सेतीसँग जुध्न कति तयार छ पोखरा?
सुन्दर तर भूबनोटले गर्दा भयानक बन्दै गएको सेती नदीसँगै जलवायु परिवर्तनले निम्त्याउने जोखिमका लागि जुध्ने गरी तयारी गर्नुपर्ने भए पनि पोखराले भने बेवास्ता गरिरहेको छ।
मनोरम हिमाल, तालतलैया, सदाबहार वनजंगल, पाखापर्वत र समथर लगायतको भूबनोटले पोखरा उपत्यकालाई आकर्षक बनाएका छन्। अझ मझधारबाट बग्ने सेती नदीले पोखराको सुन्दरता बढाएको छ, जसमा माछापुच्छ्रे र अन्नपूर्ण लगायत हिमशृंखलाको पानी मिसिन्छ।
सुन्दर नदीका रूपमा रहेको सेतीको २०६९ सालमा भने परिचय नै बदलियो, भयानकमा। त्यो वैशाख २३ मा एकाएक आएको ठूलो बाढीले धनजनको क्षति गर्यो। छेउछाउका कतिपय बस्तीसँगै ७२ जना बिलाए।
सेतीको बाढीमा मुश्किलले बाँचेका २६ वर्षीय उत्तम तामाङले अझै त्यो घटना बिर्सिन सकेका छैनन्। शनिबार भएकाले नजिकैको खारापानी बजार गएका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२, साँदलका तामाङ हेर्दाहेर्दै बजार नै बगेको सुनाउँछन्। “म पनि धन्नै मरेको थिइनँ, त्यस्तो दिन त कसैले नदेखोस्,” त्यति वेला १४ वर्षका रहेका उत्तम केही बेर गम्दै भन्छन्, “बाढीले सबथोक लग्यो।”
त्यसयता सेती नदी र आसपासको भूभागलाई लिएर थुप्रै अध्ययन तथा अनुसन्धान भएका छन्। भूगर्भविद्हरूले त पोखराको भौगर्भिक संवेदनशीलता र यससँगै निम्तिन सक्ने जोखिमबारे चेतावनी दिंदै आएका छन्। सेतीमा गएको बाढी जस्तै अझै विनाशकारी विपद् यो भूगोलमा निम्तिन सक्ने उनीहरूको आकलन छ।
पछिल्लो पटक डा. नारायण गुरुङको टोलीले २०६९ सालको बाढी र सेती नदीमा अबको जोखिमबारे अध्ययन गरेको थियो। २०७८ सालमा गरिएको अध्ययनले सेती नदी बहने मार्गभित्रका जोखिमयुक्त ठाउँका बारेमा औंल्याएको छ। जसमा माछापुच्छ्रे, अन्नपूर्ण चौथो र अन्नपूर्ण तेस्रोको बीचमा दलदले माटो रहेको साब्चे सर्कदेखि पोखरासम्मका बस्ती तथा पूर्वाधार जोखिममा रहेको उल्लेख छ।
पोखरा निर्माणमा मुख्य भूमिका रहेको साब्चे सर्कको बाह्य भागमा हुन सक्ने अवरोधले पहिरोको जोखिम रहेको देखाएको छ। सेती नदीको मार्ग भिरालो जमीन रहेकाले उस्तै जोखिम रहेको अध्ययनमा उल्लेख छ।
अध्ययनले सेती नदी क्षेत्रमा अहिले बनिरहेका भौतिक पूर्वाधार बगाउन सक्ने जोखिम देखाएको छ। साँदल, इबाङ बस्ती, खारापानी, तातोपानी, मर्दी दोभान, हेम्जा पुल, मसिना बगरको बस्ती, कसेरी (लालटिन) बजारको बस्ती, केआईसिंह पुल, रामघाट हुँदै रातोपहिरोसम्म सेती नदीको जोखिम हुने अध्ययनले बताउँछ। झन् अहिले जलवायु परिवर्तनको असर देखिरहेको समयमा २०६९ वैशाख २३ मा अन्नपूर्ण चौथोमा गएको हिमपहिरो र चट्टान खस्न सक्ने प्रक्रिया दोहोरिन सक्ने औंल्याइएको छ।
सन् ११००, सन् १२५५ र सन् १३४४ मा गएको भूकम्पले साब्चे सर्कबाट ठूला भग्नावशेषहरू बहँदा पोखरा उपत्यका बनेको थियो। त्यही किसिमको महाभूकम्प आउन सक्ने चेतावनी वैज्ञानिकले दिंदै आएको उल्लेख गर्दै अध्ययनले सेती नदी छेउछाउमा बस्ती तथा पूर्वाधार निर्माण नगर्न सुझाएको छ।
भूगर्भविद् डा. कृष्ण केसी साब्चे सर्कलाई केन्द्रबिन्दु बनाएर भूकम्प आयो भने पनि पोखरा साँदलदेखि रातोपहिरोसम्मका ठाउँमा जोखिम निम्तिन सक्ने सुनाउँछन्। केसी भन्छन्, “पोखराले शहरी विकासको पहिलो प्राथमिकतामा भौगोलिक स्थितिको जोखिमलाई राखेर रणनीति बनाउनुपर्छ।”
के जोखिमलाई प्राथमिकतामा राखेर काम भइरहेका छन् त? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई यसका लागि जिल्ला जिल्लामा विपद् व्यवस्थापन समिति रहेको प्रतिक्रिया दिन्छन्। समितिले गर्ने तयारीका आधारमै प्राधिकरणले काम गर्ने भट्टराईको भनाइ छ।
प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीले गर्छन्। त्यस मातहत सबै जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति खडा गरिएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ को व्यवस्था अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी समिति बनेको छ। समितिमा सुरक्षा निकायका प्रमुख, स्थानीय तहका अध्यक्ष तथा प्रमुख, स्वास्थ्य प्रमुख, रेडक्रस प्रमुख, गैरसरकारी महासंघ प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायत सदस्य छन्।
यस समितिलाई प्राधिकरणले पूर्व तयारीका लागि बजेट पनि दिन्छ। प्राधिकरणका प्रवक्ता भट्टराई समितिका लागि कोषमा तराईमा २५ लाख, पहाडमा २० लाख र हिमालमा १५ लाख रहनै पर्ने प्रावधान रहेको बताउँछन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे विपद्को प्रतिकार्य तथा विपद्को उद्धार र राहतका लागि काम भइरहेको बताउँछन्। “घटना भए लगत्तै तत्काल राहत र उद्धार प्राथमिकतामा रहन्छ,” घिमिरे भन्छन्।
समितिले प्रत्येक वर्ष विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउँछ। २०८० सालमा बनेको कास्कीको प्रतिकार्य योजनाले जिल्लामा विपद्बाट अति उच्च जोखिमयुक्त, उच्च जोखिमयुक्त र मध्यम जोखिमयुक्त वडा विश्लेषण गरेको छ।
अध्ययनमा विपद्हरूको इतिहासको लेखाजोखा तथा स्थानीय तहमा बनेको योजनाको विश्लेषणका आधारमा पोखराका १० वटा वडामा बाढीपहिरोको जोखिम रहेको देखाइएको छ। जसमा वडा नंं. १, २०, २६, २४, ३२, ३३, २३, २८, १८ र २५ छन्।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाका वडा नंं. १, २, ८ र ९, माछापुच्छ्रे गाउँपालिकाका वडा नं. २, ७, ८ र ९, मादी गाउँपालिकाका वडा नं. १, २, ६, ७, ८, ९, १० र १२ तथा रुपा गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ लाई जोखिमयुक्त भनी औंल्याइएको छ।
यससँगै नदी कटानको अति उच्च जोखिमयुक्त ठाउँमा माछापुच्छ्रे गाउँपालिकाका वडा नं. २, ४ र ५ तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं. ४ र ६ छन्। उच्च जोखिमयुक्त वडामा पोखराका वडा नंं २२, २३ र २५ तथा मादी गाउँपालिकाका वडा नं. १, ६ र ७ लाई राखिएको छ।
तैपनि जोखिमयुक्त क्षेत्रमा संरचना निर्माण भइरहेकै छन्। सेती नदीको डिलमा बसेका बस्तीलाई हटाउन वा स्थानान्तरणका लागि पोखरा महानगरले ठोस योजना बनाउन नसकेको सरोकारवाला बताउँछन्।
सेतीमा बाढी आउँदा प्रभावितलाई राहत वितरणमा सरकारसँगै स्थानीय रेडियो अन्नपूर्णले काम गरेको थियो। तत्कालीन समयमा रेडियो अन्नपूर्णका स्टेशन मेनेजर रहेका पत्रकार दीपेन्द्र श्रेष्ठ विपद्अघिको प्रतिकार्य योजना सशक्त नरहेको बताउँछन्। “घटना भएपछि बल्ल राहत र उद्धारको तयारी हुन्छ, तर घटनाअघिको जोखिम न्यूनीकरणमा काम नै हुँदैन, त्यो हाम्रो विडम्बना हो,” श्रेष्ठ भन्छन्।
अहिले राहत तथा उद्धारका लागि संयन्त्र सुधारोन्मुख हुँदै गए पनि विपद्अघिको योजना, रणनीति र उद्धारपछिको पुन:स्थापनाका लागि संयन्त्र बलियो बन्न नसकेको उनको भनाइ छ। अझ स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र विपद् जोखिमको अनुमान गरेर त्यस अनुसारको कार्ययोजना बनाउनुपर्नेमा बेवास्ता गरिरहेको उनी सुनाउँछन्।
हुन पनि सेती बाढीपछि नदी किनार र आसपासको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा खासै फरक देखिएको छैन। जोखिमयुक्त स्थानमै संरचना निर्माण भइरहेका छन्। बाढीले क्षति गरेकै स्थानमा बस्ती बसिरहेका छन्।
अझ माथिल्लो सेती जलविद्युत् आयोजना बनिरहेको छ। जसका लागि भवन बनिसकेका छन्। बाढीले बगाएका झोलुंगे पुलको पुनर्निर्माण पनि भएको छ भने तातोपानी फेरि सञ्चालनमा आएको छ। तर संरचना निर्माण गर्दा जोखिमलाई ध्यान नदिइएको विज्ञहरू बताउँछन्।
सेती बाढी र पोखराको भौगोलिक संरचनाबारे अध्ययन गरेका पोखराको पृथ्वीनारायण क्याम्पसमा भूगोल विज्ञानका उपप्राध्यापक रामजी पोखरेल पोखरा सधैं सेतीको बाढी तथा कटानको उच्च जोखिममा रहने बताउँछन्। पोखरेल भन्छन्, “सेती नदी किनारमा बस्ती बसाल्नका लागि मापदण्ड तयार पारी जोखिमयुक्त स्थानमा कडाइ गरिनुपर्छ।”
पोखरा क्षेत्रमा जोखिम बढ्दै गएको भए पनि न्यूनीकरणका लागि काम नभएको भूगर्भविद् डा. केसी बताउँछन्। “पोखरामा रहेको जोखिमलाई न्यूनीकरण गर्ने किसिमको रणनीति बनाउनुपर्ने हो, अनि त्यही अनुसार कार्ययोजना बनाउनुपर्ने हो, तर त्यस्तो भएको छैन,” उनी भन्छन्।
पछिल्लो समय झन् जलवायु परिवर्तनको जोखिमले यस्ता विपद् निम्त्याउन सक्ने उनको भनाइ छ। “यसको अर्थ पोखरा बस्नै नहुने, भयावह, डरलाग्दो ठाउँ हो भन्ने चाहिं होइन,” भूगर्भविद् डा. केसी भन्छन्, “दुनियाँको कुनै पनि ठाउँमा केही न केही ‘थ्रेट’ त हुन्छ, पोखरामा भएको जोखिमलाई कम गर्ने रणनीति अपनाएर ‘एडप्ट’ गर्ने हो।”
सेती बाढीबारे थप सामग्री :