मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक अनिश्चित समयका लागि स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएपछि बोलाइएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ।
प्रदेश सभा सचिवालयले शनिबार सूचना जारी गरी प्रदेश सभाको बैठक स्थगन भएको जनाएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएपछि शनिबार बेलुकी ५ः३० बजे बैठक बोलाइएको थियो।
सूचनामा भनिएको छ, ‘२०८१ वैशाख २२ गते शनिबार बेलुका ५ः३० बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक कारणवश स्थगित भई उक्त बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बेहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यसअघि शुक्रबारको बैठक पनि बस्न सकेको थिएन। मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका थिए। सत्तारूढ दलभित्रको विवाद नमिलेपछि शनिबारलाई सारिएको थियो।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी वैशाख ६ मा मुख्यमन्त्री बनेका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्री सोडारीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन खोजे पनि एमालेको असहमतिका कारण प्रदेश सभाको बैठक बस्न सकेको छैन। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नै प्रदेश राजधानी धनगढी बाहिर गएपछि सत्तारूढ दलबीच छलफल नै हुन सकेको छैन।
एमाले नेताहरू उपनिर्वाचनको विषयलाई लिएर एकीकृत समाजवादीप्रति असन्तुष्ट छन्। बझाङ १ ‘क’ मा भएको उपनिर्वाचनमा एमालेलाई सहयोग नगरेको भन्दै असन्तुष्ट छन्। यद्यपि उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका थिए।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पार्टी केन्द्रसँग परामर्श भइरहेको प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। केन्द्रबाट निर्देशन आएपछि मात्रै यो विषय टुंगो लाग्ने उनको भनाइ छ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका ११ र माओवादीका सभामुख बाहेक १० सांसद छन्। त्यस्तै, एकीकृत समाजवादीका चार र नाउपाका सात सांसद छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद मात्रै समर्थनमा देखिएका छन्।
विपक्षमा कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।
यो पनि पढ्नुहोस् : मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता?