बजार नै बिलाउने घमाइलो दिनको त्यो बाढी
घाम लागेकै वेला वैशाखको एक बिहान सेती नदीमा आएको बाढीले एउटा बजार मात्रै बिलाएन, कैयौंको जिन्दगीको बाटो नै बदलियो।
खुलेको आकाश, घमाइलो दिन। सेती किनारको खारापानी बजारमा चहलपहल थियो। अझ बिदाको दिन भएकाले कोही तातोपानी कुण्डमा नुहाउन त कोही वनभोजका लागि खारापानी पुगेका थिए।
पोखराबाट २० किलोमिटर परको खारापानी बजार गुल्जार बन्दै गएको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ स्थित यो बजार नयाँ पर्यटकीय गन्तव्यका रूपमा पोखरा र आसपासका बासिन्दाको रोजाइमा परेको थियो।
२०६९ वैशाख २३ गते शनिबार। बिहानतिर एक्कासि ठूलो आवाज आयो, बम विस्फोट भए झैं। के भएको भन्ने मेसो नपाउँदै उर्लिएर आएको सेतीले खारापानी बजार बढारेर लग्यो।
कोही रूख समाएर बाँचे, कोही दौडिएर उँचो भागमा पुगेर बाँचे त कोही अरूको सहयोग पाएर बाँचे। हेर्दाहेर्दै सेती नदीको बाढीमा ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या ७२ पुग्यो।
सबैभन्दा बढी क्षति खारापानीमा भयो। सेती नदीको बाटो जिमिरबारी, साँदल, इबाङ, कपुचे गाउँ हुँदै खारापानी, तातोपानी बजार, मर्दी दोभान, हेम्जा बेसी, मसिना बगर, कसेरी, नारायणथान, रामघाट, रातोपहिरोसम्म मान्छे बगायो। बाढीले घर, खेत, निर्माण भइरहेका पूर्वाधार र पुल पनि सोहरेर लग्यो।
सेती नदीमा पहिलो पटक विनाशकारी बाढी आएको १२ वर्ष पुगेको छ। स्थानीय बासिन्दा भने अझै पनि त्यसको पीडाबाट मुक्त हुन सकेका छैनन्। बाढीले बनाएका घाउ उस्तै छन्।
आँखामा आइरहने त्यो तस्वीर
भुर्जुङ खोलाका ४७ वर्षीय मीनबहादुर भुजेल खारापानी बजारभन्दा केही माथि सेती खोलामा ढुंगागिट्टी बटुल्थे। दिनभर काम गर्दा पनि पैसा त धेरै आउँदैनथ्यो, तर परिवारको दैनिकी चलाउन भरथेग मिलेको थियो।
घरमा खेतीपातीको काम थियो, बीउ राख्ने वेला। त्यसैले पनि पत्नी रमा भुजेल र छोरी दीपाले खोलामा नजान जोड गरेका थिए। मीनबहादुरले त्यति वेला भनेका थिए, “थोरै पैसा भए पनि हुन्छ, जान्छु।”
त्यति भनेर हिंडेका मीनबहादुरको आवाज परिवारले फेरि सुन्न पाएन। खारापानी बजार पुगेका उनलाई सेतीको बाढीले लग्यो। “कति वेला कसरी ज्यान गयो भन्ने पनि थाहै भएन,” रमा भन्छिन्।
अहिले छोरी दीपा अहिले २८ वर्ष र छोरा २३ वर्षका भइसके। बाढीले मीनबहादुरसँगै परिवारको खुशी पनि बगाएर लगे झैं भएको छ।
घरमा कमाउने मान्छे नै गुमाएपछि भुजेल परिवार अप्ठ्यारोमा पर्यो। त्यो वेला मात्रै होइन, अहिले पनि संघर्ष गरिरहेकै छ। “उहाँ नभएपछि घरमा सन्तोक छैन,” ४६ वर्षीया रमा भन्छिन्, “घरको मूली मान्छे गुमाएपछि साह्रै दुःख भयो।”
त्यसपछि छोराछोरीले पनि लेखपढ गर्न पाएनन्। छोरी दीपाले घरजम गरिसकिन् भने छोराले पनि पढाइ पूरा गर्न नसकेनन्। अहिले उनी गाडी चलाउँछन्।
घरमा मीनबहादुरका दुई वटा तस्वीर छन्। एउटा उनको नागरिकतामा र अर्को त्यही नागरिकताबाट निकालिएको ‘फोटो फ्रेम’ मा सजाइएको छ। रमा भन्छिन्, “तस्वीर हेरेरै याद मेटाउँछौं।”
भुर्जुङ खोलाकै कुमारी विकले पनि छोराको तस्वीर सम्हालेर राखेकी छन्। अनायासै साँझ-बिहान काम गर्न जाने वेलाको छोराको अनुहार आँखैमा आउँछ, अनि तस्वीर मुसार्छिन्। “पैसा कमाउँछु भन्थ्यो। आफै गयो,” कुमारी भन्छिन्।
उनको परिवारको आर्थिक अवस्था कमजोर थियो र छ। दुई छोराको लालनपालनका लागि श्रीमान् पैसा कमाउन विदेशिए। घरपरिवारको रेखदेख कुमारीकै थाप्लोमा आयो। जेनतेन दुई छोरालाई हुर्काइरहेकी थिइन्।
घरमा पैसाको धौधौ हुन थालेको १५ वर्षका अनिलले बुझ्न थालिसकेका थिए। आमाले भोगिरहेको गाह्रोसाह्रोले पिरोल्थ्यो। त्यसैले पढाइमा ध्यान कम र पैसा कमाउने ध्याउन्न बढी हुन थालेको थियो।
वैशाखको शुरूआतदेखि नै अनिल स्कूल गइरहेका थिएनन्। आमासँगै छिमेकीले पनि स्कूल जान दबाब दिइरहेका थिए। अनिलको जवाफ हुन्थ्यो, “पढ्न आएन मलाई, काम गर्छु।”
त्यो दिन त शनिबार नै थियो। छुट्टीको दिन खारापानीमा ढुंगागिट्टीको काम गर्ने र आमाको करले आइतबारदेखि स्कूल जाने तयारीमा थिए अनिल। त्यही योजना अनुसार आमासँगै बिहानै बिदा भएर खारापानी पुगेका अनिल कहिल्यै फर्किएनन्।
कुमारीको आँखामा छोराको अनुहार अहिले पनि झल्झली आउँछ। उनी भन्छिन्, “अहिले त छोरो ठूलो भएर घरमा सघाउँथ्यो होला।”
छोरो गुमाएपछि उनका श्रीमान् घर फर्किए। त्यसपछि उनको मनले विदेश जान मानेन। अचेल उनी गाउँघरमा नै ठेक्कापट्टाको काम गर्छन्।
कुमारीका अहिले दुई छोरा छन्। तैपनि अनिलको नियास्रोले सताउने गरेको सुनाउँछिन्। “ठूलो सपना थिएन, ड्राइभर बन्छु, पैसा कमाउँछु भन्थ्यो,” उनी सम्झिन्छन्, “फर्केर आएन।”
अनिलको त पढाइमा रुचि थिएन। तर उनी भइदिएको भए कान्छा छोराहरूले स्कूल पढ्न पाउँथे भन्ने लाग्छ कुमारीलाई। “अहिले ऊ भइदिएको भए दुई भाइले राम्रोसँग पढ्ने थिए,” उनी थप्छिन्, “यिनीहरूले पनि गाह्रो गरेर पढेका छन्।”
सेतीको बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारजनभन्दा बढी पीडामा छन्, हराएका व्यक्तिका परिवारजन। उनीहरूलाई अब आफन्त आउँदैनन् भन्ने थाहा छ, तर आश मार्न सकेका छैनन्। यस्तै पीडामा छ, वसुन्धरा ताम्राकारको परिवार।
भुर्जुङ खोलाका गोपाल ताम्राकार र उनका छोराबुहारीले खारापानीमा पसल थापेका थिए। चियापानीदेखि रासन पसल चलाएको पाँच वर्ष बितेको थियो। त्यसैबाटै राम्रैसँग दैनिकी चलिरहेको थियो।
वैशाख २३ को बिहानै ७१ वर्षका गोपाल ताम्राकार भुर्जुङ खोलामा रहेका छोरा कल्याण ताम्राकारलाई भेटेर खारापानी गएका थिए। अरू दिनभन्दा शनिबार खारापानी बजारको चहलपहल बढ्थ्यो। खारापानी बजारमा कल्याणका भाइबुहारी र उनीहरूकी छोरी पनि थिए।
सेती नदी बढ्यो भनेर गाउँमा बिहानै हल्ला सुनेपछि कल्याण अत्तालिए। बजार नै बाढीले लग्यो भनेपछि त उनको होश नै उडेको थियो। बिहान भेटेर छुटेका बुबा सधैंका लागि उनीबाट छुटे। बुबालाई सम्झिँदा उनी भावुक हुन्छन्।
भाइबुहारी र सानी छोरी पनि बाढीमा परेका थिए। उनका भाइले छोरीलाई काखी च्यापे। श्रीमती वसुन्धरालाई पनि हातले समाइरहेका थिए। तर बाढीको जोडले उनको हातबाट वसुन्धारा छुटिन्। “भाइ र छोरी मात्रै बाँचे,” कल्याण मलिन अनुहार लगाउँदै बोल्छन्।
बुहारी वसुन्धराको शव आजसम्म भेटिएको छैन। त्यही घटनाले भाइ अहिले पनि विक्षिप्त रहेको कल्याण सुनाउँछन्। “घाम लागेको थियो, त्यस्तो कुनै संकेत थिएन,” उनी त्यो दिन सम्झिँदै भन्छन्, “सोच्दै नसोचेको घटना भयो। हातबाटै बुहारी छुटेकीले होला, भाइ अझै विक्षिप्त छन्।”
खारापानी बजारबाट मात्र ज्यान गुमाउने र हराउने संख्या ६९ थियो। उनीहरूका परिवारजन अझै पनि त्यो पीडाबाट निस्किन सकेका छैनन्। १२ वर्षसम्म पनि पीडित परिवार पहिलेकै अवस्थामा फर्किन सकेका छैनन्। यो प्राकृतिक प्रकोपले उनीहरूको जीवन नै तहसनहस बनाएको छ।
हिमालयकाे हलचल
सेती नदीमा आएको बाढीबारे पछिल्लो एक दशकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, भूगर्भविद्ले अध्ययन गरे। पोखराको पृथ्वीनारायण क्याम्पसको भूगोल विभागको टोलीले शुरूआतदेखि नै घटनाको कारणबारे अध्ययन गरेको थियो। विभागसँगको सहकार्यमा वैज्ञानिक जेफरी कारगेलले सेती बाढीको विस्तृत अध्ययन नै गरेका थिए। उनले यसबारे विभिन्न लेख प्रकाशित गरेका छन्।
सेती बाढीबारे दर्जनौं अध्ययन भएका छन्। सबै अध्ययनको निष्कर्ष छ- सेती नदीको मुहानमाथि नै रहेको गल्छी (गर्ज)मा बाढी जानु अगावै साता दिनअघि चट्टान खस्ने क्रम शुरू भएको थियो। त्यस समयमा हिउँ तथा हमनदी पग्लिएको पानी गल्छीमा जम्मा भइरहेको थियो। प्राकृतिक बाँधका कारण त्यो पानी बग्न पाएको थिएन।
अन्नपूर्ण चौथो हिमालमा आएको हिमपहिरो र त्यसले गर्दा खसेको चट्टानले त्यो बाँध फुटाइदियो। जसले सेतीमा बाढी आयो।
तत्कालीन समयमा हिमनदी फुटेको आकलन थियो, तर विभिन्न अध्ययनपश्चात् हिमनदीले नभई मुख्यगरी साँघुरो र सजिलैसँग अवरोध हुन सक्ने सेती नदीको गल्छीका कारण बाढीको घटना निम्तिएको निष्कर्ष निकालिएको छ। साब्चे सर्कबाट आएको केही दलदले माटो, हिमनदी, चट्टान, माटो र ढुंगाको मिश्रणले सेती बाढीमा बाक्लो लेदो सहितको पानी बगेको वैज्ञानिकहरूको अध्ययनले देखाएको छ।
भूगर्भविद् डा. कृष्ण केसी अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो, माछापुच्छ्रे हिमाल, साब्चे सर्कको क्षेत्र निकै संवेदनशील रहेको बताउँछन्। डा. केसी भन्छन्, “हिमालयमा हुने सानो हलचलले ठूलो विपद् निम्तन सक्छ।”
यो त्यस्तै, सानो हलचलले निम्त्याएको विपद् थियो। जसले कुनै वेलाको खारापानी बजारलाई तहसनहस बनायो। अहिले खारापानी बजारको नामोनिशान नै छैन। खारापानी क्षेत्र पर्ने माछापुच्छ्रे गाउँपालिका-२ का वडाध्यक्ष गणेश आचार्य सेती नदीको बाढीले अकल्पनीय क्षति गरेको बताउँछन्। त्यो घटनाबाट पाठ सिक्दै अहिले विपद्को सूचना दिने यन्त्र राखिएको आचार्य सुनाउँछन्।
सेतीको बाढीमा ज्यान गुमाउने र हराएको व्यक्तिको स्मृतिमा खारापानीमा स्तम्भ राखिएको छ। उनीहरूका नाम स्तम्भमा कुँदिएका छन्। बर्सेनि वैशाख २३ आइरहन्छ, सेती नदीले पीडित परिवारलाई आफ्नाको झझल्को दिन्छ। कोहीसँग तस्वीर छन् त कोहीसँग याद मात्रै बाँकी छन्। सुन्नेका लागि सेती बाढी एक नबिर्सने घटना बन्यो, तर आफ्ना मान्छे गुमाउनेहरूका लागि जिन्दगीको मोड नै बदलिदियो।
सेती बाढीबारे थप सामग्री :