नेपालीको औसत आयुमा उल्लेख्य सुधार, ७१.३ वर्ष पुग्यो
पछिल्लो तीन दशकमा उल्लेख्य सुधार भएर नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को जनसांख्यिक सूचक प्रतिवेदनले नेपालीको सरदर आयुमा उल्लेख्य सुधार भएको देखाएको हो। कार्यालयका अनुसार पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष छ। यसले पुरुषको तुलनामा महिलाको सरदर आयु झन्डै पाँच वर्ष बढी देखाएको हो। कुनै व्यक्तिको औसत बाँच्ने अवधिलाई औसत आयु मानिन्छ।
प्रतिवेदनका अनुसार सर्वाधिक औसत आयु कर्णाली प्रदेशमा ७२.५ वर्ष छ। बागमती प्रदेशमा सरदर आयु ७२.४ वर्ष छ। सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९.५ वर्ष मात्रै औसत आयु छ।
पछिल्ला दशकमा नेपालले उल्लेख्य प्रगति गरेको क्षेत्र औसत आयुको वृद्धि पनि एक हो। एक दशकअघि २०६८ सालमा नेपालीको औसत आयु ६६.६ वर्ष मात्रै थियो। २०५८ सालमा औसत आयु ६०.४ वर्ष थियो। २०४८ सालमा यो ५४.३ वर्ष मात्रै थियो। २०३८ सालमा नेपालीको औसत आयु ४९.८ वर्ष थियो।
स्वास्थ्योपचारको पहुँचमा वृद्धि, स्वस्थ खानपान तथा जन्मने बित्तिकै मर्ने बालबालिकाको संख्यामा आएको कमीले औसत आयु बढाएको हो। औसत आयुको वृद्धिलाई मानव विकास सूचकांकको एउटा पक्ष मानिन्छ।
प्रतिवेदनले शिशु मृत्युदर र बाल मृत्युदरमा नेपालले सुधार गरेको देखाएको छ। २०७८ सालमा शिशु (एक वर्ष उमेरसम्मका) मृत्युदर एक हजारमा १७ मा सीमित भएको छ। २०६८ सालमा एक हजार जीवित शिशु जन्मिएकामध्ये सरदरमा ४० जनाको मृत्यु हुने गरेको थियो। एक दशकमा शिशु मृत्युदरमा उल्लेख्य सुधार आएको हो।
त्यसैगरी, एकदेखि चार वर्ष उमेर समूहका बालबालिकाको मृत्युदर प्रति हजारमा ६.१ मा ओर्लिएको छ। यो २०६८ सालमा १२.९ थियो।
जनगणनाको प्रतिवेदनका अनुसार नेपालीको कोरा मृत्युदर ६.८१ प्रतिशत छ। यो २०६८ सालमा ७.३ प्रतिशत थियो। कुनै निश्चित ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिको संख्यालाई कोरा मृत्युदर मानिन्छ। २०४८ सालमा कोरा मृत्युदर १३.३ थियो। यसले बितेका तीन दशकमा मृत्युदर आधा घटेको देखाउँछ।
जनगणनाले नेपालमा वार्षिक रूपमा ०.९२ प्रतिशतको दरले जनसंख्या बढिरहेको पनि देखाएको छ। जनसंख्याको वार्षिक वृद्धिदर १ प्रतिशतभन्दा पनि तल रहेको यो अवस्था नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो। नेपालमा दुई करोड ९२ लाख हाराहारीमा जनसंख्या छ।
प्रतिवेदनले एउटा महिलाले आफ्नो जीवनकालमा सरदरमा १.९४ जना बच्चा जन्माउने गरेको पनि देखाएको छ। २०५८ सालमा एक महिलाले आफ्नो जीवनकालमा सरदरमा ३.२५ जना बच्चा जन्माउने गरेका थिए। २०३८ सालमा एक जना महिलाले औसतमा आफ्नो जीवनकालभरिमा ६.२७ जना बच्चा जन्माउँथे।
प्रतिवेदनले गण्डकी प्रदेशमा सबैभन्दा धेरै बसाइँसराइ रहेको पनि देखाएको छ। गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २६२ जना बसाइँ सरेका छन्। बागमती प्रदेशमा एक लाख जनामध्ये एक हजार ४०२ जना बसाइँ सरेका छन्।