जापानी विदेशमन्त्री योको काठमाडौंमा
जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्।
जापानी विदेशमन्त्री योकोलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरेकी छन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन्।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले आजै परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बूक पोइन्टको समेत अवलोकन गर्ने भएकी छन्।