एमाले फुटाउन ल्याएकै अध्यादेशलाई अशोक राई समूहले कानूनी आधार मान्ने
जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको अशोक राई समूहले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी फुटाउन पाइने अध्यादेशलाई कानूनी आधार बनाएको छ।
जसपाका १२ मध्ये सात सांसदको समर्थनमा निर्वाचन आयोगमा निवेदन दिएको राई समूहले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ को आधारमा बनेको नियमावलीमा टेकेर पार्टी फुटाउन लागेको जनाएको छ। राई पक्षका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार बनेको कानूनको आधारमा पार्टी विभाजन गर्न लागेको बताए।
“२०७८ सालको अध्यादेश बमोजिम बनेको नियमावली २०७८ भदौमा राजपत्रमा प्रकाशित छ। राजपत्रमा प्रकाशित हुनु भनेको कानून सरह मान्यता पाउनु हो। त्यसै आधारमा दल दर्ताको माग गरेर आयोगमा निवेदन दिएका हौं,” श्रेष्ठले आइतबार सञ्चारकर्मीसँग भने, “निजामती सेवा, सशस्त्र प्रहरी लगायतसँग सम्बन्धित नजीर हेर्दा अध्यादेश खारेज भए पनि नियमावली खारेज हुँदैन। त्यसकै आधारमा जसपालाई नयाँ दलका रूपमा दर्ता गर्न आयोगमा निवेदन दिएका हौं।”
२०७७ फागुनमा सर्वोच्च अदालतको निर्णयपछि ब्युँतिएको नेकपा (एमाले)लाई विभाजन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐनलाई अध्यादेश मार्फत संशोधन गरेको थियो। पार्टी विभाजनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसद आवश्यक पर्ने मौजुदा कानूनी व्यवस्थालाई परिवर्तन गरेर २० प्रतिशतमा झारिएको थियो। २०७८ भदौ २ मा राजपत्रमा अध्यादेश प्रकाशित भएकै दिन एमाले विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।
त्यही नजीरलाई आधार मानेर आफूहरूले पार्टी विभाजन गर्न लागेको जसपा नेता श्रेष्ठले जानकारी दिए। उनीहरूले ‘जनता समाजवादी पार्टी’ नाम माग गरेका छन्। उपेन्द्र यादवको नेतृत्वमा ‘जनता समाजवादी पार्टी, नेपाल’ दर्ता छ।
संघीय परिषद् अध्यक्षमा श्रेष्ठ
विभाजित जसपाको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ र केन्द्रीय अध्यक्षमा अशोक राईको नाम प्रस्ताव गरिएको छ। त्यस्तै, महासचिवमा मोहम्मद इस्तियाक राईको नाम छ।
संघीय परिषद् अध्यक्षः राजेन्द्र श्रेष्ठ
केन्द्रीय अध्यक्षः अशोक राई
सहअध्यक्षः रेणु यादव
उपाध्यक्षः नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत, सुशीला श्रेष्ठ
महासचिवः मोहम्मद इस्तियाक राई
उपमहासचिवः प्रदीप यादव
सचिवः दीपक कार्की, रञ्जु ठाकुर
कोषाध्यक्षः वीरेन्द्र महतो
केन्द्रीय सदस्यहरूः आङकाजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादुर धुजू, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा बज्राचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डव्य, पिंकीदेवी यादव
याे पनि पढ्नुहाेस्
जसपा विवादः नेकपा ‘भूकम्प’ले ल्याएको परकम्प
किन फुट्यो नेकपा?