सधैं बेचैन साँदल
१२ वर्षअघिको सेती बाढीमा संयोगले जोगिएका साँदलवासी जाने ठाउँ कतै नभेट्दा नदीछेउमै त्रासमा बाँचिरहेका छन्।
सेती नदीको बाढीबाट तहसनहस भएको कास्कीको खारापानी बजारबाट चार किलोमिटर परको गाउँ हो, साँदल। यो कास्की बाहिरबाट बसाइँ सरेर आएका नागरिकले बसालेको बस्ती होे। यो क्षेत्रको अन्तिम गाउँ पनि यही हो।
सुन्दर र शान्त भएकाले पनि उनीहरूले अन्तिम बस्ती रोजेका थिए। तर गत १२ वर्षदेखि यो बस्ती पनि अशान्त छ। साँदलवासी बेचैन छन्।
तामाङ र मगर समुदायको बसोबास रहेको यो बस्तीका ११ परिवारलाई झोलुंगे पुलले मूल सडकसँग जोडेको छ। कच्ची धुले बाटो हुँदै कपुचे गाउँ सकिएपछि सेतीको झोलुंगे पुल तर्ने बित्तिकै ठोक्किन्छ, डिलमाया पुनको घर।
त्यो वैशाख २३ को बिहान डिलमायाको घरमा खाना अलि ढिलो पाक्यो। खाना पकाउन ढिलो हुँदा गाउँले कराएका थिए, उनीसँग। तर त्यही ढिलाइले बाढीबाट बचेका थिए साँदलवासी।
कसरी? “गाउँका सबै मान्छे हाम्रोमा पर्ममा थिए, बिहानै खेताला लगाएर आउँदा ढिलो भयो,” डिलमाया सुनाउँछिन्, “गाउँका सबै पारि घाँसदाउरा काट्नका लागि पुल थाप्न जाने योजना थियो। खाना छिटै पाकेको भए गइसक्थ्यौं, बाढीले हामीलाई पनि लग्थ्यो। खाना पर्खिएर बसेकाले बाँच्यौं।”
डिलमायाकी छिमेकी सानु मगरले पनि धन्न बाँचेको सुनाइन्। “कठै बच्चाहरू! शनिबार थियो, स्कूल नगएका सँगै पुल थाप्न जान्थे,” सानुले थपिन्, “खाना ढिलो पाकेकाले सबै बाँच्यौं।”
साँदल गाउँको केही माथि पारिपट्टि जिमिरबारीस्थित फाँटमा घाँसदाउराका लागि उपयुक्त ठाउँ छ। त्यो ठाउँमा आवतजावतका लागि साँदल गाउँबाट अलि माथि पुगेर सेती तर्न काठको फल्याक राखेर पुल बनाउने योजना थियो। डिलमायाको घरमा वेलैमा खाना पाकेको भए बाढी आउनुभन्दा १५ मिनेट जतिअघि उनीहरू त्यहाँ पुगेका हुन्थे। “खाना ढिलो भएपछि पर्खिएर बस्दाबस्दै बाढी गयो,” उनी भन्छिन्।
थोरै परिवार भएकाले हरेक काम सँगसँगै गर्ने चलन साँदलबासीको पहिलेदेखिकै हो। त्यो दिन पनि संयोगले पर्म परेको उनीहरू सुनाउँछन्। ज्यान जोगिए पनि उनीहरूले त्यो विनाशकारी बाढी बिर्सेका छैनन्।
सेती उर्लिएर आउँदा साँदल गाउँ नै बगाएर लैजाला जस्तो भएको थियो। साँदलको काठको पुल, खेतीपाती र दुई घर त बढारेरै लग्यो, सेती बाढीले। त्यही दिनदेखि बेचैन छन्, साँदलबासी। “कति वेला लग्छ, टुंगो छैन,” सानु डरमिश्रित आवाजमा भन्छिन्।
त्यो दिन पनि अलि माथि पाखोमा पुगेर ज्यान जोगाएका थिए। बाढीको जोखिम भएकाले केही सातापछि विभिन्न निकायको सहयोगमा आधा घण्टा माथि हिंडेर पुगिने खोबाङमा स्थानान्तरण भएका थिए।
खोबाङमा खुला चउर छ। त्यो सबै सरकारी जग्गा हो। त्यही जग्गामा उनीहरूले ससाना घर बनाए। चउरमा घर बनाउन पुग्ने ठाउँ मात्रै थियो। त्यसैले खेतीपाती गर्ने, बस्तुभाउ पाल्न पुग्ने ठाउँ थिएन।
साँदलबाट विस्थापित भएर खोबाङ पुगेका उनीहरूको केही समयपछि दिनचर्या फेरियो। सेती बाढीको डर कम भयो। गाउँका बालबालिका खारापानी नै विद्यालय जान थाले। सामान्य दैनिकीमा फर्किए।
खोबाङमा खेती गर्ने ठाउँ नै नभएपछि भने गाह्रो हुन थाल्यो। वेलावेला साँदल पुगेर पुरानो घर हेर्थे र फर्कन्थे। खोबाङमा विना डर बसे पनि खेतीपाती नै गर्न नपाएपछि उनीहरूमा छटपटी बढ्न थाल्यो।
चार वर्षपछि उनीहरूले पुनः साँदलमा नै फर्किने निर्णय गरे। सरसामान पोको बोकेर साँदल झरे। मूल बाटोबाट गाउँ जोड्ने काठेपुल बाढीले लगेपछि एक फन्को घुमेर परको बाटोबाट गाउँ पुगेको उनीहरू सुनाउँछन्।
काठेपुल भत्किएको ११ वर्षपछि नयाँ झोलुंगे पुल बनेर गत वर्ष मात्रै उद्घाटन भयो। झोलुंगे पुल बनाउन धेरै भनसुन गर्न परेको उनीहरू बताउँछन्। “पारि बाटो आएको छ, हाम्रो गाउँ जोड्ने पुल बन्दैन। त्यो बाटो देखेर ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ जस्तो भयो,” डिलमाया भन्छिन्, “चरा हो र उडेर जान त्यहाँ! हामीले गाडी जाने पुल मागेको पनि थिएनौं, त्यति मान्छे हिंड्ने पुल बनाउन ११ वर्ष लाग्यो, कति कराउनुपर्यो।”
गाउँ फर्किएको नै सात वर्ष भइसक्यो। आर्थिक रूपले अलि सबल शहरतिर बसाइँ सरेका छन्। आर्थिक रूपमा कमजोर परिवार पहिले जस्तै खेतीपाती गरेर गुजारा चलाइरहेका छन्। “कोही पोखरा झरे, कोही विदेश गए, बाँकी बूढापाका हामी गाउँमै छम्,” बारीबाट टिपेका लसुन आँगनमा सुकाउँदै डिलमाया आफैसँग प्रश्न गर्छिन्, “खेतबारी, अन्नपात छ, गाउँ छोडेर कहाँ जानु?”
पढाइ छुट्यो, बाटो छेकियो
साँदलका उत्तम तामाङ अहिले २६ वर्षका भए। सेती बाढी जाँदा उनी १४ वर्षका थिए। शनिबारको दिन स्कूल छुट्टी भएकाले तातोपानीमा नुहाउन साँदलबाट बिहानै हिंडेर खारापानी पुगेका थिए। खारापानीमा विदेशी सहित थुप्रै नेपाली नुहाउन पुगेको उनी सम्झन्छन्।
माइक्रोबसले पनि खारापानीमा मान्छे झारेको उनलाई सम्झना छ। “एक्कासि कसैले बाढी आयो भनेर चिच्याएको थियो, तर धेरैले बाघ आयो भन्ने सुने,” उत्तम भन्छन्, “मैले पनि बाघ आयो भने जस्तो सुनेको थिएँ। बाढीलाई बाघ सुन्दा धेरै जना तल खोलातिरै गए, पछि माथि हेर्दा बाढी आएको देखेपछि भागाभाग भयो।”
उनी पनि भागे। भाग्दाभाग्दै होश हराएको उनी सुनाउँछन्। त्यसपछि के भयो भन्ने उत्तमलाई सम्झना नै छैन।
बाढी आएपछि उनी साँदल फर्कन सकेनन्। महीना दिन पोखरा गएर आफन्तको घरमै बसे। उनी साँदल गाउँ फर्कंदा परिवार स्थानान्तरण भएर खोबाङ पुगिसकेको थियो। अनि उनको पढाइ छुट्यो।
बाढीको त्रासले पढ्न मन लाग्दैनथ्यो। माथि खोबाङबाट तल खारापानीको स्कूल आउजाउ गर्न पनि सहज थिएन। “गाह्रोसाह्रोमै एक वर्ष बित्यो, आफूसँगैका साथीहरू एक कक्षा अघि गए,” उत्तम भन्छन्, “त्यसपछि मलाई उही कक्षामा झन् पढ्नै मन लागेन।”
अहिले उनी गाउँमै बस्छन्। साथीहरूले के गरेका छन् त? “लेखपढ गरे, कोही जागीरे छन्, कोही व्यापार गरी बसेका छन्,” उत्तम भन्छन्।
सेती बाढीले उत्तम जस्तै कैयौं बालबालिकाको पढाइ पनि रोकियो। स्कूल छोड्न बाध्य भए। पढाइसँगै अघि बढ्ने बाटो नै छेकियो। जसले गर्दा जिन्दगी नै बिथोलिएको उनी सुनाउँछन्।
बाढी नगएको भए उनले अहिले कलेजको पढाइ पूरा गरिसकेका हुन्थे। सरकारी जागीर नपाए पनि निजीमै भए पनि काम गरेर खान्थे भन्ने ठान्छन् उनी। बाढीबाट बाँचेकोमा त खुशी लाग्छ, तर अगाडिको बाटो नै छेकिएकोमा खिन्न हुन्छन्। “म पनि धन्नै मरेको थिइँन, त्यस्तो दिन त कसैले नदेखोस्,” उत्तम केही बेर गम्दै भन्छन्, “बाढीले सबथोक लग्यो।”
बर्खासँगै बढ्छ बेचैन
साँदलवासीलाई बर्खा नआइदिए हुन्थ्यो जस्तो लाग्छ। गत वर्ष असारमा झरी पर्दा सेती नदीमा पानी बढेको थियो। त्यति वेला पनि साँदलवासीले एकै ठाउँमा बसेर रात कटाए। पानी परेको दिन निदाउन सक्दैनन्।
१२ वर्षअघिको जस्तै बाढी आउने हो कि भन्ने डरले बेचैन बनाउने गरेको उनीहरू बताउँछन्। आर्थिक रूपले कमजोर भएकाले आफ्नो थलो छाडेर अन्यत्र जान पनि सक्दैनन्।
सरकारले स्थानान्तरण गरेको पाखोमा खेतीपाती गर्न जमीन नभएपछि जोखिम रहेकै गाउँमा ओर्लिएका उनीहरू बर्खा शुरू भएपछि डरैडरमा बस्ने गरेको बताउँछन्। “पोहोर पनि डराएर बस्यौं, सेती बढेको थियो,” स्थानीय सरिष्मा तामाङ भन्छिन्, “अब फेरि बर्खा आउँदै छ। कसरी बाँच्ने, चिन्ता लाग्न थालिसक्यो।”
अब माथि खोबाङमा पनि बस्न सजिलो छैन। अहिले बस्न मिल्ने ठाउँ नभएको उनीहरू दुःखेसो गर्छन्। त्यसको कारण हो, जलविद्युत् आयोजना। जलविद्युत् निर्माणका निमित्त गाउँकै तलबाट सुरुङ खनिएको उनीहरू बताउँछन्। सुरुङ खन्न विस्फोटक पदार्थ पड्काउँदा खोबाङका घर चर्किएको सरिष्मा सुनाउँछिन्।
तैपनि घरको सरसफाइ गर्न कहिलेकाहीं सबै मिलेर खोबाङ पुग्छन्। केही समय बस्छन् र फर्किन्छन्। पछिल्लो सात वर्षदेखि साँदल र खोबाङ आवतजावत त भइरहेको छ, तर चैनसँग कतै बस्न सकेका छैनन्।
कति वेला त उनीहरूलाई यो त्रासबाट कतै टाढा भाग्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ। तर जाने ठाउँ पनि त छैन। “आफैं जग्गाजमीन किनेर राम्रो ठाउँमा बस्न सक्दैनौं,” सानु भन्छिन्, “सरकारले हेर्दैन। १२ वर्षदेखि डरत्रासमै बाँचेका छौं।”
सेती बाढीबारे थप सामग्री :