धारामा पानी नआएपछि मेयर साम्पाङको कार्यकक्षमा नाराबाजी
धरानमा खानेपानीको अभाव भएपछि स्थानीय बासिन्दाले मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेर नाराबाजी गरेका छन्।
एक दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि धरानका वडा नं १, २ र १२ का बासिन्दा आइतबार मेयर साम्पाङको कार्यकक्षमा पुगेका हुन्। तीनै वडाका जनप्रतिनिधि सहित पुगेका स्थानीय बासिन्दाले धारामा पानी आउन छोडेको चार महीनाभन्दा बढी भइसकेको गुनासो गरेका छन्।
गत साढे दुई महीनादेखि पानीको चरम अभाव भएको धरान-१ का वडाध्यक्ष यज्ञमणि आचार्यले बताए। विगतमा खानेपानी बोर्डमा गएर गुनासो राख्ने गरेको भए पनि समस्या समाधान भएपछि बोर्डका अध्यक्ष मेयर भएकाले उपमहानगर कार्यालयमै पुगेर समस्या राखेको आचार्यले बताए।
वडावासी मेयर साम्पाङको कार्यकक्षमा पुग्दा प्रहरी तैनाथ गरिएको थियो। प्रहरीले मेयरको कार्यकक्ष बाहिरै रोकेपछि वडावासी आक्रोशित थिए।
उनीहरूले नाराबाजी गर्न थालेपछि मेयर साम्पाङ नै बाहिर आएका थिए। उनले पानीको समस्या समाधान गर्ने आश्वासन दिएका थिए।
पानी वितरण प्रणालीमा केही त्रुटि भएको हुन सक्ने बताउँदै मेयर साम्पाङले छलफल गरेर पानी पठाउने आश्वासन दिएको वडाध्यक्ष आचार्यले बताए। वडामा पानीको अभाव भएपछि ट्यांकरबाट पनि वितरण गरिरहेको उनले बताए।
धरानमा पानीको अभाव हुन थालेको छ। अहिले धरानवासीले निजी ट्यांकरबाट ढुवानी गरेर पानी पिउँदै आएका छन्।
मेयर साम्पाङले श्रमदान गराएर कोकाह खोलाबाट पानी ल्याएका थिए। तर डढेलोले क्षति पुगेपछि पानी आपूर्ति अवरुद्ध छ।