विश्वासको मत लिंदै गण्डकीका मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ।
अधिकारी गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
यसरी दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यही आधारमा उनले विश्वासको मत लिन लागेका हुन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २२ र माओवादीका सभामुख सहित आठ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि अधिकारीलाई समर्थन जनाएका छन्।
त्यस्तै, प्रदेश सभामा कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई सांसद छन्। कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिंदा बराबर भएमा मात्रै सभामुखले मत दिन पाउनेछन्। तर सभामुख बाहेक एमाले, माओवादी र स्वतन्त्र सांसद गरी ३० मत मात्रै पुग्छ। विपक्षमा रहेका कांग्रेस र राप्रपाको कुल २९ मत हुन्छ।
यस्तो अवस्थामा सभामुखले मत दिन नपाउने हुँदा मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत जुटाउन मुश्किल छ।