको खेती गर्नेहरूलाई अनावश्यक भ्रम नफैलाउनका लागि सचेत गराउन चाहन्छु र कोही पनि भ्रममा नपर्नका लागि सबैमा अनुरोध गर्न चाहन्छु।’
उनले एकीकृत समाजवादी एकताबद्ध रहेको जनाएका छन्। चौधरीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘पार्टी र संसदीय दलमा न केही भएको छ न केही हुन्छ। संसदीय दल एकताबद्ध छ र हुन्छ।’
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन्। एकीकृत समाजवादी पनि सरकारमा सहभागी छ।