सुदूरपश्चिमका मुख्यमन्त्रीको आज विश्वासको मत लिने तयारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका थिए। तर सत्तारूढ दलबीचकै असमझदारीले प्रदेश सभाको बैठक बस्न सकेको थिएन। नेकपा (एमाले)का नेताहरूले पार्टी केन्द्रसँग परामर्श तथा आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि शुक्रबारको प्रदेश सभाको बैठक अन्तिम समयमा स्थगन गरिएको थियो।
मुख्यमन्त्री सोडारीले आज फेरि विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसका लागि बेलुका ५ः३० बजे विश्वासको मत लिने गरी प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
एमाले संसदीय दलका नेता राजेन्द्र रावलले शुक्रबार मुख्यमन्त्रीले सल्लाह नगरी नै विश्वासको मत लिन खोजेको प्रतिक्रिया दिए। “हामीले विश्वासको मत नदिने भनेकै छैनौं, अहिले किन हतार गर्नुपर्यो? हिजो पनि हामीसँग सल्लाह नगर्ने, आजका लागि पनि सल्लाह नगर्ने? यसरी हुन्छ?” रावलले भने।
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने जनाएको छ। बझाङबाट नवनिर्वाचित सांसद धनगढी आएपछि मात्र विश्वासको मत दिने/नदिने तय हुने रावलको भनाइ छ।
“कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन,” उनले भने। वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा बझाङ १ ‘क’ बाट एमालेका दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका छन्।
एमाले संसदीय दलका नेता रावल अहिले धनगढीमा छैनन्। आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्री र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरेकोप्रति उनले असन्तुष्टि जनाए।