डढेलो निभाउने क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने
बागमती प्रदेश सरकारले डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही रु. एक लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
केही दिनअघि बागमती प्रदेशका ललितपुर र रामेछाप जिल्लाका वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर तीन जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन कोष मार्फत सो रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले बताए।
यस्तै, प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। सो ऐनको दफा १३ को (५)लाई संशोधन गर्न अनुकूल देखिएकाले यस्तो निर्णय गरिएको उनले बताए।